कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गण्डक नहरमा ६ सय क्युसेक पानी आयो

कान्तिपुर संवाददाता

काठमाडौँ — गण्डक नहरमा नेपाल र भारत दुवैतर्फ मर्मत कार्य सम्पन्न भएपछि पानी आउन थालेको छ । भारतले बुधबारदेखि नहरमा पानी दिएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकृत इञ्जिनियर सुवोध कुशवाहाले जानकारी दिए ।

गण्डक नहरमा ६ सय क्युसेक पानी आयो

‘भारतीय पक्षले बुधबारदेखि पानी दिएको हो,’ उनले भने, ‘अहिले ६ सय क्युसेकसम्म पानी आएको छ, नहरको ११ नम्बर ब्लक अर्थात बाराको सिम्रौनगढ क्षेत्रसम्म पानी पुगेको छ ।’

एक महिनाअघि भारी वर्षासँगै आएको बाढीले नहरमा नेपाल र भारत दुवैतर्फ क्षति पुगेको थियो । त्यतिबेला नेपालतर्फ ओरियो खोलाको जलस्तर बढेर बाढीको पानी नहरमा प्रवेश गरेपछि जगरनाथपुर गाउँपालिका तथा अन्य पालिकामा समेत गरी आधा दर्जन स्थानमा नहरको किनार क्षतिग्रस्त भएको थियो । नहरको ब्लक नम्बर १, ३ र ८ मा गरी आधा दर्जन स्थानमा क्षति भएकोमा नेपाली पक्षले त्यसको मर्मत गरी सकेको छ ।

भारततर्फ पर्साको जगरनाथपुर गाउँपालिकास्थित नेपाल–भारत सीमाबाट करिब २० किमि पश्चिममा भारतीय भूमिमा नरहमा क्षति पुगेको थियो । त्यहाँ नहरको १ सय ६० आरडीमा भवल गाउँ नजिक नहरको दोन ब्रान्च अन्तर्गतको खण्डमा यो क्षति भएको थियो । मसान खोलामा आएको बाढी नहरमा प्रवेश गर्दा दुई स्थानमा गरी नहरको देब्रे तर्फको करिब ४० मिटर खण्ड कटान गरेको थियो । भारतीय पक्षले उक्त स्थानमा मर्मत सम्भार गरिसकेको छ ।

यस वर्ष नेपालतर्फ गण्डक नहरमा तालिका अनुरुपनै पानी दिन भारत तयार रहे पनि नेपालतर्फ धानको बिउ तयार भइ नसकेको र वर्षा पनि पर्याप्त भएकाले नहरमा तत्काल पानी नछोड्न नेपाली पक्षले भारतीय पक्षलाई आग्रह गरेको थियो । ‘हाल पनि नियमित जसो वर्षा भइ रहेकाले नहरमा पानी ठूलो परिमाणमा चाहिएको छैन,’ उनले भने, ‘त्यस कारण भारतले पनि आवश्यक भए जति मात्र पानी दिइरहेको छ, थप आवश्यक भए हामी माग गर्नेछौं ।’

भारतसँगको सम्झौता अनुसार बर्सेनि धान सिजनका लागि असार १५ र गहुँ सिजनका लागि पुस १० देखि नहरमा पानी आइसक्नु पर्छ । गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीन वटा जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित गर्ने लक्ष्य छ । तर विभिन्न कारणले नहरमा सम्झौता अनुरुपको पानी नआएकाले लामो समयदेखि नहर पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । भारतले सम्झौता अनुरुपको ८ सय ५० क्युसेक पानी पहिलो पटक दुई वर्षअघि मात्र नेपाललाई दिएको थियो ।

सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । पर्साको जानकी टोलाबाट नेपाल प्रवेश गर्ने र रौतहटको वाग्मतीमा गएर मिसिने नहरलाई पूर्वी नहर भनिन्छ ।

नवलपरासीको भैंसालोटनस्थित नेपाल–भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किमि यात्रा गरेर यो नहर पर्साको जानकी टोलाबाट नेपालमा प्रवेश गर्छ । पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाइ नेपालतर्फ ८१ किमि रहेको छ ।

प्रकाशित : श्रावण १८, २०७८ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?