कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोभिडमा अनौपचारिक कक्षा

श्यामसुन्दर शशि

जनकपुर — निर्माणाधीन पक्की घरको खुला कोठामा मंगलबार ६ वर्षीया सकिता मण्डल नेपाली विषय अभ्यास गर्दै थिइन् । सँगै थिए, १० वर्षीय अन्दारुल राइन । एउटै कक्षाकोठामा भुइँमा पलेटी कसेर अरू चार बालबालिका पनि अभ्यास गर्न व्यस्त थिए । 

कोभिडमा अनौपचारिक कक्षा

उनीहरूलाई सहयोग गर्दै थिइन्, शिक्षिका पूजा गुप्ता । मास्क लगाएका उनीहरू भौतिक दूरी कायम गरेरै कक्षाकोठामा बसेका थिए । बरन्डामा खानेपानी र सेनिटाइजर राखिएको छ । सबैलाई हात सेनिटाइज गरेर मात्र कक्षाकोठाभित्र प्रवेश गर्ने नियम छ । धनुषाको पूर्वोत्तर सबैला नगरपालिका–८ ठिल्ला जदुवामा मध्याह्नको कक्षा सञ्चालन भइरहेको उक्त घरभन्दा १ सय ५० मिटर दक्षिणमा पनि यस्तै अनौपचारिक कक्षा सञ्चालित थियो । जसमा मुस्लिम समुदायका बालबालिका मात्र अध्ययनरत थिए । मुस्लिम बालबालिका आफ्नो धार्मिक पुस्तकसँगै नेपाली, गणित, विज्ञानजस्ता विषयको पनि अभ्यास गर्दै थिए । सहयोगीको भूमिकामा थिए, स्थानीय मदरसा दारुल होदाका मोलवी (शिक्षक) मोहम्मद सहजाद आलम ।

अनौपचारिक कक्षा सञ्चालित यी दुई स्थानभन्दा मुस्किलले १ सय मिटर दायाँ र बायाँमै छन्, सरस्वती जनता उच्च माध्यमिक विद्यालय र मदरसा दारुल होदा । यी दुईसँगै सबैलामा सञ्चालित अन्य २५ सामुदायिक विद्यालय र ९ वटा मदरसा वैशाख १० गतेदेखि बन्द छन् । तर गत वर्षको बन्दाबन्दीदेखि नै सबैला नगरपालिकाको टोलटोलमा यस्ता २ सय १० वटा अनौपचारिक कक्षा भने सञ्चालनमै छ । जसमा १ हजार ५० बालबालिका दुई सिफ्टमा नियमित अध्ययन गर्दै छन् । अनौपचारिक शिक्षा लिनेहरूमा अधिकांश विभिन्न विद्यालयका विद्यार्थी छन् भने केही नयाँ पनि छन् । अनौपचारिक शिक्षा पूरा भएपछि उनीहरूलाई क्षमताअनुसारको कक्षामा भर्ना गर्ने सहमति स्थानीय सामुदायिक विद्यालयहरूसँग भइसकेको शिक्षिका राखीकुमारी राउतले जानकारी दिए ।

पालिकामा अनौपचारिक कक्षा सञ्चालन गर्न आसमान नेपालले बालबालिकाको अध्ययन/अध्यापनमा सहजीकरण गर्न १ सय ५ स्वयंसेवक, १० जना बिग सिस्टर (ठूल्दिदी), ५ जना सामाजिक परिचालक तथा एक जना पालिका संयोजक नियुक्त गरेको छ । आसमान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादवले भने, ‘समाजलाई बालश्रममुक्त बनाउने हाम्रो उद्देश्य हो । यसका लागि शतप्रतिशत बालबालिका विद्यालयमा हुनुपर्छ । यही उद्देश्य लिएर सबैलासँगै धनुषाका चार पालिकामा अनौपचारिक शिक्षा प्रारम्भ गरेका हौं ।’

कोभिड–१९ को कारण सामुदायिक विद्यालय बन्द रहेको तथा कोभिड प्रोटोकलअनुसार शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने अवस्थामा पनि आसमानले धनुषाका सबैला, नगराइन, गणेशमान चारनाथ नगरपालिका तथा लक्ष्मीनिया गाउँपालिकामा बालबालिकाको जन्मदर्ता, विद्यालय भर्ना, पठनपाठन, स्वास्थ्य, खानेपानी, खेलकुद गतिविधि चलाएको छ । यस्तै बालविवाह र दाइजो प्रथाविरुद्ध अभियान पनि सञ्चालन गरेको छ ।

सबैला–८ ठिल्ला जदुवास्थित जनता राष्ट्रिय आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार रायले बालबालिकालाई विद्यालय भर्ना गराए पनि टिकाइराख्नु ठूलो चुनौती रहेको बताए । आसमान नेपालका सामाजिक परिचालक सुशाषचन्द्र यादवका अनुसार बालबालिकालाई विद्यालय भर्ना गराउन नियमित घरदैलो कार्यक्रम गरिन्छ । पालिकामा युवा सञ्जाल, अभिभावक सञ्जाल, बालक्लब, छात्रा सञ्जाल, मदरसा समूह गठन गरिएको छ ।

‘संघीय सरकारको प्रोटोकलका कारण सामुदायिक विद्यालयहरूमा चाहेर पनि गतिविधि सञ्चालन गर्न सकिएको छैन । अन्य शैक्षिक गतिविधिहरू पनि प्रभावित हुने अवस्था छ,’ सबैलाका प्रमुख विजयशंकर साहले भने । सबैला–८ ठिल्लास्थित सरस्वती उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक नथुनी साहले भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि विद्यालय भर्ना, अनलाइन कक्षा नियमित भइरहेको बताए ।

प्रकाशित : श्रावण १४, २०७८ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?