१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

भारतबाट ४ नेपाली युवतीको उद्धार

शंकर आचार्य

पर्सा — भारतबाट ४ नेपाली युवतीको उद्धार गरिएको छ । पर्सा प्रहरी र माइती नेपाल वीरगन्ज आवधिक गृहको संयुक्त टोलीले भारतमा आर्केस्ट्रामा नृत्य गर्ने काममा लगाइएका ४ युवतीलाई उद्धार गरी नेपाल फर्काएको छ । वीरगन्जको सीमावर्ती सहर भारतीय सहर रक्सौलबाट करिब २५ किमि दक्षिणपूर्वमा रहेको सहर छौडा दानोबाट ती युवतीहरुलाई उद्धार गरी ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार उद्धार गरी ल्याइएकाहरुमध्ये ३ जना झापाका र एक जना सुनसरीका हुन् । जसमध्ये एक जना १६ वर्षीय र बाँकी ३ जना १९/२० वर्ष उमेर समूहका छन् । सोधपुछको क्रममा ४ जनामध्ये एक जना पहिलेदेखि नै भारतमा आर्केस्ट्रामा नृत्य गर्दै आएकी र उनले नै दुई जनालाई आकर्षक रकम पाइने बताउँदै भारत लगेका थिए । गत मंगलबार बाराको कवही नाका हुँदै उनीहरु भारत प्रवेश गरेका थिए ।

माइती नेपाल वीरगन्ज आवधिक गृह प्रमुख संगीता पुरीका अनुसार उद्धार गरिएका युवतीहरुलाई आउँदो अगस्ट १ तारेखमा एक बर्थ डे कार्यक्रममा नृत्य गर्नका लागि तयार गरिँदै थियो । उनीहरुलाई दैनिक भारु १ हजार ५ सय रुपैयाँ पारिश्रमिक दिने बताइएको थियो । उनीहरु आवद्ध आर्केस्ट्रा समूह एक बंगाली महिलाले सञ्चालन गरिरहेकी छन् । विगतमा पनि यसरी नेपाली किशोरी तथा युवतीहरुलाई सीमावर्ती भारतीय सहर तथा त्यसका आसपासका अन्य सहरहरुमा पेसेवर नृत्य गराउने आर्केस्ट्रा समूहमा काम गराउनका लैजाने गरिन्थ्यो । दुई वर्षयता यो प्रवृत्तिमा कमी आएको जस्तो देखिएपनि गत वर्ष भने २ पटकको लकडाउनमा यस्तो प्रवृत्ति झनै बढेको संकेत मिलेको पुरीले बताइन् ।

छौडादानोमै अर्को अर्केस्ट्रा समूहमा १६ नेपाली युवतीहरु यो पेसामा आवद्ध रहेको प्रत्यक्ष देखिएपनि आर्केस्ट्रा सञ्चालकले उनीहरुलाई त्यहाँबाट भगाएर लगेको पुरीले बताइन् । डिएसपी खनालले भारतीय प्रहरीसँग समन्वय गरेर उनीहरुलाई पनि उद्धार गर्ने प्रयास जारी रहेको बताए ।

७ वर्षयता नेपाली युवतीहरु ठूलो संख्यामा यसरी आर्केस्ट्रा नृत्य समूहमा जानेर वा नजानेर जोडिन पुगेका छन् । यसरी आर्केस्ट्रामा नृत्य गर्न पुगेकाहरुलाई अन्य र आकर्षक कामको लोभ दिएर भारत लगिएको हुन्छ । नेपालका नजिकका सीमावर्ती भारतीय बजारहरुमा अवैध रुपमा चलाइने आर्केस्ट्रा समूहमा युवतीहरुलाई भद्दा नृत्य गराइने भएकाले यस्तो समूहको माग पनि बढ्दो छ ।

प्रकाशित : श्रावण ११, २०७८ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?