कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

६ ठाउँमा भासियो हुलाकी सडक

शंकर आचार्य

पर्सा — हस्तान्तरण गरिएको ५ महिना नबित्दै हुलाकी सडकअन्तर्गत सुवर्णपुर–ठोरी खण्ड ठाउँ–ठाउँमा भासिएको छ । वर्षायामअघि नै धाँजा फाट्ने क्रम सुरु भएकोमा हालसम्म ६ स्थानमा सडक भासिएको छ ।

६ ठाउँमा भासियो हुलाकी सडक

ठोरी–२ मा दुई स्थानमा कल्भर्टनजिक सडक भासिएको छ । कल्भर्ट निर्माणका क्रममा गरिएको लापरबाहीले यस्तो भएको स्थानीयको आरोप छ । ठोरी–३ रामनगरमा नाला नम्बर ३ मा पुलनजिक करिब ५ मिटर सडक भासिएको छ । यही वडाको ओडार खोला पुलको दुवैतर्फ १०/१० मिटर र रामनगरमा करिब २० मिटर सडक भासिएको छ । ठोरी–४ विजयबस्तीनजिक ओरिया खोलामा तटबन्ध भत्किएर करिब १५ मिटर सडक बगेको छ । अन्य स्थानमा पनि स–साना खाल्डा बन्ने तथा सडकछेउका पिलर लड्ने क्रम जारी छ ।

रामनगरका रामदास खड्काले गुणस्तरहीन काम गरिएकैले हस्तान्तरण गरिएको ५ महिनामै सडक भासिन थालेको आरोप लगाए । ‘यो ठेकेदारको बदमासी र नियमनकारी निकायको गैरजिम्मेवारीपनको कारण भएको हो,’ उनले भने, ‘यो सडक पूरा सञ्चालनमा आएसँगै समग्र ठोरी क्षेत्रकै विकासको ढोका खुल्ने हाम्रो विश्वास छ । तर बनेको सडक पनि भासिँदा हाम्रो सपना र विश्वासमाथि तुषारापात भएको छ ।’

यसअघि निर्माण पूरा नगर्दै सडक हस्तान्तरण गरेर ठेकेदार कम्पनी पछि हटेपछि ठोरीवासी संघर्ष समिति गठन गरेरै विरोधमा उत्रिएका थिए । हाल वर्षाका कारण उनीहरूले संघर्षका कार्यक्रम रोकेको बताएका छन् । ‘ठोरीवासीले लामो प्रतीक्षापछि यो सडक पाएका हुन्,’ स्थानीय शिक्षक माधव तिमल्सेनाले भने, ‘त्यसकारण पनि यो सडकसँग आफू र आफ्ना सन्ततिको भविष्य जोडिएको ठोरीवासी अनुभूत गर्छन् ।’

ठेकेदार कम्पनी बानियाँ–कालीका जेभीले चैत दोस्रो साता यो सडक खण्ड निर्माण सम्पन्न भएको भन्दै हुलाकी सडक आयोजना कार्यालयलाई हस्तान्तरण गरेको थियो । पर्सामा हुलाकी सडकको दोस्रो प्याकेजअन्तर्गत सुवर्णपुरको चमरीदेखि ठोरीसम्म ३० किमि सडक खण्डका विभिन्न स्थानमा गरी करिब ५ किमि सडक निर्माण हुनै बाँकी छ । १ अर्ब १७ करोड रुपैयाँमा सक्ने गरी यो खण्ड निर्माणको ठेक्का सम्झौता २०७४ कात्तिक १३ मा भएको थियो । २०७७ जेठ २ सम्म काम सम्पन्न गरिसक्नुपर्थ्यो । तर लकडाउन तथा अन्य कारणले काम गर्ने वातावरण नभएको भन्दै म्याद थपिएको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले जनगुनासो आएपछि आफूले हुलाकी सडकबारे चासो लिएको र त्यस क्रममा आयोजना प्रमुख, ठेकेदार कम्पनीका जिम्मेवार व्यक्ति र जनप्रतिनिधिसमेतको सहमतिमा वर्षालगत्तै जीर्ण भएका स्थानमा सडक मर्मत गर्ने सहमति भएको बताए । ठेकेदार कम्पनीका फिल्ड इन्चार्ज उद्धव न्यौपानेले ठेक्का सम्झौताअनुसार २ वर्षको मर्मत अवधि बाँकी नै रहेकाले हाल भासिएका स्थानमा वर्षालगत्तै मर्मत कार्य सुरु गर्ने बताए ।

प्रकाशित : भाद्र २१, २०७८ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?