कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मुआब्जा बढाउन माग गर्दै सेवा केन्द्रमा धर्ना

सुनिता बराल

महोत्तरी — रेल्वेमा परेको आफूहरुको जग्गाको मुआब्जा बढाउन माग गर्दै स्थानीयले एकीकृत सेवा केन्द्र बर्दिवासमा धर्ना दिएका छन् । मुआब्जा निर्धारण समितिले निर्धारण गरेको मुआब्जा उचित नभएको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयले उक्त मुआब्जा खारेज गरी नयाँ दररेट कायम गर्न माग गरेका छन् ।

मुआब्जा बढाउन माग गर्दै सेवा केन्द्रमा धर्ना

रेल विभागले सात वर्षदेखि रोक्का गरेको जग्गाको मुआब्जा बजार र चलनचल्तीको भाउ अनुसार नभएको भन्दै मुआब्जा बढाउन दबाब स्वरुप धर्ना दिइएको मुआब्जा पीडित संघर्ष समितिका प्रमुख राजु खड्काले जानकारी दिए । रोक्का गरिएको जग्गालाई ३२ भागमा विभाजन गरिएको प्रति पनि समितिको असन्तुष्टि रहेकाले ३२ भागमा बाँडेको जग्गालाई ३ भागमा बाँडेर कम्तिमा २० लाखदेखि बढीमा १ करोड २० लाखसम्म मुआब्जा वितरण हुनुपर्ने पीडितहरुको माग रहेको खड्काले बताए ।

भदौ २ गते मुआब्जा निर्धारण समितिले जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग र पूर्वपश्चिम रेलमार्गको समेत साझा स्टेसन रहने बर्दिवास क्षेत्रको ५९ विघा जग्गाको मुआब्जा दररेट टुंगो लगाएको थियो । पूर्वमा रातु खोलादेखि पश्चिममा भप्सीखोलासम्मको जग्गालाई न्यूनतम ७ लाख कट्टादेखि अधिकतम ८१ लाखसम्म दिने निर्धारण समितिको निर्णय छ । त्यसबापत २ अर्ब ३० करोड रकम सरकारले जग्गाधनीलाई वितरण गर्नेछ । जग्गाधनी भने निर्धारित मुआब्जामै जग्गा दिन नसकिने बताउँदै आन्दोलन गर्दै आएका छन् ।


आफूहरुको माग सुनुवाई नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी संर्घष समितिले दिएको छ । यता मुआब्जा निर्धारण समितिले भने मुआब्जा वितरणको प्रक्रिया अघि बढिसकेको जनाएको छ । गृह सचिवसमक्ष उजुरी परेमा र पुनर्विचार गर्नु भन्ने निर्देशन आएमा बाहेक भएकै निर्णय कार्यान्वयन भएर रेल्वेको काम अघि बढ्ने मुआब्जा निर्धारण समितिका संयोजक तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।

प्रकाशित : भाद्र ८, २०७८ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?