कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कोसीको कनेक्टिङ बाँधमा कटान

बाँध भत्के ३ सयभन्दा बढी परिवार विस्थापित हुने जोखिम
अवधेशकुमार झा

सप्तरी — कोसी नदीको पश्चिमी तटबन्धअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ मा रहेको कनेक्टिङ बाँध भत्किने जोखिम बढेको छ । शुक्रबारदेखि डलवास्थित कनेक्टिङ बाँधमा कटान हुन थालेपछि भत्किने खतरा बढेको हो ।

कोसीको कनेक्टिङ बाँधमा कटान

उक्त कनेक्टिङ बाँध भत्के तत्कालै ३ सयभन्दा बढी परिवार विस्थापित हुनेछन् भने मूल पश्चिमी तटबन्धलाई समेत क्षति गर्दै बाढी बस्तीतर्फ पस्ने खतरा छ । हनुमाननगर कंकालिनी–१४ का धिरेन्द्रकुमार यादवले विगतमा पानीसमेत नजाने स्थानमा यस वर्ष कटान हुन थालेको बताए । तर, कोसी योजनाका अधिकारी र ठेकेदारले कटानबारे ध्यान नदिएको उनले गुनासो गरे ।

‘यहाँ कनेक्टिङ बाँध भत्कियो भने हाम्रो बस्तीका ३ सय घर त तत्कालै विस्थापित हुन्छन् । मूल बाँधमा समेत क्षति पुर्‍याएर कैयौं बस्तीको उठीबास हुन्छ,’ उनले भने, ‘कनेक्टिङ बाँध भत्किने डरले दुई दिनयता सुत्न पाएका छैनौं ।’ अर्का स्थानीय युसुफ मियाँले कटान नियन्त्रणका नाममा टालटुल मात्र भइरहेको आरोप लगाए । ‘जतिबेला ध्यान दिनुपर्ने हो त्यतिबेला कोसी योजनाका अधिकारी र भारतीय ठेकेदारहरू ध्यान दिँदैनन् । गाउँलेहरूले पटकपटक भन्दा मान्दैनन् तर अहिले कटान हुँदा टालटुल गर्न सुरु गरेका छन्,’ उनले भने ।

कोसी योजनाका ठेकेदारले शनिबार साँझदेखि बाँस हाल्नुका साथै बालुवाको बोरा राखेर कटान भइरहेको बाँध मर्मत थालेका छन् । आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरूले कटान भइरहेको स्थलमा पुगेर जानकारी लिएका छन् । भारतीय पक्षले तत्काल मर्मत गरिरहे पनि दीर्घकालीन रूपमा काम नभए खतरा हुन सक्ने जिल्लाका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले बताए । ‘अहिले बाढीले हानिरहेको स्थानबाट उत्तरतिर च्यानल खनेर पानीको चाप कम गर्नुपर्ने सुझाव दिएका छौं,’ श्रेष्ठले भने ।

कटानस्थलमा पुगेका पूर्वसिँचाइ मन्त्री उमेश यादवले कटानका कारण स्थिति खतरापूर्ण बनेको बताए । ‘हल्का ढंगबाट लिइए ठूलो क्षति हुन सक्छ,’ पूर्वमन्त्री यादवले भने, ‘तीनै तहका सरकार गम्भीर बन्नुपर्छ । मर्मत र निर्माणको जिम्मा लिएको भारतीय पक्ष पनि तत्काल कटान रोक्न र दीर्घकालीन रूपमा तटबन्ध बलियो गर्नेतर्फ लाग्नुपर्छ ।’

प्रकाशित : श्रावण ११, २०७८ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?