सीमास्तम्भ मर्मत आदेश आएन- प्रदेश २ - कान्तिपुर समाचार

सीमास्तम्भ मर्मत आदेश आएन

पिलर नम्बर ३४७ भत्किने अवस्थामा, केन्द्रलाई पत्राचार गरे पनि आएन जवाफ
शिव पुरी

रौतहट — गौर–औरैया सीमा क्षेत्रको अन्तिम बिन्दुमा रहेको ३४७ नम्बरको पिलरको जग जीर्ण भइसकेको छ । ईशनाथ–१ स्थित ढल्ने अवस्थामा पुगेको यो सीमास्तम्भ मासेर भारतीयले बोरा राख्न खोज्दा गत वर्ष विवाद भएको थियो । भारतीय पक्षले यो भत्केर जाओस् भनिरहेका बेला रौतहट प्रशासनले भने निगरानी नियमित गरेको छ । 

रौतहटको ईशनाथ–१ औरया सीमास्थित जीर्ण पिलर । तस्बिर : शिव/कान्तिपुर

जिल्ला प्रशासन कार्यालयले ५ महिनाअघि पिलर मर्मतका लागि प्रधानमन्त्रीको कार्यालय, परराष्ट्र मन्त्रालय, गृह र नापी विभागमा पत्राचार गरेको थियो । पत्रको जवाफ नै नआएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘ठूलो वर्षा भयो भने पिलर ढल्ने अवस्थामा छ । मर्मत तत्कालै जरुरी छ,’ उनले भने, ‘दुई देशको सीमामा आफूखुसी पिलर मर्मत गर्न मिल्दैन । त्यसैले माथिको आदेश पर्खेका हौं ।’ पिलर नयाँ बनाउन सहमतिका प्रक्रिया झन्झटिला त छँदै छन्, त्यसमा लाग्ने खर्चका लागि बजेट पनि नभएकाले सरकारले पत्रको जवाफ नपठाएको भन्दै जिल्ला प्रशासन चुप लागेको छ ।

बाढीको डुबानबाट जोगिन गत वर्ष भारतीयले बालुवा भरेका बोरा सीमामा राखेका थिए । त्यस बेला पिलर भत्किने गरी बोरा राख्न थालेपछि रौतहट प्रशासनले रोकेको थियो । त्यतिबेला सशस्त्र प्रहरी प्रदेश २ का तत्कालीन प्रमुख डीआईजी राजु अर्यालसहितको टोलीले स्थलगत अध्ययन गरेर निगरानीका लागि टोली नै खटाइएको थियो । पिलर वरपर खाडल छ । यसलाई पुर्नसमेत प्रशासनले माथिको आदेश पर्खेको छ । प्रजिअ यादवले केही दिनपछि भारतको मोतीहारीमा हुन लागेको सीमा सुरक्षा बैठकमा पिलर ३४७ को मर्मत र बोरा राखेर बाँध बनाउन नपाइने विषय उठान गर्ने बताए ।

गौरदेखि ३१ किलोमिटर पश्चिम सीमाको अन्तिम बिन्दुमा उक्त पिलर पर्छ । पिलरबाट एक सय मिटर पूर्वसम्म भारतले एकपक्षीय रूपमा लगाएको बाँध छ । यही बाँधलाई अगाडिसम्म लैजान भारतीयले बोरा राख्न खोजेका हुन् । रौतहटमा ३१ किलोमिटर खुला सीमामा मुख्य १५ सीमास्तम्भ छन् । सहायक २९ र सानो पिलर १ सय १५ वटा गरी कुल १ सय ६२ वटा छन् । सानो र मुख्य गरी १७ वटा पिलर हराएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण १३, २०७८ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्

उखु किसानको ३ करोड बैंकमै

साना किसानले उखु बिक्री गरेको प्रमाण हराएको प्रशासनको आशंका
शिव पुरी

रौतहट — गत वर्ष उखुको भुक्तानी लामो समयसम्म नपाएको भन्दै रौतहटका किसान आन्दोलित भए । किसान, चिनी मिल र सरकारबीच बक्यौता भुक्तानी दिने सहमति भयो । मिल सञ्चालकले सम्झौताअनुसार भुक्तानी नदिएपछि सरकारले पक्राउ पुर्जीसमेत जारी गर्‍यो ।

रौतहटको गरुडास्थित श्रीराम चिनी मिल सञ्चालनको माग गर्दै धर्नामा बसेका उखु किसान । फाइल तस्बिर : कान्तिपुर

विवाद बढेपछि गरुडा नगरपालिका–५ स्थित महम्मदपुरस्थित श्रीराम सुगर मिलले फागुनदेखि किसानको बक्यौता भुक्तानी गर्न थाल्यो । तर, अन्तिम समयमा भुक्तानी रकम लिन केही किसान गएनन् । अहिलेसम्म किसानको ३ करोडभन्दा बढी रकम बैंकमै रोक्का छ ।

बक्यौता रकम दाबी गर्न किसान नआएपछि प्रशासनले मिलको खाता रोक्का गरेर राखेको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ३ करोड १२ लाख ९ हजार रुपैयाँ विभिन्न कारणले भुक्तानी रोकिएको बताए । ‘साना किसानले उखु बिक्री गरेको प्रमाण हराएको हुन सक्छ वा बिचौलियालाई चलान पुर्जी बिक्री गरेको हुन सक्छ,’ उनले भने, ‘मिलले किसानलाई रकम दिने हुँदा बिचौलियाले प्रमाण दिन नसकेकाले उक्त रकम बाँकी बसेको हुन सक्छ ।’

उखु उत्पादक संघका जिल्ला अध्यक्ष अशोक यादवले भुक्तानी लिन छुटेका किसानसित सम्पर्क गर्न लागेको बताए । ‘अधिकांशले भुक्तानी लिइसकेका छन् । छुटेकाहरू को–को छन् भन्ने तथ्यांक संकलन गर्दै छौं,’ उनले भने, ‘जिल्लाभरिका उखु किसानलाई बोलाएर छुट भएको रकम प्रमाणसहित दाबी गर्न जान भनेका छौं ।’ चिनी मिलका फाइनान्स अधिकृत नरेन्द्रप्रसाद गुप्ताले किसानको बक्यौता रकम दाबी गर्न नआएकाले बैंकमा त्यतिकै बसेको बताए । ‘मिलले बक्यौता भएका किसानलाई प्रमाणसहित रकम लिन आउन भनिसकेको छ,’ उनले भने, ‘अहिलेसम्म नआउँदा ३ करोड रकम बैंकमा मौज्दात छ ।’

भुक्तानीकै कारण मिल र किसानबीच द्वन्द्व चर्किएको थियो । २०७१ सालदेखि चिनी मिलले उखु खरिद गरेबापतको उक्त रकम बक्यौता राखेको थियो । रौतहटका १० हजारभन्दा बढी किसानको ६ वर्षदेखि रकम बाँकी राखेपछि उनीहरू चिनी मिलविरुद्ध आन्दोलित भएका थिए । मिलका सञ्चालक हितेश गोल्छा, विशाल अग्रवाल र उपाध्यक्ष पद्मकान्त झाविरुद्ध रौतहटका ४६ किसानले गत पुस १ गते ठगी मुद्दा दर्ता गराएका थिए । त्यसपछि मिलले भुक्तानी सुरु गरेको हो । मिलले गत फागुनमा ३७ करोड ३७ लाख १९ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ ।

बर्सेनि घाटा बेहोर्न बाध्य भएको भन्दै गोल्छा समूहले सञ्चालन गर्दै आएको सुगर मिल बन्द गरेपछि जिल्लाका किसान निराश छन् । ‘आफ्नै जिल्लाको यति ठूलो मिल बन्द भयो,’ संग्रामपुरका उखु किसान धर्मवीर मुखियाले भने, ‘मिल बन्दले दुःखी छौं । उद्योग बन्द हुनु राम्रो होइन ।’ २६ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको मिल बन्द हुँदा ३ सय २५ जना मजदुरको रोजगारी गुमेको छ । कम्पनी सञ्चालक समितिको गएको साउन ९ गतेको बैठकले मिल बन्द गर्ने निर्णय गरिसकेको छ ।

मिलले अहिलेसम्म २ अर्ब १७ करोड ७५ लाख ५८ हजार घाटा बेहोरेको सञ्चालकको दाबी छ । २०४९ सालमा शिलान्यास भई २०५१ सालबाट मिलले उखु क्रसिङ थालेको थियो ।

प्रकाशित : श्रावण ११, २०७८ १३:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×