१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सर्पदंशका बिरामीलाई भेन्टिलेटर अभाव

सुनिता बराल

बर्दिबास, महोत्तरी — केही दिनअघि गोमन सर्पको टोकाइबाट महोत्तरीको बर्दिबास–३ गौरीडाँडाका १६ वर्षीय मनीष सुनारको ज्यान गयो । घरनजिकै सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर नहुँदा उनको उपचार सम्भव भएन ।

सर्पदंशका बिरामीलाई भेन्टिलेटर अभाव

त्यसपछि जनकपुर लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको हो । सर्पले टोकेका बिरामीलाई जतिसक्दो छिटो उपचार केन्द्रमा पुर्‍याउनुपर्ने हुन्छ । बर्दिबास आएका बिरामीलाई अन्त रेफर गर्दा त्यहाँसम्म पुग्न समय लाग्ने र उपचारमा ढिलाइ हुँदा बर्सेनि धेरै बिरामीको मृत्यु हुने गरेको केन्द्रका प्राविधिक पदम गुरुङले बताए ।

उनका अनुसार केन्द्रमा आएका अधिकांश बिरामी भने उपचारपछि घर फर्किने गरेका छन् । विषालु सर्पले टोकेर उपचार गराउन आउने केही बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुँदा अन्यत्र पठाउने गरिएको हो । गर्मीयामलाई सर्पदंशका बिरामी बढ्ने सिजन मानिन्छ । बर्दिबासमा यस्ता बिरामी बढेपछि सेनाको रणभीम गणअन्तर्गत सुरक्षा बेसक्याम्प गौरीडाँडामा दरबन्दीमा रहेका ५ जनाको टोली केन्द्रमा बिरामीको उपचारमा २४ सै घण्टा खटिँदै आएको छ ।

टौवाबाट पराल झिक्न खोज्दा सर्पले टोकेपछि महोत्तरीको गौशाला–५ का सिल्टु साह उपचारका लागि बर्दिबासस्थित केन्द्र पुगे । शनिबार साँझ केन्द्रमै भेटिएका उनले १२ घण्टामै राम्रो उपचार पाएर ठीक भई घर फर्किन लागेको बताए । सिन्धुलीको कमलामाई नगरपालिका–११ की मनमाया स्याङ्तान पनि घाँस काट्ने क्रममा हरेउले टोकेपछि उपचारका लागि यही केन्द्रमा आइपुगेकी छन् । ‘सबैको सल्लाहमा यहाँ आएकी हुँ । भनिएकै जस्तै राम्रो उपचार पाएँ,’ उनले भनिन् । केन्द्रमा महोत्तरीबाट मात्र नभई सर्लाही, धनुषा, सिन्धुली, रामेछापलगायत आसपासका जिल्लाबाट पनि बिरामी आउने गरेका छन् । ८ वटा मात्रै बेड रहेको केन्द्रमा अहिले दिनमै १० देखि १५ जनासम्म सर्पदंशका बिरामी आइरहेका गुरुङले बताए ।

एक बिरामीको उपचारमा २१ भाइलसम्म एन्टिस्नेक भेनम सिरम प्रयोग हुने गरे पनि अहिले विषालु सर्पले टोकेका बिरामीलाई ३० भाइलसम्म औषधि प्रयोग गर्दा पनि ठीक हुन अप्ठेरो हुने गरेको उपचारमा संलग्न गुरुङ बताउँछन् । विषालु सर्पको विष पनि बिस्तारै लाग्ने र उपचार पनि ढिलो हुने भएकाले त्यस्ता बिरामीलाई भेन्टिलेटर अति आवश्यक पर्ने उनले बताए । अत्यावश्यक भए पनि केन्द्रमा अहिलेसम्म भेन्टिलेटरको व्यवस्थापन गर्न नसकिएको केन्द्रका प्रमुख कृष्णप्रसाद देवकोटाले बताए ।

यसका लागि विभिन्न सामाजिक संघसंस्था र स्थानीय तहमा समेत सहयोग मागिरहेको उनको भनाइ छ । ‘भेन्टिलेटर दिन संस्थाहरू तयार छन् तर सञ्चालन गर्न चाहिले जनशक्ति, ऊर्जा र अतिरिक्त खर्च जुटेको छैन । यसका लागि पनि सहयोग गरिदिन सबैसँग अपिल गरिरहेका छौं,’ उनले भने ।

प्रकाशित : श्रावण १७, २०७८ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?