एकै जिल्लामा ६ अर्ब १५ करोड फ्रिज

छिन्नमस्ता गाउँपालिकामा पुँजीगत खर्च शून्य
अवधेशकुमार झा

राजविराज — गत आर्थिक वर्षमा सप्तरीका लागि आएको बजेटको ठूलो हिस्सा खर्च हुन सकेन । संघीय, प्रदेश र स्थानीय तहसमेतको गरी जिल्लामा ६ अर्ब १५ करोड रुपैयाँ खर्च हुन नसकेको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय राजविराजका प्रमुख मनोज साहका अनुसार संघ र प्रदेशतर्फको बजेटमध्ये ३ अर्ब १९ करोड ८३ लाख ९१ हजार र स्थानीय तहतर्फ २ अर्ब ९५ करोड १६ लाख ५५ हजार रुपैयाँ खर्च हुन सकेको छैन । संघीय सरकारबाट चालुतर्फ १० अर्ब ७० करोड ३७ लाख बजेट आएकोमा त्यसको ९५ प्रतिशत १० अर्ब १६ करोड ८१ लाख ६० हजार खर्च भएको छ । संघीय सरकारको कुल बजेटमध्ये चालुतर्फकै ५३ करोड ५५ लाख ४९ हजार खर्च हुन नसकेको हो ।

संघीय सरकारअन्तर्गत नै पुँजीगततर्फ ४५ प्रतिशत रकम मात्र खर्च भएको छ । पुँजीगततर्फ ४ अर्ब २२ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा १ अर्ब ८९ करोड ७५ लाख ६८ हजार रुपैयाँ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख साहले बताए । संघको पुँजीगततर्फ २ अर्ब ३२ करोड ८४ लाख ३१ हजार रुपैयाँ खर्च हुन सकेन । पुँजीगततर्फ खर्च हुन नसकेको रकममध्ये सबैभन्दा बढी महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक योजना पूर्वी खण्डको बजेट बढी हो । उक्त योजनाका लागि १ अर्ब ९८ करोड रुपैयाँ छुट्याएकोमा २२ दशमलव ७७ प्रतिशत ४५ करोड १२ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

यसैगरी प्रदेश सरकारअन्तर्गत बजेटमा चालुतर्फ ७४ करोड ८५ लाख बजेट विनियोजन गरिएकोमा ६९ करोड ६५ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ । ९४.६ प्रतिशत खर्च भएकोमा ५ करोड १९ लाख २८ हजार रुपैयाँ खर्च हुन नसकेको हो । यस्तै प्रदेश सरकारकै पुँजीगततर्फ ७४ दशमलव ४७ प्रतिशत बजेट मात्र खर्च भएको छ । कोलेनिका प्रमुख साहका अनुसार प्रदेश सरकारबाट सप्तरीमा पुँजीगततर्फ १ अर्ब १० करोड ६४ लाख बजेट रहेकोमा ८२ करोड ३९ लाख ५८ हजार रुपैयाँ मात्र खर्च भएको छ । २८ करोड २४ लाख ८२ हजार रुपैयाँ प्रदेशअन्तर्गत पुँजीगततर्फ खर्च हुन नसकेको हो ।

गत आवमा सप्तरीका १८ वटै स्थानीय तहमा गरी १० अर्ब ४४ करोड ८० लाख बजेट विनियोजित थियो, जसमध्ये चालुतर्फ ६ अर्ब ६७ करोड ८९ लाख बजेट रहेकोमा ५ अर्ब ७ करोड ४ लाख रुपैयाँ खर्च भएको छ । स्थानीय तहले चालुतर्फ ७६ प्रतिशत बजेट खर्च गरेका छन् । १ अर्ब ६० करोड ८५ लाख रुपैयाँ खर्च गर्न सकेनन् । पुँजीगततर्फ स्थानीय तहहरूले ३ अर्ब ७६ करोड ८९ लाख ७५ हजार रुपैयाँ बजेटमध्ये २ अर्ब ४२ करोड ५९ लाख ४१ हजार मात्र खर्च गरेका छन् । पुँजीगततर्फको ३५ प्रतिशत बजेट अर्थात् १ अर्ब ३४ करोड ३० लाख ३४ हजार रुपैयाँ जिल्लाका स्थानीय तहले खर्च गर्न सकेनन् ।

गत आर्थिक वर्षकै गाउँसभा गर्न नसकेको छिन्नमस्ता गाउँपालिकाले एक रुपैयाँ पनि पुँजीगत खर्च गर्न सकेन । कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख साहका अनुसार गत आर्थिक वर्षमा छिन्नमस्ता गाउँपालिकाको कुल बजेट ५१ करोड ३७ लाख ७ हजार रहेकोमा १७ दशमलव ९७ प्रतिशत मात्र खर्च भएको छ ।

उक्त खर्च सबै चालुतर्फ तलब भत्तामा खर्चिएको हो । उक्त पालिकाले कुल बजेटमध्ये ९ करोड ३३ लाख १४ हजार रुपैयाँ मात्र खर्च गर्न सकेको छ । जनप्रतिनिधिबीचको विवाद, प्रमुख प्रशासकीय अधिकृत नहुनु, गाउँसभा समयमा गर्न नसक्नुका कारणले गाउँपालिकाले बजेट खर्च गर्न नसकेको हो ।

प्रकाशित : श्रावण १०, २०७८ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?