कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अमलेखगन्जवासीलाई खोलाकै पानीको भर

लक्ष्मी साह

अमलेखगन्ज, बारा — चुरेको फेदमै छ अमलेखगन्ज गाउँ, जहाँ करिब १० हजार जनाको बसोबास छ । तर उनीहरू वर्षौंदेखि खोलाकै पानी पिउन बाध्य छन् । हाल मोदन र बिजौरी खोलाका ५ स्थानबाट ल्याइएको पानी गाउँभरि वितरण गरिएको छ । वितरण गर्दा प्रशोधन नगरी खोलाबाट आएको धमिलै पानी घरघरमा पुग्ने गर्छ ।

अमलेखगन्जवासीलाई खोलाकै पानीको भर

जितपुर सिमरा उपमहानगरपालिका–२१ र २२ को यो गाउँका २० परिवारमा त यही खोलाको पानीसमेत पुगेको छैन । उनीहरू भने पर्सा राष्ट्रिय निकुञ्जबाट बग्ने खोलाको पानीबाटै गुजारा धानिरहेका छन् ।

साबिक अमलेखगन्ज गाविसका तत्कालीन अध्यक्ष ५५ वर्षीय भरत घलेका अनुसार राणा प्रधानमन्त्री देवशमशेरको पालामा यहाँ २४ लाख लिटर पानी अटाउने ट्यांकी निर्माण गरिएको थियो । सवा सय वर्ष भइसक्दा पनि पानीका लागि अहिले पनि यही ट्यांकीकै भर हो । ‘भारतको मोतिहारीबाट रक्सौल हुँदै जमिनमुनि पाइप राखेर ६९ किमि पर अमलेखगन्जमा इन्धन आयो । तर ७ किमि दक्षिणमा पर्ने छिमेकी गाउँ पथलैयाबाट पिउने पानी पाइपबाट ल्याउन सकिएको छैन,’ घलेले भने ।

बर्खा र पहिरोले खोलाको पाइप बगाउने समस्याले कहिलेकाहीँ वितरण भइरहेको पानीसमेत नआउँदा हाहाकार हुने गरेको उनले बताए । ‘अब डिप बोरिङको विकल्प छैन, यो तालले हाम्रा पनाति खलकले पनि जमिनमुनिको पानी पिउलान् भन्ने आश छैन,’ उनले भने, ‘तुइन हटाउन, ठुल्लठूला भवन र पूर्वाधार बनाउने सरकारले अमलेखगन्जमा डिप बोरिङ गाडेर बाँच्ने आधार पानीको व्यवस्था गर्न गरेन ।’

अमलेखगन्जस्थित सैनिक शिक्षालय, नेपाल आयल निगम प्रदेश २ को प्रादेशिक कार्यालयमा समेत यही पानी पुग्छ । निगमको प्रादेशिक कार्यालय प्रमुख प्रदीप यादवले भने, ‘खर्च र काम गर्ने योजना ल्याउन सके हजारौं अमलेखगन्जवासीले बोरिङको पानी पिउन सक्छन् ।’

मोदन खोलाको पानी आपूर्ति हुँदै आएको सैनिक शिक्षालयमा पनि पिउने पानीको बिजोग छ । स्थानीय मुन्नेकाजी मगरका अनुसार सैनिक शिक्षालयका अधिकारीहरूले बोरिङ गाड्न गाउँलेलाई गुहार्दै आएका छन् । ‘सरकारले अमलेखगन्जवासीलाई बोरिङको पानी पिउने सपना कहिले पूरा गर्छ, ठेगान छैन,’ उनले भने, ‘अमलेखगन्ज, गाउँबाट उपमहानगर भएर आफैं स्थानीय सरकार भइसक्यो तर यहाँ पानी आएन ।’

केही वर्षयता आर्थिक रूपमा सम्पन्न परिवारले अन्तैबाट ट्यांकर र जारको पानी ल्याएर प्रयोग गर्दै आएका छन् । अमलेखगन्जकै स्थानीयसमेत रहेकी प्रदेश २ की प्रदेशसभा सदस्य सीता गुरुङले पथलैयाबाट पानी ल्याउने योजना प्रदेश सरकारबाट पारित गराउने प्रयास भइरहेको बताइन् । ‘डिप बोरिङका लागि प्रयास गरे पनि सम्भव भएन,’ उनले भनिन्, ‘पानीको सतह धेरै गहिरो भएकाले बोरिङ गाड्न सम्भव भएन । १ सय ५० फिटसम्म पानी भेटिएन ।’

खानेपानी तथा सरसफाइ कार्यालय बाराका प्रमुख जकी अहमदले भौगर्भिक तथा जलवायुसम्बन्धी विज्ञबाट पानीको सम्भाव्यता अध्ययन भइरेहको दाबी गरे । ‘तर पूरा भइसकेको छैन । यहाँ सफल नभए पथलैयाबाट पाइप तानेर पानी लैजाने प्रदेश सरकारको योजना छ,’ उनले भने, ‘यो योजनाको टुंगो अबको २ महिनाभित्र लाग्छ ।’

प्रकाशित : श्रावण २२, २०७८ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?