निषेधाज्ञा पालनामा अटेर

कान्तिपुर संवाददाता

बारा — बारामा निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य मापदण्डविपरीतका गतिविधि बढ्न थालेका छन् । मास्क नलगाई र भौतिक दूरी कायम नगरी बजार, यातायातलगायत सार्वजनिक स्थानमा भीडभाड बढेको हो । प्रशासनले खुला गर्न अनुमति नदिएका विद्यालय, पार्टी प्यालेसलगायत क्षेत्र पनि सञ्चालन हुन थालेका छन् ।

निषेधाज्ञा पालनामा अटेर

‘क्षमताभन्दा बढी यात्रु बोक्न थालिएको छ । बस र विद्यालय जथाभावी सञ्चालन गरिएको छ,’ नागरिक समाजका अध्यक्ष उमेशलाल दासले भने, ‘स्वास्थ्यलाई ख्याल गरिएको छैन । पैसा कमाउने होडबाजी चलाइएको छ ।’

यसविरुद्ध स्थानीय प्रशासनले कडाइ गर्नुपर्ने उनले बताए । नत्र स्वास्थ्य जोखिम निम्तिन सक्ने उनको भनाइ छ । कलैया उपमहानगरपालिकाले मंगलबारदेखि स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने अनुमति दिए पनि त्यसको पालना

हुन सकेको छैन । पालिकाले एउटा बेन्चमा एउटै विद्यार्थी राखेर कक्षा सञ्चालन गर्न र कक्षाकोठा, शौचालयलगायतमा दिनहुँ सेनिटाइज गर्न भनेको छ । तर त्यसको पनि पालना हुन सकेको छैन ।

कलैया, जितपुरसिमरा, महागढीमाई र निजगढलगायत पालिकामा यस्तो समस्या बढ्न थालेपछि प्रशासनले सोमबार सूचना जारी गर्दै चेतावनीसमेत दिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्वास्थ्य मापदण्डविपरीत गतिविधि बढेपछि कारबाही गर्ने चेतावनी दिएको बताए ।

‘आदेशको बर्खिलाप गरेको पाइएमा कडा कारबाही गरिनेछ,’ उनले भने, ‘अटेर नगर्न चेतावनी दिइएको छ ।’ निषेधाज्ञाको फाइदा उठाउँदै जथाभावी गर्न खोजिएको उनको भनाइ छ ।

प्रकाशित : श्रावण २०, २०७८ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?