कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कटान रोक्न बर्सेनि टालटुल मात्रै

पक्की बाँध बनाउन बजेट अभाव, आधा दर्जन बस्ती जोखिममा
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीमा खोलाले क्षति पुर्‍याएको क्षेत्रमा दीर्घकालीन सुरक्षा उपाय नअपनाउँदा बर्सेनि कटान बढ्दो छ । कटान क्षेत्रमा टालटुले मर्मत गर्दा जोखिम बढेको हो ।

कटान रोक्न बर्सेनि टालटुल मात्रै

सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ शिवनगरस्थित लखन्देही खोलामा आएको बाढीले यस वर्ष पनि बाँध भत्काएको छ । गत वर्ष यही स्थानमा बाढीले बाँध कटान गरेपछि जनताको तटबन्ध कार्यालयले ‘परकोपाइन’ विधिबाट बाँस गाडेर तत्कालका लागि मर्मत गरेको थियो । तर दीर्घकालीन उपाय नखोजिँदा यस वर्ष पनि बाढीले बाँध भत्काएको हो । टालटुले मर्मत गर्दा जोखिम बढेको स्थानीय राजगिर रायले बताए । ‘गत वर्ष नै बाँधको स्थायी मर्मत गरेको भए यस वर्ष जोखिम हुने थिएन,’ उनले भने, ‘टालटुले मर्मत गर्दा क्षति हुनु स्वाभाविक हो ।’

चक्रघट्टाको शिवनगरसहित लखन्देही खोलाले तीन स्थानमा भत्काएको बाँधलाई फेरि पनि टालटुल गरेर कटान रोकथामको प्रयास थालिएको छ । अस्थायी मर्मतका लागि जलस्रोत तथा सिँचाइ विभागले सहयोग गर्ने प्रतिबद्धतासहित निर्देशन दिएपछि तटबन्ध कार्यालयले बोरामा बालुवा हालेर काम सुरु गर्ने भएको हो । तटबन्ध कार्यालयका प्रमुख रवीन्द्र शर्माले हिउँदमा पक्की बाँध निर्माण गरिने जानकारी दिए । ‘बजेट अभावले गत वर्षदेखि पक्की बाँध बनाउन सकेका थिएनौं, यस वर्ष पनि त्यही स्थानमा भत्किएको छ,’ शर्माले भने, ‘विभागबाट बजेटसहितको निर्देशन आएपछि तत्कालका लागि टालटुल गरेर वर्षा समाप्त भएपछि पक्की बाँध बन्नेछ ।’

शुक्रबार लखन्देहीले कटान गरेको क्षेत्रको अवलोकनमा पुगेका विभागका महानिर्देशक मधुकरराज भण्डारी र उपमहानिर्देशक कृष्ण नेपालसहितको टोलीले बाँध मर्मतका लागि निर्देशन दिएको थियो । लखन्देहीको बहावलाई परिवर्तन गर्दै बाँध मर्मतको काम तत्काल सुरु गरिने तटबन्ध कार्यालयले जनाएको छ । सर्लाहीको मध्यभाग भएर बग्ने लखन्देही खोलाले चक्रघट्टाको शिवनगर, कौडेना गाउँपालिका–७ सक्रौल र मलंगवा नगरपालिका–५ भाँड्सरमा रहेको बाँध भत्काएको छ । बाँध भत्किएपछि यस आसपासका आधा दर्जन बस्ती उच्च जोखिममा छ । जोखिम क्षेत्रको बिहीबार प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायले समेत निरीक्षण गरेको थियो ।

खोला नियन्त्रणका लागि तटबन्ध कार्यालयमा पटक–पटक जानकारी गराउँदा पनि बाँध निर्माणका लागी कुनै सहयोग नपाएको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादवको गुनासो छ । कतैबाट सहयोग नपाएपछि पालिकाले एक करोड बजेट तटबन्धका लागि छुट्याएको थियो । ‘तर प्राविधिक रूपमा काम गर्न नसकिएपछि त्यो रकम त्यतिकै थन्केर बसेको छ,’ यादवले भने ।

लखन्देहीले भत्काएको बाँध कस्नका लागि दीर्घकालीन रूपमा तटबन्धको पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए । उनले जलस्रोत तथा सिँचाइ विभागबाट पक्की बाँध बनाउने आश्वासन पाएको जानकारी दिए । ‘दीर्घकालीन तटबन्धका लागि ठूलो रकम चाहिन्छ, त्यसका लागि सिँचाइ विभागबाट आश्वासन पाएका छौं,’ उनले भने, ‘तटबन्धका लागि केही समय लाग्ने भए पनि तत्कालीन रोकथामको काम सुरु हुँदै छ ।’

प्रकाशित : श्रावण १०, २०७८ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?