कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

नाका व्यवस्थित गर्न जोड

कान्तिपुर संवाददाता

पर्सा — वीरगन्ज–रक्सौल नाकालाई व्यवस्थित र सौन्दर्यीकरण गर्न सरोकारवालाले जोड दिएका छन् । सीमादेखि रजतजयन्ती चोकसम्म हालको सडक बिस्तार गरी ६ लेनको बनाउनुपर्ने, कोइला, क्लिंकरजस्ता डर्टी कार्गो बस्तु आयात अन्यत्रबाट गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् । 

नाका व्यवस्थित गर्न जोड

ग्रिन सिटी सामुदायिक संस्था आदर्शनगरले आयोजना गरेको सर्वपक्षीय भेलामा वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले नाकाको सौन्दर्यीकरणका लागि डर्टि कार्गो बस्तु आईसीपी नाकाबाट आयात गर्नुपर्ने सुझाव दिए । हाल यस्ता वस्तु आयात गर्दा त्रिपाल वा अन्य वस्तुले राम्रोसँग छोपेमा नाकाको फोहोर धेरै हदसम्म घट्ने उनको भनाइ छ ।

जिल्लाका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले रक्सौल हुँदै भित्रिने डर्टी कार्गो बोक्ने टिपर तथा ट्रकलाई दुईपटक कडाइ गर्दा चर्को दबाब आएर पछि हट्नुपरेको बताए । ‘सबैले आआफ्नो स्वार्थ त्यागेर सफाइमा ध्यान दिए यो नाका व्यवस्थित हुन्छ,’ उनले भने । सशस्त्र प्रहरीका उपरीक्षक राजेन्द्र खड्काले सीमा क्षेत्रलाई डम्पिङ साइटका रूपमा प्रयोग गर्दा त्यहाँ फोहोर र प्रदूषण बढिरहेकाले यो काम तुरुन्त बन्द गरिनुपर्ने बताए ।

होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले नाका व्यवस्थित गर्न प्रयास गरे पनि मूर्तरुप नपाएको अनुभव सुनाए । ‘वीरगन्ज नाका भएर भारतीय तथा तेस्रो मुलुकका पर्यटक आए पनि यहा रात नै बिताउन चाहँदैनन्,’ उनले भने, ‘यसको मुख्य कारण नाकाको अव्यवस्था र प्रदुषण नै हो ।’ यसपटक भने सरोकारवाला एकजुट भएर नाका व्यवस्थित गर्न लागिपर्ने उनले बताए । व्यवस्थित वीरगन्ज अभियानका संयोजक दिलिपराज कार्कीले बिगतमा पनि प्रहरी प्रशासन प्रमुखको प्रयासबाट वीरगन्ज भन्सार क्षेत्रको सडक बिस्तार तथा निर्माण भएको स्मरण गराउँदै सरोकारवाला एकजुट भए वीरगन्ज नाकाले काँचुली फेर्न समय नलाग्ने बताए ।

वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुलर शैलेन्द्र कुमारले नेपाल–भारत सीमा नाका व्यवस्थित गर्न भारत सरकारले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘नेपालतर्फ सरसफाइ र सौन्दर्य वृद्धि भए भारततर्फ पनि त्यसो गर्न दबाब पर्छ,’ उनले भने, ‘रक्सौलका सरोकारवालाहरू पनि आफ्नोतर्फको सीमा नाका व्यवस्थित गर्न अघि सरे दुवै मुलुकमा आवागमन गर्ने पर्यटकलाई सहज हुन्छ ।’

प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरले सडक विस्तारदेखि सरसफाइ र हरियालीमा वृद्धिलगायत काम गर्नु आवश्यक रहेको बताए । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले आफूले पटकपटक नाकालाई व्यवस्थित तथा सौन्दर्यीकरण गर्ने प्रयास गरे पनि त्यसले मूर्तरूप नपाएको बताए । नाकाको सौन्दर्यीकरणका लागि महानगरले केही बजेट विनियोजन गरेकाले सक्दो सदुपयोग गर्ने उनको भनाइ छ ।

प्रकाशित : श्रावण १८, २०७८ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?