कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

औषधि खरिदमा ‘हिनामिना’

अवधेशकुमार झा

सप्तरी — सप्तरीको तिरहुत गाउँपालिकाअन्तर्गत रहेका स्वास्थ्य चौकीहरूमा सामान्य प्रकृतिका औषधि समेत छैनन् । पालिकाले आर्थिक वर्ष २०७७/७८ मा खरिद गरेको औषधि भने थन्किएको छ । गाउँपालिकाले गुणस्तरहीन खरिद गर्दा प्रयोग हुन नसकेको हो ।

गाउँपालिका अध्यक्ष हेमन्तकुमार बहरखेर र प्रमुख प्रशासकीय अधिकृत रेणुका साहबीचको विवादले गत आर्थिक वर्षको अन्त्यमा विकास कामका भुक्तानीसमेत रोकिएको बेला औषधि खरिदमा अनियमितता भएको पाइएको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा १८ लाख रुपैयाँ बराबरको औषधि खरिदको टेन्डर गरेको थियो । सिरहाको एक स्थानीय पत्रिकामा टेन्डर छापेर कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालयसहितका नियामक निकायका प्रतिनिधिसमेत नराखी प्रमुख प्रशासकीय अधिकृत साहले टेन्डर स्वीकृत गरेकी थिइन् ।

तर टेन्डर कबोलकर्ताले गाउँपालिकामा पठाएको औषधि गुणस्तरहीन हुँदा स्टोरमा थन्काइएको छ । गुणस्तरहीन र कम दिए पनि पालिकाले असारको अन्तमा उक्त सप्लायर्सलाई १० लाख र ८ लाख गरी २ वटा चेकसमेत दिएको पालिका स्रोतले बतायो । तीमध्ये एउटा चेक साटिएको र अर्कोमा विवरण सच्याउनुपर्ने भएकाले अझै साटिएको छैन । प्रमुख प्रशासकीय अधिकृत साहले औषधि खरिदमा अनियमितता भएको स्वीकारिन् । टेन्डर स्वीकृत गर्दा नियामक निकायका प्रतिनिधि आए/नआएको विषयमा आफूलाई थाहा नभएको उनको भनाइ छ । ‘स्टोरको औषधि गुणस्तरहीन र कम छ । हामीले वितरण गरेका छैनौ । बैकमा भुक्तानी नदिनसमेत आग्रह गरिसकेका छौं,’ साहले भने ।

गाउँपालिकासम्बन्धी टेन्डरको कागजात नै भेटिने गरेको छैन । प्रमुख प्रशासकीय अधिकृत साहले उक्त टेन्डरको फाइलहरू तथा स्टोरको चाभी स्वास्थ्य शाखाका कर्मचारीसँग रहेको बताए । तर उक्त फाइल र टेन्डरबारे बुझन कार्यालय पुग्दा कर्मचारीहरू विभिन्न बहानामा अन्यत्र जाने गरेका छन् ।

‘यस्तो महामारीका बेला जनतालाई दिन स्वास्थ्य चौकीमा औषधि छैन । तर औषधिको नाममा लाखौं लाखको खेल भइरहेको छ,’ स्थानीय ज्ञानेन्द्रकुमार लगरवारले भने, ‘आर्थिक वर्ष सकिन लाग्दा खरिद गर्नु, गुणस्तर नै जाँच नगरी र परिमाण नै नहेरी भुक्तानी दिनुले बदनियत देखिन्छ ।’

प्रकाशित : श्रावण १४, २०७८ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?