पर्सा राष्ट्रिय निकुञ्जमा एक दशकमा १५ बाघ बढे

आहारा प्रजातिका जनावरको सख्यां बढ्नु र संरक्षणको प्रयास वृद्धिको प्रमुख कारण
शंकर आचार्य

पर्सा — पर्सा राष्ट्रिय निकुञ्जमा एक दशकमा बाघको संख्या १५ वटा बढेको छ । सन् २००९/२०१० मा गरिएको गणनामा निकुञ्जमा ४ वटा वयस्क बाघ थिए । उक्त संख्या अहिले १९ पुगेको छ । 

पर्सा राष्ट्रिय निकुञ्जमा एक दशकमा १५ बाघ बढे

निकुञ्जमा बाघको संख्या बढ्नुमा यसको आहारा प्रजातिका जनावरको सख्यां बढ्दै जानु र बाघ संरक्षणमा गरिएको प्रयासको सकारात्मक परिणाम रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साह बताउँछन् । ‘जहाँ घाँसे मैदानको विकास हुन्छ । त्यहाँ मृग प्रजातिका वन्यजन्तु फस्टाउँछन् र यो प्रजातिका जन्तु नै बाघको मुख्य आहारा हो,’ उनले भने, ‘प्रभावकारी संरक्षण, राम्रो बासस्थान र पानीको व्यवस्था भए बाघ आहारा र पानीका लागि भौंतारिनु पर्दैन ।’

निकुञ्जमा हाल १९ वटा घाँसे मैदानका साथै पानीको स्रोतमा खोलानाला र ठाउँठाउँमा कृत्रिम पोखरी छन् । निकुञ्जका विभिन्न क्षेत्रमा माउ र बच्चा बाघ सँगै देखिएकाले गणनाको भन्दा पनि बढी हुन सक्ने साह बताउँछन् । करिब २ वर्षअघि निकुञ्जको क्षेत्र पूर्वी भेगमा विस्तार भएपछि हल्खोरिया दह क्षेत्रमा पनि गत वर्ष २ वटा डमरु र माउ बघिनी देखिएका थिए । यसले बाघले निकुञ्जमा नयाँ बासस्थान बनाएको संकेत गर्छ । त्यस क्षेत्रमा पहिले बाघको बसोबास थिएन ।

पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको रामभौरीमाठामा रहेको घाँसे मैदान । तस्बिर : शंकर आचार्य/कान्तिपुर

यसबाहेक करिब एक दशकअघि रामभौरी, भाठा, रमौली, प्रतापपुर निकुञ्जभित्र रहेका मानवबस्तीलाई स्थानान्तरण गरिएपछि पनि बाघलगायतका अन्य वन्यजन्तुको संख्या पनि वृद्धि भएको साहले बताए । निकुञ्जमा बाघको संख्या वृद्धिसँगै चुनौती पनि बढेको छ । बाघ बढेसँगै तिनको सुरक्षा, निकुञ्जमा मानव प्रवेश नियन्त्रण, बाघको आहारा प्रजातिका वन्यजन्तुको संख्या थप वृद्धि, निकुञ्जमा लाग्ने मेला प्रमुख चुनौती रहेको उनले बताए ।

पर्सा, बारा र मकवानपुर गरी ६ सय २७ वर्ग किमि क्षेत्रफलमा निकुञ्ज फैलिएको छ । यो निकुञ्ज जंगली हात्तीको बासस्थानको रूपमा प्रसिद्ध छ । २ वर्षमा लामो लकडाउन र निषेधाज्ञाका कारण निकुञ्जमा मानवीय हस्तक्षेप न्यून भएपछि निकुञ्जमा बाघको गतिविधि बढेको थियो । पहिलो लकडाउनमा आधाभारस्थित निकुञ्जको मुख्य कार्यालय तथा त्यसवरपरको क्षेत्रसम्मै बाघ देखिएको थियो । निकुञ्जमा बाघको संख्या वृद्धिसँगै बाघ आहाराको खोजीमा निकुञ्ज आसपासको राष्ट्रिय वनमा समेत प्रवेश गर्ने गरेको छ । गतवर्ष पूर्व–पश्चिम राजमार्गको पथलैया–निजगढ सडक खण्डमा कारको ठक्करबाट एउटा बाघ मरेको थियो ।

प्रकाशित : श्रावण १५, २०७८ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?