१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

डुंगा र डाइभर्सनकै भर

लालबकैया र वाग्मतीमा पुल नहुँदा वर्षामा वारपार गर्न जोखिमपूर्ण
शिव पुरी

रौतहट — व्यापारका लागि दिनहुँ गौर आउजाउ ईशनाथ–१ बन्जाराहाका विनोद सिंह घरबाट मोटरसाइकलमा निस्कन्छन् । टिकुलियाघाट पुग्दा हच्किन्छन् । लालबकैया नदी तर्नु उनको लागि सधैंको तनाव हो । बन्दै गरेको पुल ठेकेदारले अलपत्र छाडेपछि लालबकैया तर्न ईशनाथका बासिन्दालाई डुंगा मात्रै विकल्प छ ।

डुंगा र डाइभर्सनकै भर

सिंह पनि डुंगामा मोटरसाइकल राखेर गौर आउजाउ गर्छन् । २ वर्षअघिको एउटा घटनाले उनलाई झस्काइरहन्छ । दुई वर्षअघि टिकुलियाघाटमै डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।

समयमा पुल बनेन । टिकुलियाघाटमा वर्षायाममा डुंगा चल्छ । हिउदमा वारिपारि गर्न डाइभर्सन बनाइन्छ । ‘हिउदको बेला त केही छैन, वर्षाका बेला डुंगा चढ्नुपर्दा डरमर्दो हुन्छ,’ सिंहले भने, ‘बाढी आएका बेला झन् जोखिम हुन्छ । हामीले अझै कति वर्षसम्म डुंगाको भर पर्नुपर्ने हो थाहा छैन ।’ घाटमा एउटा डुंगा बिहान ७ बजेदेखि तैनाथ हुन्छ । बेलुकी ७ बजेसम्म वारिपारि गर्नेलाई तारेपछि सेवा बन्द हुन्छ । वर्षा सकिनासाथ ईशनाथ नगरपालिकाले बर्सेनि डाइभर्सन बनाउँछ । खोलामा बाढी आएपछि डाइभर्सन बगाउँछ । ‘डाइभर्सन बगाएपछि डुंगाकै भर पर्नुपर्ने अवस्था छ,’ ईशनाथ नगर प्रमुख सन्तोष मेहताले भन्छन् ।

टिकुलियाघाटमा पुल निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनले पाएको थियो । कन्स्ट्रक्सन तत्कालीन सञ्चालक हरिनारायण रौनियारले ०७४ माघ २९ मा पुल निर्माणको काम सक्ने गरी २०७१ असार २९ मा सम्झौता गरेका थिए । निर्माण पूरा गर्नुपर्ने अवधि बाँकी छँदै उक्त कम्पनीले काम गर्न छाडेयता संरचना अलपत्र छ । पुल नबन्दा लालबकैया पारी बन्जरहा, औरैया, मठिया, जोकहा, बैरिया, अकोलवा, रामपुर खापलगायतका दर्जनौं गाउँका स्थानीयलाई जिल्ला सदरमुकाम गौर आउजाउ गर्न सकस छ ।

रौतहटकै वाग्मती खोलाले छुट्याएको गढैया घाटमा पनि स्थानीय सास्ती भोग्न बाध्य छन् । राजदेवी–४ गढैयाका गौरीशंकर सिंह धानखेतमा मल हाल्न डुंगा चढेर वाग्मती पारी जान्छन् । वाग्मतीमा पुल नबन्दा स्थानीयलाई सधैं डुंगाकै भर छ । गढैया घाटमा डुंगा चलाउँदै आएका स्थानीय शंकर पासवानले अरू बेलाभन्दा वर्षामा डुंगा पल्टिने जोखिम हुने सुनाए । घाटबाट ५० मिटर पर पुगेपछि नदी निकै गहिरो छ । त्यही ठाउँमा डुंगाको चाल नियन्त्रण गर्न निकै गाह्रो हुने उनले सुनाए । डुंगामा एकपटकमा ८० जनासम्म अटाउँछन् ।

त्यहाँ नदीको चौडाइ झन्डै ५ सय मिटर छ । हिउँदमा पानीको सतह कम हुने र केही स्थानमा बाँसको अस्थायी पुल बनाइने हुँदा खासै समस्या नहुने स्थानीय सुमित्रा देवीले सुनाइन् । ‘वर्षाको बेला ज्यानै जाने खतरा हुन्छ,’ उनले भनिन् । राजदेवीको वसन्तपुर, बडहर्वा, चण्डियालगायतका गाउँका बासिन्दाको खेत वाग्मती नदीपारि छ । टिकुलिया घाटजस्तै यहाँ पनि निर्माणाधीन अवस्थाको पुल अलपत्र परेपछि स्थानीयले सास्ती भोग्नुपरेको हो । वाग्मतीको बडहर्वामा लुम्बिनी बिल्डर्स सिद्धार्थनगरले पुल निर्माणको ठेक्का सकारेको थियो । तर, नदीले धार परिवर्तन गरेपछि रोकिएको निर्माणको काम अहिलेसम्म सुरु हुन सकेको छैन । हुलाकी सडक आयोजना वीरगन्जका प्रमुख दरोगा प्रसादले बडहर्वा पुलको नयाँ ठेक्काको प्रक्रिया सुरु गर्न लागेको बताए ।

प्रकाशित : भाद्र २०, २०७८ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?