बाँध हटाउन भारतलाई आग्रह

शिव पुरी

रौतहट — रौतहट प्रशासनले दशगजामा एकपक्षीय रूपमा बनाएको बाँध हटाउन भारतीय पक्षलाई पुनः आग्रह गरेको छ ।

बाँध हटाउन भारतलाई आग्रह

भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको मोतीहारीमा बुधबार भारतीय समकक्षीसँगको समन्वय बैठकमा रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मोतीहारीका प्रमुख (डीएम) कपिल अशोकलाई बाँध हटाउन आग्रह गरेका हुन् ।

रौतहटको ईशनाथ–१ बन्जाराहामा दशगजा अतिक्रमण गरी भारतीय पक्षले बाँध बनाएको छ । एक वर्षदेखि उक्त क्षेत्र खाली गर्न भारतले प्रतिबद्धता मात्र जनाउँदै आएको छ । पछिल्लो समय कोरोनाका कारण बाँध हटाउन ढिला भएको बताउँदै आइएको छ ।

बाँध निर्माणको विरोधपछि गत वैशाखमा दुवै मुलकका अधिकारीहरुको टोलीले जीपीएस माध्यमबाट सर्भे गरेको थियो । दशगजा मिचिएको पुष्टि भएपछि भारतले त्यतिबेला सार्ने भनेको थियो । ‘बिहार हुँदै केन्द्रीय सरकारसमक्ष दशगजाको बाँध हटाउन पहल थाल्ने भारतीय समकक्षीले प्रतिबद्धता जनाएका छन्,’ यादवले भने, ‘कोभिडको समस्या कम भएपछि बाँध हटाउने सहमति भएको छ ।’ अन्तर्राष्ट्रिय सीमा कानुनअनुसार नेपाल–भारत सीमाको दशगजाबाट दुवैतर्फ ९.१ मिटर भूभाग खाली राख्नुपर्छ । तर भारतलेअतिक्रमण गरी एकतर्फी बाँध बनाएको थियो ।

बैठकमा बन्जाराहाको ३४७ नं सीमास्तम्भ मर्मत गर्न भारतीय पक्ष सकारात्मक देखिएको यादवले बताए । यस्तै, बाढी आउँदा सीमामा रहेको बाँधमुनिको गेट आवश्यकताअनुसार खोल्न, कोरोना व्यवस्थापनमा द्विपक्षीय सहयोग आदानप्रदान, अत्यावश्यक मेडिकल उपकरणलाई सहज रूपमा आयात गर्न पनि सहमति जुटेको उनले जानकारी दिए ।

‘डुबानका बेला गेट खोल्छौं भन्छन् तर परेको बेला कुरा सन्दैनन्,’ रौतहटका एक सुरक्षा अधिकारीले भने, ‘भारतीयहरू प्रतिबद्धता मात्र जनाउँछन् ।’ भारतले २२ किमि क्षेत्रमा २५ फिट अग्लो बाँध बनाएपछि रौतहटका विभिन्न क्षेत्र बर्सेनि डुबान हुँदै आएको छ । यसअघि गत असार २६ मा सीतामाढीमा यस्तै बैठक बसेको थियो ।

प्रकाशित : श्रावण १७, २०७८ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?