भटमास तेलको निकासी बढ्यो

कान्तिपुर संवाददाता

पर्सा — वीरगन्ज नाकाबाट भटमासको प्रशोधित तेलको निकासी तीन गुणाले बढेको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आव २०७७/७८ मा भारततर्फको निकासी तीन गुणाले बढेको हो ।

भटमास तेलको निकासी बढ्यो

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आवमा ८ अर्ब २४ करोड २७ लाख ८५ हजार रुपैयाँ बराबरको ६ करोड ५५ लाख ५० हजार किलो भटमासको तेल भारत निकासी भएको थियो ।

गत आवमा ३६ अर्ब ५ करोड १३ लाख ८५ हजार रुपैयाँ बराबरको १९ करोड ७३ लाख ३६ हजार किलो भटमासको प्रशोधित तेल भारत गएको छ । स्वदेशी उत्पादनको निकासीलाई प्रोत्साहन गर्न यस्ता वस्तुको निर्यातमा शून्य भन्सारको व्यवस्था छ । भारतले आन्तरिक रूपमा माग धान्ने गरी उत्पादन गर्न नसकेपछि छिमेकी मुलुकहरूबाट पाम आयल, भटमास तेल, वनस्पति घिउ आयात गर्छ । अघिल्लो आवदेखि भटमासको तेलको भारततर्फको निकासी सुरु भएको हो । चालु आवमा वीरगन्ज नाका हुँदै निकासी हुने मुख्य वस्तुमध्येमै पर्छ यो तेल ।

यसबाहेक अन्य वस्तुमा जुस, जाम, दन्तमन्जनलगायत रहेको वीरगन्ज भन्सारका प्रमुख हरिहर पौडेलले बताए । उनका अनुसार नेपाली उद्योगीहरूले कच्चा तेल आयात गरी त्यसलाई प्रशोधन गर्ने गरेका छन् । भटमासको तेलको कच्चा पदार्थ अस्ट्रेलिया, मलेसिया, इन्डोनेसियालगायत मुलुकबाट आयात हुने गरेको छ । आयातकर्ताले निकासी प्रयोजनका लागि भनेर बैंक ग्यारेन्टीमा आयात गर्ने गरेकाले यसको आयात गर्दा न्यूनतम मात्रै शुल्क लाग्छ ।

प्रकाशित : श्रावण १८, २०७८ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?