उपचार खर्च न मुद्दा दर्ता- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपचार खर्च न मुद्दा दर्ता

लक्ष्मी साह

बारा — एक महिनाअघि महागढीमाई नगरपालिकाको इनर्वा चोकमा ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार देवप्रकाश जयसवाल घाइते भए ।

दुर्घटनामा उनको दाहिने हात भाँचियो । सिम्रौनगढ नगरपालिका–८ कचार्वाका ३२ वर्षीय जयसवालले १ लाख १९ हजार खर्चिएर उपचार गरे । तर, उनले ट्र्याक्टर धनीबाट अहिलेसम्म खर्च नपाएको र प्रहरीले मुद्दासमेत दर्ता नगरेको बताए ।

ट्र्याक्टर धनी हुन् तत्कालीन फोरम लोकतान्त्रिक पार्टीका तर्फबाट केन्द्रीय सरकारको भौतिक योजना सहायकमन्त्री बनेकी संविधान सभाकी सभासद कलावती पासवान । गत २६ असारमा पासवानको ना३त ७०६१ नम्बरको ट्र्याक्टरले जयसवालको मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीले घटनास्थलबाट ट्र्याक्टर, त्यसका चालक र बाइक नियन्त्रणमा लिएको थियो । पछि चालक अनुमतिपत्र नभएका ट्र्याक्टर चालक घटनास्थलबाटै फरार भएको जयसवाल बताउँछन् ।

वीरगन्जको न्युरो अस्पतालमा उनको हातको शल्यक्रिया गरेर स्टिल हालिएको हो । त्यसपछि मुद्दा दर्ताका लागि प्रहरीकोमा धाए पनि सुनुवाइ नभएको उनले बताए । ‘प्रहरी र ट्र्याक्टर धनी मन्त्रीले डेढ महिनादेखि अल्मल्याएका छन्, न मेरो मुद्दा दर्ता भएको छ न त उपचार खर्च पाएको छु,’ पीडित जयसवालले भने । उनले उल्टै पासवानबाट हप्कीप्की सहनुपरेको बताए । घटनाको एक महिनापछि पासवानले आफ्नो ट्र्याक्टर छुटाइसकेकी छिन् । जयसवालको प्रदेश २–३–०१४ पीए २५६७ नम्बरको बाइक भने प्रहरी नियन्त्रणमै छ ।

प्रहरीसँगको छलफलमा स्टिल निकाल्नेसम्मको १ लाख ३० हजार खर्च लिएर मिलापत्र गर्ने भनिएको थियो । तर, पासवानले उपचार खर्च दिन मानेकी छैनन् । जिल्ला प्रहरी कार्यालयका मुद्दा अनुसन्धान अधिकारी प्रहरी निरीक्षक सुरेन्द्र यादवले निर्णय गरेपछि दुवै पक्षले सहमति जनाएका थिए । तर पछि पासवानले नमानेपछि समस्या भएको प्रहरी अधिकृत यादवले बताए । पासवानले अहिले चालक अनुमतिपत्र पाएका ट्र्याक्टर चालक खडा गरेकी छन् ।

‘मेरो ट्र्याक्टरले ठक्कर दिएकै छैन्,’ उनले भनिन्, ‘ठक्करबाट जेजस्तो चोटपटक लागे पनि उपचार खर्च १ लाख ३० हजार दिन्नँ ।’ जिल्लाका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले खर्चमा आपसी सम्झदारी गराउने प्रयास सफल भए उपचार खर्च तिराउने नभए मुद्दा दर्ता गरिने बताए ।

प्रकाशित : भाद्र १०, २०७८ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्

मिटरब्याजले उठिबास

७ वर्षमा ५० हजारको साँवा ब्याज ८ लाख रुपैयाँ माग
लक्ष्मी साह

बारा — ५० हजार रुपैयाँ ऋण चुक्ता गर्न ७ वर्षमा साँवा ब्याजसहित ८ लाख रुपैयाँ पुग्छ भन्दा अचम्म लाग्न सक्छ । तर बारा सिम्रौनगढ नगरपालिका–१० देवापुरटेटाकी ५० वर्षीया निलादेवी ठाकुर लोहारसँग साहु विन्दालाल यादवले चर्को ब्याज मागेका हुन् । निला भने आफू मिटर ब्याजीको फन्दामा परेको भन्दै प्रहरीकोमा पुगेपछि घटना बाहिर आएको छ । उनी अहिले आफ्नो उठिबास नै लाग्ने हो कि भन्ने चिन्तामा छिन् ।

निलाले ऋण लिएको ७ वर्षअघि हो । श्रीमान् जेल परेपछि निलालाई परिवार धान्नै समस्या हुन थाल्यो । ५ छोरा र २ छोरीको पढाइसँगै दैनिक जीवनयापन गर्न समस्या भएपछि निलाले जेठो छोरालाई विदेश पठाउने निधो गरिन् र ऋणको खोजीमा लागिन् । छिमेकी विन्दालाल ऋण दिन तयार भए । विन्दालालले ५० हजार रुपैयाँ ऋण दिएर निलासित चार लाख रुपैयाँ तिर्नुपर्ने तमसुक गराए । सयको प्रतिमहिना ४ रुपैयाँको दरले ब्याज तिर्ने सर्तमा निलाले ६ महिनाभित्र साँवा र ब्याज तिर्ने भाकामा ऋण पाइन् । यसरी ५० हजारको प्रतिमहिना दुई हजार रुपैयाँ ब्याज आउने रहेछ । चर्को ब्याजका कारण उनले समयभित्रै ऋण तिर्न सकिनन् तर तमसुक फिर्ता लिने प्रयास भने गरिरहिन् ।

सात वर्षपछि बल्ल गत साउन २९ मा उनले २ लाख रुपैयाँ जुटाएर तिरिन् । तिर्ने बेला हारगुहार गरेपछि साहु विन्दालालले रकम लिए र तमसुक रोहबरमै च्यातिदिए । तर उक्त तमसुक भने नक्कली रहेछ । विन्दालालले पैसा लिएको भरपाइ पनि गरिदिएनन् । त्यसपछि निला कान्छो छोरा र आफन्तसहित गत सोमबार गाउँ नजिकैको इलाका प्रहरी कार्यालय सिम्रौनगढ पुगिन् । पछिपछि विन्दालालका छोरा सरोज पनि पुगे । दुबै जना (निला र विन्दालालका छोरा) एकापसमा विवाद गर्न थालेपछि प्रहरी कार्यालयमै हल्लीखल्ली मचियो । ‘आठ लाख हिसाब भएकोमा ५ लाखसम्म तिरे तमसुक फर्काउँछु,’ बिन्दालालका छोरा सरोजले प्रहरी कार्यालयमै भन्न थाले, ‘मैले पनि अरुसित ऋण लिएर निलालाई ऋण दिएको हुँ ।’

सरोजको कुरा सुनेपछि ऋणी निलाले तमसुक फिर्ता वा दुई लाख तिरेको भर्पाइ माग्दै प्रहरीसमक्ष हारगुहार गर्न थालिन् । ‘कागज फिर्ता गर्ने सहमतिमा मैले तिरेको दुई लाखको भर्पाइ दिनु,’ निलाले भनिन्, ‘५० हजारको सात वर्षमा ८ लाख कहाँबाट दिऊँ ? छोरा लकडाउनमा काम गर्न नसकेर विदेशमै फसेको छ, पति जेलमा हुनुहुन्छ ।’ प्रहरी निरीक्षक दिपक सुवेदीले दुबैलाई कार्यालयभित्र बोलाएर सोधपुछ थाले । सरोजलाई तमसुक फिर्ता गर्न भनेपनि उनले मानेनन् । त्यसपछि प्रहरीले सरोजलाई त्यस दिन हिरासतमै राख्यो ।

गाउँमै गएर तमसुक फर्काउने सर्तमा गाउँलेको जमानी कागजमा मंगलबार सरोजलाई प्रहरीले छाडेको छ । ‘१०/१५ दिनभित्रमा १५ देखि २० हजारसम्म (दुई लाखबाहेक) थप रुपैयाँ साहुले लिने सर्तमा सरोजलाई कागज गराएर छाडिएको छ,’ प्रहरी निरीक्षक सुवेदीले भने, ‘साहुले त्यति लिएर नमाने फेरि अर्को कारबाहीतर्फ लाग्छु ।’ रकम फिर्ता नदिएसम्म सुरक्षा दिन नीलाको आग्रह छ ।

प्रकाशित : भाद्र ६, २०७८ १२:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×