१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ट्याक्टर दुर्घटनाका घाइते भन्छन्– ‘न उपचार खर्च पाएँ न मुद्दा दर्ता भयो’

लक्ष्मी साह

बारा — जयप्रकाश जयसवाल असार २६ मा खेतमा जोतेर कलैया फर्किंदै थिए । बाइकमा सवार उनलाई महागढीमाई नगरपालिकाको इनर्वा चोकमा ना३त ७०६१ नम्बरको ट्याक्टरले ठक्कर दियो । उनको दाहिने हात भाँच्चियो ।

प्रहरीले घटनास्थलबाट ट्याक्टर, चालक र बाइक नियन्त्रणमा लियो । ट्याक्टर चालकको लाइसेन्स नै रहेनछ । उनी घटनास्थलबाटै फरार भए । सिम्रौनगढ नगरपालिका–८ कचार्वाका ३२ वर्षीय जयसवाललाई आफन्तले वीरगन्जको न्युरो अस्पताल पुर्‍याए ।

त्यहाँ उनको हातको शल्यक्रिया गरेर स्टिल हालियो । एक साताको उपचारपछि उनी घर फर्किए । तर न उपचार खर्च पाएका छन् न त प्रहरीले मुद्दा चलाएको छ ।

उक्त ट्याक्टर पूर्वमन्त्री कलावती पासवानको हो । उनी तत्कालीन फोरम लोकतान्त्रिक पार्टीका तर्फबाट भौतिक योजना सहायकमन्त्री बनेकी थिइन् । जयसवालका अनुसार एक महिनापछि उनले ट्याक्टर प्रहरीबाट छुटाइसकेकी छिन् । अनुमतिपत्र नभएका चालकको ठाउँमा अर्कै चालक खडा गरिएको छ ।

जयसवालको प्रदेश २–३–०१४ पीए २५६७ नम्बरको बाइक भने प्रहरी नियन्त्रणमै छ । ‘प्रहरी र ट्याक्टर धनी मन्त्रीले डेढ महिनादेखि लमल्याएका छन्, न मेरो मुद्दा दर्ता भयो न त उपचार खर्च पाइयो,’ उनले भने, ‘मेरो १ लाख १९ हजार उपचार खर्च भयो ।’

जयसवालका अनुसार जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा प्रहरी अधिकृतले १ लाख ३० हजार उपचारखर्च दिलाएर मिलापत्र गर्ने प्रस्ताव गरेका थिए । तर मन्त्री तयार भइनन् । उनले जिल्ला प्रहरीमा जाहेरी दिएको एक महिना नाघिसक्यो ।

जयसवालका अनुसार ट्याक्टर धनी पूर्वमन्त्री पासवानले सुरुमा ६० हजार उपचार खर्च दिने भनेकी थिइन् । तर अहिलेसम्म दिइनन् । बरु चालक नै फेरेर ‘ट्याक्टर मालिकमाथि कारबाही हुनुपर्ने’ निवेदनको बेहोरा नै हटाउन दबाब दिइरहेकी छन् ।

पूर्वमन्त्री पासवानले भने आफ्नो ट्याक्टरले ठक्कर नै नदिएको बताइन् । ‘आफ्नो ट्याक्टरले ठक्कर दिएकै होइन,’ उनले भनिन्, ‘जेजस्तो चोटपटक लागे पनि १ लाख ३० हजार दिन्नँ ।’

सुरुमा पासवानले उक्त रकममा सहमति जनाए पनि पछि नमानेकाले समस्या भएको प्रहरी निरीक्षक सुरेन्द्र यादवले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले उपचार खर्चबारे आपसी सम्झदारी गराउन पहल गर्ने बताए । ‘सकेसम्म समझदारीमा उपचार खर्च तिराउँछौं, नभए मुद्दा दर्ता गरिन्छ,’ उनले भने ।


प्रकाशित : भाद्र २, २०७८ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?