१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बर्सेनि कटानको त्रास

चुरे दोहनले बाढी र डुबानको समस्या बढ्दै गएकाले नदी उत्खननको ठेक्का रोक्न माग
शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिकाले खैरास्थित चाँदी खोला उत्खननका लागि बर्सेर्नि ठेक्का लगाउन थालेपछि स्थानीय आक्रोशित भएका छन् । खोला उत्खननका कारण बस्ती जोखिममा पर्ने भन्दै स्थानीयले विरोध जनाएका हुन् । 

बर्सेनि कटानको त्रास

चन्द्रपुर खैराका ८५ वर्षीय हर्षबहादुर पुलामी मगर डेढ दशकअघिको बाढीको घटना अझै पनि सम्झिन्छन् । २०६१ असार २३ गते लगातार वर्षापछि चाँदी खोलामा आएको बाढीले खैराको ९० घर विस्थापित भएका थिए । पाँच घर बाढीमा बगे । चुरे दोहनका कारण चाँदी खोलाले धार परिवर्तन गर्दा बस्ती विस्थापित भएको मगर बताउँछन् । त्यसैले उनको माग छ, ‘स्थानीय तहले चुरे दोहन रोक्नुपर्छ । अरू बस्ती जोगाउनुपर्छ ।’ गत वर्ष नगरपालिकाले खोला उत्खननको ठेक्का लगाएपछि मगरलगायत स्थानीय विरोधमा नै उत्रिएका थिए ।

त्यतिबेला चाँदी खोलाको बाढीले घरखेत बगाएपछि उनको खेत भएको स्थानमा अब गोठ मात्र छ । बस्ती नै विस्थापित भए पनि उनी दिनहुँ खेतको रेखदेख गर्न पुग्छन् । साँझपख घर फर्कन्छन् । बस्तीका मानिसको ८५ बिघा खेतमध्ये आधाजसो कटान गरेको थियो ।

मगरको अढाई बिघा खेतीयोग्य जमिनमध्ये बाढीले झन्डै १ बिघा बगायो । बाढीबाट जोगिन उनका परिवार खैरा गाउँदेखि माथि डाँडामा गएर बसेको मगरले सुनाए । ‘हेर्दाहेर्दै सर्लक्क घर बगायो । मानिसहरू बाहिर निस्केर ज्यान जोगाए,’ उनले भने, ‘सरसामान केही निकाल्न सकिएन । ज्यान जोगियो त्यो नै धन्न भयो ।’ अहिले खैरामा बस्ती छैन् । २/३ वटा पशु बाँध्ने गोठ मात्रै बचेको छ ।

‘चाँदी खोला पश्चिम क्षेत्र भएर बग्थ्यो । चुरेमा जथाभावी उत्खनन गर्न थालेपछि खोलाले धार बदलेको हो,’ उनी भन्छन्, ‘फेरि पनि दोहन गर्न अनुमति दिने तर्खरमा स्थानीय तह रहेको सुनेको छु ।’ खैरापारि चिडिया दहमा घर बनाएर उनका २२ जनाको परिवार सबै त्यहीं बसेका छन् । मगर मात्र होइन खैराका विस्थापित सबै चिडिया दहमा घर बनाएर बसेका छन् । अहिले पनि उनीहरू आफ्नो खेतमा खोला बगिरहेको हेर्न विवश छन् । खैरा बस्ती अन्नको भण्डार भनेर चिनिन्थ्यो ।

चुरे दोहनका कारण २०५० सालदेखि वर्षाका बेला बस्तीछेउको जमिन बाढीले कटान गर्न थालेको हो । गाउँको अस्तित्व बचाइराख्न बाँध बनाइदिन स्थानीयले सबै दलका शीर्ष नेतालाई नगुहारेका होइन् । तर कसैले चासो नदेखाएको मगरले बताए । ‘चुरे दोहन रोक्नुपर्‍यो, यसले बस्तीलाई जोखिममा पार्‍यो,’ भनेर कैयौं पटक भनेको अर्का विस्थापित श्रीष पौडेलले बताए । उनले भने, ‘त्यसबेला सुनवाइ भएन । अहिले बाढी र डुबानको जोखिम बढेको छ । दोहन नरोकेसम्म समस्या बढ्दै जान्छ ।’

विस्थापितहरू बचेको जमिनमा खेती लगाउँदै आएका छन् । चाँदी खोलाले खैरा मात्र होइन दक्षिणका सिन्दुरेघारी, खौरा, बलरीलगायत गाउँमा कटान गर्दै आएको छ । पश्चिम क्षेत्रबाट बग्ने खोलाले अहिले पूर्वपट्टि अर्को धार बनाएको छ । चन्द्रपुर नगरपालिकाले राजमार्गबाट उत्तर क्षेत्रमा नदीजन्य वस्तुको निकासीको ठेक्का लगाउन थालेपछि चुरे क्षेत्रसम्म पुगेर ढुंगा उत्खनन र तस्करी सुरु भएको छ । अघिल्लो वर्ष चन्द्रपुरले चाँदी खोलाको उत्तरी क्षेत्रमा निकासीको ठेक्का लगाएपछि ठेकेदारले नियमविपरीत उत्खनन गरेको थियो । यसको विरोधपछि यस पटक नगरपालिकाले ठेक्का लगाएन ।

चन्द्रपुरका नगर प्रमुख रामचन्द्र चौधरीले चुरे दोहनले बाढी र डुबानको समस्या बढ्दै गएकोले नदी उत्खननका लागि ठेक्का लगाउन छाडिएको बताए । ‘नदीजन्य वस्तुको निकासीको ठेक्का लगाउँदा चौतर्फी विरोध हुन थाल्यो,’ उनले भने, ‘विगतमा खैरा बस्ती बिस्थापित हुनु पनि दोहनकै कारण हो । अब उत्खननको ठेक्का लगाउँदा सर्वपक्षीय सल्लाह सुझाव अनुसार मात्रै गर्ने योजना छ ।’

प्रकाशित : श्रावण १४, २०७८ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?