कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विद्यालयमा अध्यक्ष चयनको विषयलाई लिएर झडप, १५ घाइते

शिव पुरी

रौतहट — रौतहटको माधवनारायण नगरपालिका–४ स्थित मावि बिसुनपूर्वाको विद्यालयमा व्यवस्थापन समिति अध्यक्ष चयनको विषयलाई लिएर आइतबार दुई समूहबीच झडप हुँदा १५ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य छ ।

विद्यालयमा अध्यक्ष चयनको विषयलाई लिएर झडप, १५ घाइते

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण भगत मालीको गत वैशाखमा निधन भएपछि विद्यालयमा नयाँ अध्यक्ष चयन गर्ने तयारी गरिएको थियो । मृत्यु भएका अध्यक्ष भगतका परिवारका सदस्य नै समितिका अध्यक्ष हुनुपर्ने दाबीसहित तयारीमा जुटेका थिए ।

वडा नम्बर ४ का वडाअध्यक्ष रामदेनी मुखीया पनि आफ्नो समूहका मानिस समितिको अध्यक्ष हुनुपर्ने भन्दै तयारीमा जुटेका थिए । समितिको अध्यक्ष बन्नका लागि विद्यालयमा अध्ययरनत विद्यार्थीका अभिभावक मात्रै हुन पाउने प्रावधान रहेकोले वडाध्यक्ष मुखियाका छोरा रामतलेवर मुखिया आइतबार बच्चा भर्ना गराउन विद्यालय पुगेका थिए ।

भर्नाको विषयमा कुरा नमिलेपछि विवाद सुरु भएको थियो । त्यही बेला आफ्नो छोरामाथि हातपात भएको वडाध्यक्ष मुखियाको आरोप छ । विद्यालयमा पूर्वअध्यक्ष भगत समर्थकहरु पनि भर्ना गराउन बसेका थिए । विवाद सुरु भएपछि विद्यालय परिसमै दुई पक्षबीच बाँसको फराठा (भाटा) हानाहान भएको थियो । दुवै पक्षले लखेटीलखेटी बाँसले प्रहार गरेको भिडियो समाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

झडपको क्रममा दुवै पक्षका १५ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रिम शाहले बताए । ‘हामीले घटनामा संलग्न दुवै पक्षका एक/एकजनालाई नियन्त्रणमा लिएका छौं,’ उनले भने,‘समिति गठनको प्रक्रियाकै क्रममा दुई पक्षबीच झडप भएको हो । नियन्त्रण लिएकालाई शान्ति सुरक्षा खलल सम्बन्धी कसुरमा मुद्दा चलाएका छौं ।’ प्रहरी घटनास्थल पुगेर घटनामा संलग्न रामकलेवर मुखिया र दिलिपकुमार भण्डारीलाई नियन्त्रण लिएको थियो ।

एसपी शाहका अनुसार घाइते हुनेमा वडाअध्यक्ष मुखिया पक्षका नन्दराज मुखिया, बाबन मुखिया, मनोज मुखिया, रामकुमार मुखिया, हरेन्द्र मुखिया र श्यामानन्द मुखिया रहेका छन् । त्यस्तै, भण्डारी पक्षका दिपेन्द्र पासवान, कृष्ण पासवान, ज्ञानेन्द्र पासवान, विशाल पासवान, जिनिस हजरा, सुनीलकुमार मुखीया, तपेश्वर भण्डारी, रुपचन पासवान र पारस भण्डारी घाइते भएका छन् । उनीहरुको अवस्था खतरामुक्त रहेको अनमिनका अस्पताल गरुडाका चिकित्सक आरबी प्रसादले बताए । घाइते अधिकांशको टाउको, खुट्टा, हातको औंलामा समान्य चोट लागेको अस्पतालका हेल्थअसिसटेन्ट नरेन्द्र सहनीले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक राजेश यादवले राजनीति गरेर भर्ना हुनबाट वञ्चित गराएको वडाअध्यक्ष मुखियाको आरोप छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले समिति गठनको प्रक्रिया नै सुरु नभई आरोपप्रत्यारोप लगाउने काम भएको बताए । ‘हामी विवाद साम्य पार्नेतिर लागेका छौं । त्यसैको लागि निरन्तर छलफल जारी छ,’ उनले भने, ‘समिति गठनमा राजनीति घुसपैठ भएको भन्ने सुनेँ । वास्तविकता बाहिर आएको छैन । अहिले त प्रक्रिया मात्र सुरु हुँदै थियो । तर सुरुमै झडपको अवस्था सिर्जना भयो ।’

स्थिति समान्य रहेपनि विवाद साम्य भएको छैन । विवाद साम्य पार्न सोमबार बिहानदेखि छलफल भइरहेको छ ।

प्रकाशित : श्रावण १८, २०७८ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?