१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

खोपबाट तर्किंदै ज्येष्ठ नागरिक

१ हजार २ सय ५४ जनाले लगाएनन् दोस्रो मात्रा  
शंकर आचार्य

पर्सा — कोरोनाको पहिलो र दोस्रो दुवै लहरमा ‘हटस्पट’ बनेको पर्साका ज्येष्ठ नागरिक खोप लगाउन भने उदासीन देखिएका छन् । अन्य जिल्लामा कोरोनाविरुद्धको खोपको चर्को माग भइरहेका बेला यहाँ भने खोप लगाउन ज्येष्ठ नागरिकले चासो नदिएका हुन् ।

खोपबाट तर्किंदै ज्येष्ठ नागरिक

जिल्लामा भेरोसेल खोपको पहिलो मात्रा लगाएका एक हजारभन्दा बढी व्यक्तिले दोस्रो मात्रा नलगाएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार जिल्लाका १४ वटै पालिकामा पहिलो चरणमा ६२ देखि ६४ वर्ष उमेर समूहका ८ हजार ६ सय ३४ जनाले पहिलो मात्रा खोप लगाएका थिए । तर दोस्रो मात्रा ७ हजार ३ सय ८० जनाले लगाएका छन् । पहिलो मात्रा लगाएकामध्ये १ हजार २ सय ५४ जनाले आइतबारसम्म दोस्रो मात्रा लगाएका छैनन् । जिल्लामा असार अन्तिमतिर भेरोसेल खोप दिइएको थियो ।

सर्लाही घर भई पर्सामा नेपाल प्रहरीमा सेवारत राकेश पाण्डेले आफू घर बिदामा गएकाले भेरोसेलको दोस्रो मात्रा लगाउन नपाएको बताए । ‘बिदा जानुअघि पहिलो मात्रा लगाएको थिएँ,’ उनले भने, ‘बिदाबाट फर्केर आएपछि दोस्रो मात्राको खोजीमा छु ।’ नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंह जिल्लामा पहिलो लटमा कोरोनाविरुद्धको खोप लगाउनेले भारतमा निर्मित कोभिसिल्ड पाएको तर दोस्रो चरणमा चिनियाँ खोप लगाउन परेकाले धेरैमा अन्योल रहेको बताए । ‘अधिकांशले कोभिसिल्ड खोप नै लगाउन चाहेका थिए,’ उनले भने, ‘चिनियाँ खोप भएकाले धेरैमा संशय थियो, त्यो पनि एउटा कारण हुन सक्छ ।’

सामाजिक अभियन्ता प्रकाश थारू पनि अधिकांशले भारतीय खोप लगाउन चाहेको तर चिनियाँ खोप भएकाले धेरै जना पहिले नै हच्किएको आफूले पाएको बताए । ‘सीमावर्ती जिल्ला भएकाले र अन्य उपभोग्य वस्तु पनि भारतीय नै बढी प्रयोग गर्ने भएकाले धेरैलाई चिनियाँभन्दा भारतीय खोपमै बढी विश्वास रहेको मैले अनुभव गरेको छुँ,’ उनले भने, ‘सरकारले भने जिल्लामा सुरुमा एउटा देशमा उत्पादित खोप दियो, पछि पनि त्यही खोपको व्यवस्था गर्न सकेको भए सम्भवतः यति ठूलो संख्यामा नागरिकले खोपको एक मात्रा मात्र लिन्थेनन् होला ।’

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नवलकिशोर साह जेठ २८ र २९ गते गरी सुरुमा २ दिन लक्षित उमेर समूहका ज्येष्ठ नागरिकलाई यो खोप दिइएको बताउँछन् । ‘त्यति बेलै खोप लगाउन तोकिएको दिनमा पनि थोरैले खोप लगाए,’ उनले भने, ‘हामीले फेरि जेठ ३१ गते पनि खोप दिने उमेर समूह घटाएर ६० देखि ६४ वर्षका ज्येष्ठ नागरिकलाई खोप दिएका थियौं ।’ कार्यालयसँग भेरोसेलको अझै करिब १ हजार १ सय भाइल खोप मौज्दात रहेको उनले बताए ।

यसअघि भारतमा निर्मित कोभिसिल्ड खोप जिल्लामा ४५ हजार ८ सय ८४ जनाले लगाएका थिए । त्यसका लागि उक्त खोपको ४६ हजार ८ सय ४० मात्रा खर्च भएको थियो । त्यतिबेला स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, सञ्चारकर्मी, ज्येष्ठ नागरिक तथा कर्मचारीहरू प्राथमिकतामा परेका थिए । हाल भने जिल्लामा अमेरिकाले सहयोगस्वरूप उपलब्ध गराएको जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको खोप दिइँदै छ । तीन चरणमा तीन थरी खोप भएकाले अधिकांशमा अन्योल भएको स्थानीय बताउँछन् । यहाँका कतिपय सीमावर्ती भारतीय सहरमा गएर पनि खोप लगाउन थालेका छन् ।

सदरमुकाम वीरगन्जका ५ हजार २ सय ७१ ज्येष्ठ नागरिकले पहिलो मात्रा र ४ हजार ८ सय ६० जनाले मात्र दोस्रो मात्रा लगाएका छन् । ठोरी गाउँपालिकाका ३ सय ३४ जनाले पहिलो र २ सय ४९ जनाले मात्र दोस्रो चरणको खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । पटेर्वासुगौली गाउँपालिकाका २ सय ३४ जनाले पहिलो र १ सय ७८ जनाले मात्र दोस्रो खोप लगाएका छन् । विन्दवासिनी गाउँपालिकाका ३ सय ८३ जनाले पहिलो चरणको र ३ सय ३० जनाले मात्र दोस्रो मात्रा लगाएका छन् । यस्तै, धोबिनी गाउँपालिकाको १ सय २१ जनाले पहिलो र ७४ जनाले मात्र दोस्रो मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । पोखरिया नगरपालिकाका ३ सय ५ जनाले पहिलो चरणको र २ सय ३६ जनाले मात्र दोस्रो चरणको खोप लगाएका छन् । सखुवाप्रसौनी गाउँपालिकाका १ सय ८५ जनाले पहिलो र १ सय ४५ जनाले दोस्रो, जगरनाथपुर गाउँपालिकाका २ सय ४२ जनाले पहिलो र १ सय ९१ जनाले दोस्रो चरणको खोप लगाएका छन् ।

बहदुरमाई नगरपालिकाको ५ सय २१ जनाले पहिलो चरणको र ४ सय १९ जनाले दोस्रो खोप लगाएको स्वास्थ्य कार्यालयले उल्लेख गरेको छ । पर्सागढी नगरपालिकाको ४ सय ८९ जनाले पहिलो चरणको र ३ सय ९७ जनाले दोस्रो चरणको खोप लगाएका छन् । जिराभवानी गाउँपालिकाको २ सय ७ जनाले पहिलो चरणको र १ सय ६१ जनाले दोस्रो चरणको खोप लगाएका छन् । पकाहामैनपुर गाउँपालिकाको ९३ जनाले पहिलो चरणको र ८४ जनाले दोस्रो चरणको खोप लगाएका छन् । कालिकामाई गाउँपालिकाका १ सय ५५ जनाले पहिलो चरणको र १ सय २६ जनाले दोस्रो चरणको खोप लगाएका छन् ।

हाल पर्सामा नारायणी अस्पतालमा मात्र कोरोना संक्रमित बिरामी भर्ना छन् । ५ महिला र ३ पुरुष गरी हाल ८ संक्रमित उपचाररत छन् । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या २१ छ । जिल्लामा पहिलो चरणमा ५५ र दोस्रो चरणमा १ सय ४० गरी १ सय ९५ जनाको संक्रमणबाट मृत्यु भएको छ । त्यसैगरी अन्य जिल्लामा घर भई पर्सामा मृत्यु हुनेको संख्या दुवै लहरमा गरी २ सय ३३ पुगेको छ ।

प्रकाशित : श्रावण १२, २०७८ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?