महोत्तरीमा पाँचवर्षे बालक मृत फेला, बुबा र सौतेनी आमा पक्राउ

सुनिता बराल

महोत्तरी — महोत्तरीमा पाँच वर्षीय बालकको शव फेला परेको छ । हत्याको आशंकामा प्रहरीले बालकका पिता र सौतेनी आमालाई नियन्त्रणमा लिएको छ । 

रामगोपालपुर नगरपालिका–५ बिसमपुरका चन्द्रकिशोर यादवका छोरा रितेशको शव फेला परेको हो । बुधबार साँझ बेपत्ता भएका बालक बिहीबार दिउँसो मृत भेटिएका हुन् ।

घरदेखि ४० मिटर पर चनु साह तेलीको फलफूल बगैँचाभित्र परालले छोपिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एपपी दिनेश आचार्यले जानकारी दिए । बालकको घाँटीमा सानो दागसमेत देखिएको घटना शंकास्पद रहेको उनले बताए ।

शव पोस्टमार्टमका लागि बिहीबार प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । स्थानीयलाई उद्धृत गर्दै प्रहरी जनाएअनुसार रितेश बुधबार साँझ सौतेनी आमासँगै घरबाट निस्किएका थिए ।

बिहीबार दिउँसो शव फेला परेपछि बुबा चन्द्रकिशोर र सैतेनी आमा फरार भएकोमा उनीहरूलाई साँझ पक्राउ गरिएको एसपी आचार्यले जानकारी दिए । बालककी आमा एक वर्षपहिले घर छोडेर हिँडेपछि चन्द्रकिशोरले अर्काे विवाह गरेका थिए ।


प्रकाशित : श्रावण १५, २०७८ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?