पर्सामा ५५ दिनपछि कोरोना संक्रमितको मृत्यु

शंकर आचार्य

पर्सा — पर्सामा ५५ दिनपछि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत पर्साको पोखरिया नगरपालिका–१ निवासी ३३ वर्षीय पुरुषको बिहीबार बिहान १ बजेर ४५ मिनेटमा मृत्यु भएको हो । उनी भदौ १० गते अस्पतालमा उपचारार्थ भर्ना भएका थिए । त्यसै दिन गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

पर्सामा ५५ दिनपछि कोरोना संक्रमितको मृत्यु

नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले असार २६ पछि अस्पतालमा कोरोना संक्रमणबाट मृत्युको यो घटना भएको बताए । मृतकसहित अस्पतालमा ३ जना कोरोना संक्रमित बिरामी उपचारार्थ भर्ना रहेको उनले बताए । अब सर्लाहीका एक जना र पर्साका एक जना गरी दुई जना संक्रमित मात्र उपचारार्थ भर्ना रहेको उनले बताए ।

डा. सिंहका अनुसार बिहीबार मृत्यु भएका युवक अस्पताल भर्ना हुनुभन्दा केही दिनअघि मात्र काठमाडौंबाट घर आएका थिए । भर्ना रहेका अन्य संक्रमितको परिवारका सदस्यको काठमाडौंसँग जोडिएको ‘ट्राभल हिस्ट्री’ रहेको उनले बताए । ‘भर्ना भएका ३ जनामध्ये कोही आफै काठमाडौंबाट फर्किएको र कोहीको परिवारका सदस्य हालै रुघाखोकी, ज्वरो आदि बिरामी भएर काठमाडौंबाट फर्किएको अवस्था छ, यसले वीरगन्ज वा तराई क्षेत्रभन्दा हाल काठमाडौंमै कोरोना संक्रमण तीव्र रुपमा फैलिएको संकेत गर्छ,’ उनले भने, ‘वीरगन्जमा भने सुरुवाती स्तरको संक्रमणको संकेत देखिएको छ ।’

प्रकाशित : भाद्र १७, २०७८ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?