२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

फेरि बढ्यो संक्रमण

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको अस्पतालमा चाप
कान्तिपुर संवाददाता

जनकपुर — निषेधाज्ञा खुकुलोसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । दोस्रो लहर अलि सुस्त देखिएको बेला स्वास्थ्य मापदण्डलाई ख्याल नगर्दा संक्रमण फेरि बढेको हो । 

फेरि बढ्यो संक्रमण

स्वास्थ्य निर्देशनालयको दैनिक बुलेटिनअनुसार प्रदेशमा संक्रमितको संख्या सातायता बढिरहेको छ । बिहीबार मात्रै प्रदेशमा ३५ जना संक्रमित थपिएका छन् । महोत्तरीमा उक्त दिन १५ जना मा संक्रमण देखिएको छ । उनीहरू सबै बर्दिवास र गौशालाका हुन् । रौतहटमा पनि ११ जना संक्रमित थपिएका छन् । धनुषा र सर्लाहीमा २/२ र बारामा १ जना संक्रमित थपिएका छन् । बिहीबार रौतहट गौरका ६५ वर्षिय एक संक्रमितको मृत्यु भएको जनकपुरस्थित स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश २ मा बुधबार १८ जना संक्रमित थपिएका थिए, जसमा ४ जना महिला र १४ जना पुरुष थिए । मंगलबार भने १५ जना संक्रमित थपिएका थिए । त्यही दिन ५५ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । मंगलबार थपिएका १५ जनामा ५ महिला र १० पुरुष छन् । मंगलबार भने एक जना संक्रमितको मृत्युसमेत भएको छ । सप्तरी, खड्ग नगरपालिकाका ४७ वर्षीया महिलाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयका डा. कमलेश यादवले जानकारी दिए । यस्तै, सोमबार प्रदेशमा २२ जना संक्रमित थपिए । जसमा ६ जना महिला र १६ जना पुरुष छन् । सोमबार पनि एकजना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार सिरहाको लहान १० का ५३ वर्षीय पुरुषको कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

संक्रमणको आशंकामा पीसीआर परीक्षण गराउन जानेको संख्या यहाँ न्यून छ । तर, कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामीको भने अस्पताल र क्लिनिकमा भीड बढेको छ । प्रदेशका ठूला अस्पताल जनकपुरस्थित प्रादेशिक अस्पताल, वीरगन्जस्थित नारायणी अस्पताल र राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा भने थोरै संक्रमित उपचाररत्त छन् । वीरगन्जको नारायणी अस्पताल र तराई अस्पतालमा गरी २ जना संक्रमित उपचाररत्त छन् ।

नारायणी अस्पतालमा संक्रमितका लागि १ सय २५ शय्या, वीरगन्जकै तराई अस्पतालमा २० शय्या, राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा २५ शय्याको एचडीओ छ । त्यहाँ अहिले उपचाररत संक्रमितको संख्या शून्य छ । जनकपुरको कोभिड अस्पतालमा १ सय शय्या छ । यहाँ पनि उपचाररत संक्रमितको संख्या शून्य छ । तर, प्रदेशका मुख्य सहर जनकपुर, वीरगन्ज, राजविराज, लहान लगायतका क्षेत्रमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको चाप बढ्दो छ । ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने र शरीर शिथिल पार्ने समस्याले ग्रस्त बिरामीहरूलाई भने स्वास्थ्यकर्मीले पीसीआर परीक्षण गराउन सल्लाह दिँदै आएका छन् ।

स्वास्थ्य निर्देशानालयका अनुसार दैनिक थपिने संक्रमितहरूको स्वास्थ्य अवस्था समान्य रहेकाले स्वास्थ्यकर्मीको सम्पर्कमा होम आइसोलेसनमा छन् । प्रादेशिक अस्पताल जनकपुरका बरिष्ठ चिकित्सक रामनरेश पण्डितका अनुसार निषेधाज्ञा खुकुलो भएसंगै संक्रमण दर फेरि बढेको छ । ‘खोप लगाएका व्यक्तिको संख्या बढ्दै जाँदा संक्रमण दर फेरि कम हुन सक्छ,’ उनले भने ।

प्रकाशित : श्रावण १५, २०७८ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?