२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सुजिता ठाकुर हत्या प्रकरण : बुबासहित ३ जना पक्राउ

सुनिता बराल

महोत्तरी — महोत्तरीको लोहारपट्टि– ७ भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको हत्यामा संलग्न थप ३ जना पक्राउ परेका छन् । उनका बुबा कामेश्वर पाण्डेसहित ३ जना अभियुक्तलाई सोमबार जिल्ला प्रहरी कार्यलय महोत्तरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

सुजिता ठाकुर हत्या प्रकरण : बुबासहित ३ जना पक्राउ

पक्राउ पर्नेमा मृतक सुजिताका बुबा ५० वर्षीय कामेश्वर पाण्डे, जनकपुर उपमहानगरपालिका १४ धनुषाका ५५ वर्षीय प्रमोद मण्डल र घटनाका प्रतिवादी रुपेश ठाकुरकी दिदी ३५ वर्षीया अन्जु ठाकुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

जेठ २० गतेबाट बेपत्ता भएकी सुजिताको खोजी गर्ने क्रममा गत असार २७ गते घरबाट ५ सय मिटर टाढा निर्माणधीन पेट्रोल पम्प छेउमा रहेको शौचालयको ९ फिट गहिरो सेप्टिक ट्यांकको थप ५ फिट गहिरो खाल्डो खनेर पुरिएको अवस्थामा सुजिताको शव प्रहरीले फेला पारेको थियो । सुजिता आफ्नै घरबाट बेपत्ता भएकोले खोजतलास गरी पाऊँ भन्दै उनकी आमा सुनिताकुमारी जिल्ला प्रहरी कार्यालय पुगेपछि प्रहरीले उनको खोजी थालेको थियो ।

सुजिताको हत्यामा संलग्न अन्य ४ व्यक्तिलाई प्रहरीले यसअघि नै सार्वजनिक गरिसकेको छ । पक्राउ परेका सुजिताका देवर २९ वर्षीय रुपेश ठाकुर, भ्रमरपुरा–७ का ३७ वर्षीय किशोरी मण्डल, ३३ वर्षीय आदम राईन र ३२ वर्षीय नथुनी मण्डल प्रहरीकै नियन्त्रणमा छन् । थप ३ जनालाई सोमबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

सोमबार सार्वजनिक भएका सुजिताका बुबा कामेश्वर पाण्डेले घटनाका प्रतिवादी मृतक सुजिताका देवर रुपेश ठाकुरसँग सुजिताको हत्या गर्न पटकपटक कुरा गरेको अडियो रेर्कडबाट देखिएको र घटना लुकाउन बार्गेनिङ गरेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकी रुपेश ठाकुरकी दिदी चौधरीले घटना लुकाएको र मण्डल सुजिताको शव सेप्टिक ट्यांकभित्र दबाउने कार्यमा संलग्न देखिएको प्रहरीले जनाएको छ ।

घर छोडेर अरुहरुसँगै हिँडिराख्ने गरेको र सामाजिक प्रतिष्ठामा खलल पुर्‍याएको भन्दै सुजिताको हत्या गरेको बयान पक्राउ परेका पारिवारिक व्यक्तिले दिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण १८, २०७८ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?