फर्जी बिलको भुक्तानी रोक्दा सरुवा- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फर्जी बिलको भुक्तानी रोक्दा सरुवा

नगर प्रमुख र प्रशासकीय अधिकृतको मिलेमतोमा डेढ करोडभन्दा बढीको फर्जी बिल बनाएर चेक काट्न दबाब दिइएको सरुवा गरिएका लेखा अधिकृतको दाबी
भूषण यादव

वीरगन्ज — फर्जी बिलको भुक्तानी गर्न नमान्दा पर्सागढी नगरपालिकाले लेखा अधिकृतलाई हाजिर गर्न नदिई फिर्ता पठाएको खुलेको छ । आर्थिक वर्ष सकिएको तेस्रो दिनमा सातौं तहका लेखा अधिकृत रामकुमार कुशवाहालाई जिन्सी सामानहरू बरबुझारथ गरी महालेखा नियन्त्रण कार्यालय काठमाडौंमा हाजिर हुन जाने गरी फिर्ता पठाइएको पत्र काटिएको छ ।

गत असार मसान्तमा एक करोड ५० लाख रुपैयाँभन्दा बढीको फर्जी बिल बनाएर चेक काट्न दबाब दिएको र आफूले फर्जी भुक्तानीमा रोक लगाएपछि नगरपालिकाले फिर्ता पठाएको कुशवाहाको दाबी छ ।

लेखा शाखा स्रोतका अनुसार गत आवमा सामुदायिक विद्यालयहरूमा २० लाख रुपैयाँको सफ्टवेयर जडान गर्ने योजना थियो । तर कामै नभएकोमा पनि भुक्तानीका लागि बिल पेस गरिएको थियो । व्यक्तिगत घटना दर्ता शिविर खर्चका लागि १२ लाख रुपैयाँको बिल पेस भएको थियो । जबकि त्यस्तो शिविर सञ्चालन नै भएको थिएन ।

कोरोनाको दोस्रो लहरको क्रममा नगरपालिकाले वीरगन्जको होटल साह दरबारमा मिनी आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको थियो । जसमा ८ जना संक्रमित बसेका थिए । होटलमा बसेबापतको ४ लाख ७० हजार ३ सय ६९ रुपैयाँ र संक्रमितका लागि सञ्जय होटलबाट खाना र खाजा व्यवस्थापनको ३ लाख ९१ हजार ५ सय ७० रुपैयाँ गरी ८ लाख ६९ हजार ९ सय ३९ रुपैयाँको बिल पेस भएको थियो ।

यसैगरी, कोरोनाको पहिलो लहरमा वीरगन्जकै होटल कुमु प्यालेसमा नगरपालिकाले मिनी आइसोलेसन सेन्टर र क्वारेन्टाइन सञ्चालनमा ल्याएको थियो । १६ जना संक्रमित १० दिन बस्दा ११ लाख ८० हजार ९ सय ८० रुपैयाँको बिल पेस भएको थियो । आइसोलेसन सेन्टर सञ्चालन गरेबापत होटल कुमुको ५ लाख ५५ हजार ९ सय ६० र सगुन होटलबाट संक्रमितका लागि खाना र खाजाका लागि ६ लाख २५ हजार रुपैयाँ खर्च भएको बिलमा उल्लेख थियो ।

कोरोना संक्रमितको व्यवस्थापनमा १० लाख रुपैयाँभन्दा बढीको फर्जी बिल पेस गरिएकाले भुक्तानी नगरिएको लेखा शाखाले पुष्टि गरेको छ । यसैगरी, ४५ जना ज्येष्ठ नागरिकलाई सय रुपैयाँको फलफूल वितरण गरी ५ लाख रुपैयाँको बिल पेस गरिएको थियो । एक कन्सल्टेन्सीसँग पाँचौं नगरसभामा विनियोजन विधेयक प्रस्तुत गर्न लगाई ५ लाख रुपैयाँको बिल पेस गरिएको थियो । कानुनतः उपप्रमुख विनियोजन विधेयक पेस गर्नुपर्ने हुन्छ । विनियोजन विधेयक पेस गर्नबाट वञ्चित पारिएकामा असार १४ मा उपप्रमुख अर्चना चौधरीले पत्रकार सम्मेलन गरी त्यसको विरोधसमेत गरेकी थिइन् ।

असारमै निकालिएको १ करोडको कोटेसन गोप्य राखी बाराको एक फर्मसँगको मिलेमतोमा बीउबिजन, धारा, अर्गानिक मल, मोटर, ह्युमपाइप खरिद गरेको भन्दै बिल प्रस्तुत गरिएको थियो । यसमा प्रत्येक शीर्षकमा २०/२० लाख रुपैयाँ छुट्याइएको थियो । उक्त भुक्तानीसमेत लेखा शाखाले रोकेको थियो । धारा नै खरिद नगरी ३० लाख रुपैयाँको बिल बनाएर ल्याइएको शाखाको भनाइ छ । ‘झन्डै डेढ करोड रुपैयाँको फर्जी बिल बनाई भुक्तानी दिन दबाब दिइरहेका थिए,’ लेखा अधिकृत कुशवाहा भन्छन्, ‘चेक काट्न नमान्दा आर्थिक वर्ष सकिएको दुई दिनपछि नै सरुवा गरिएको पत्र थमाइयो ।’

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवले लेखा अधिकृत कुशवाहाले आगामी आर्थिक वर्षमा आर्थिक रूपमा व्ययभार थोपार्ने मनसायले काम गरेकाले हाजिर नगराउने निर्णय भएको जनाए । नगरपालिकाले साउन ३ मा कुशवाहालाई गरेको पत्राचारमा ‘आगामी आर्थिक वर्षमा आर्थिक रूपमा व्ययभार थोपार्ने मनसाय राखी काम गर्नुभएकोमा र विगत वर्षमा समेत आफ्नो मनोमानी योजनाको रकम रोक्का गर्ने भुक्तानी नगर्ने, नगर प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतको निर्देशनविपरीत काम गर्ने, कर्मचारीहरूमा एकआपसमा झगडा गर्नेजस्ता गैरजिम्मेवार क्रियाकलाप गर्ने गरेको कारण तपाईं साउन ३ देखि कार्यालयमा हाजिरसमेत नगराई तपाईंको जिम्मामा रहेको नगदी जिन्सी सामानहरू यथाशीघ्र असुलउपर गर्नका लागि कार्यालयलाई निर्देशन दिने भनी नगर कार्यपालिका बोर्डको साउन २ को बैठकको निर्णयअनुसार तपाईंको जिम्मा रहेका सामानहरू यथाशीघ्र बरबुझारथ गरी सम्बन्धित महालेखा नियन्त्रण कार्यालय काठमाडौंमा हाजिर हुन जाने गरी फिर्ता पठाइएको व्यहोरा जानकारी गराइएको’ उल्लेख छ ।

निमित्त प्रमुख यादवका अनुसार महालेखा नियन्त्रक कार्यालयले असार २८ मा पत्राचार गरी असार ३० को मध्यरातपश्चात् चेक काट्न नमिल्ने निर्देशन दिएको थियो । तर कुशवाहा उक्त मितिको दिउँसो २ बजेपछि नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई समेत जानकारी नगराई सम्पर्कविहीन भई बसेका थिए । ‘नगर प्रमुख र प्रशासकीय अधिकृतकै मिलेमतोमा कार्यक्रम नै नभएको योजनाको नाममा फर्जी बिल भौचर र टिप्पणी आदेश तयारी गरी लेखा शाखामा पेस गरिएको थियो,’ कुशवाहा भन्छन्, ‘जसको भुक्तानी गर्न मैले मानिनँ ।’

प्रकाशित : श्रावण ९, २०७८ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्

स्वास्थ्य उपकरण त्यसै थन्किए

दक्ष जनशक्तिको व्यवस्था नहुँदा भेन्टिलेटर चलाउने अवस्था भएन
अर्जुन राजवंशी

बिर्तामोड — असार पहिलो साता गायिका आनी छोइङ डोमा फाउन्डेसन र प्रारम्भ सामाजिक संस्था ललितपुरले संयुक्त रूपमा बिर्तामोड र अर्जुनधारा नगरपालिकालाई एक–एक थान भेन्टिलेटर, दुई–दुई थान अक्सिजन कन्सन्ट्रेटर र १५–१५ थान पीपीई सेट सहयोग गरेका थिए ।

अक्सिजन अभाव टार्न तथा कोभिडका गम्भीर बिरामीको उपचारमा सहयोग पुर्‍याउन भेन्टिलेटरसहितका स्वास्थ्य उपकरण सहयोग गरेको गायिका आनीले बताएकी थिइन् ।

ती मेसिन अहिले पनि कार्यालयको स्टोर बाहिर नै राखिएका छन् । ‘भेन्टिलेटर सहयोगमा आयो तर अहिले चलाउने अवस्था छैन,’ नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्काले भने, ‘दक्ष जनशक्तिको व्यवस्था नभई भेन्टिलेटर चलाउने कुरा हुँदैन ।’ उनका अनुसार नगरपालिकासँग १० वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन छन् । ‘१० मध्ये अहिले ३ वटा मात्र प्रयोगमा छन्,’ उनले भने ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले असार ८ मा जिल्लाका १० वटा पालिकालाई १२ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन वितरण गरेका थिए । तर सबैजसो पालिकाले अक्सिजन कन्सन्ट्रेटर पूर्णरूपमा सञ्चालनमा ल्याउन सकेका छैनन् । सिटौलाबाट ३ वटा सहयोग पाएपछि भद्रपुर नगरपालिकासँग अहिले ९ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन छन् । तर ती मेसिनहरू प्रयोगमा छैनन् ।

‘संक्रमितको चाप बढेका बेला ३ वटा कन्सन्ट्रेटर केही समय चलायौं । खासै प्रभावकारी देखिएन’ भद्रपुरका कोभिड फोकल पर्सन मनोज भट्टराईले भने, ‘सुरुमा त राम्रो हुन्छ भन्ने सुनेर नगरपालिकाले नै २ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन खरिद गरेको थियो । तर अक्सिजन फ्लो राम्रो नहुने भएकाले प्रयोगमा आएको छैन ।’

अर्जुनधारा नगरपालिकासँग २ वटा भेन्टिलेटर मेसिन छन् । दुवै मेसिन कोभिडको दोस्रो लहरपछि सहयोग प्राप्त भएका हुन् । तर जनशक्तिको अभावमा दुवै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन् । ‘अहिले दुईवटै भेन्टिलेर प्रयोगमा ल्याउन सकेका छैनौं,’ मेयर हरि रानाले भने, ‘सामान त पायौं । तर भेन्टिलेटर चलाउन सक्ने विषयविज्ञ डाक्टरलगायतका जनशक्ति हामीसँग छैन ।’ उनले भेन्टिलेटरबाट सेवा लिन अझै एक वर्ष लाग्न सक्ने बताए । ‘विज्ञ डाक्टर पठाउने कुरा छ । भयो भने भेन्टिलेटर चलाउन सकिन्छ,’ उनले भने ।

दमक नगरपालिकाले छुट्टै कोभिड अस्पताल सञ्चालन गरेको छ । भुटानी शरणार्थी शिविरनजिक कोभिड अस्पतालमा संघीय सरकारले उपलब्ध गराएको एउटा भेन्टिलेटर राखिएको छ । तर दक्ष जनशक्तिको अभावमा उक्त भेन्टिलेटरबाट बिरामीलाई सेवा दिन नसकिएको नगरपालिकाका स्वास्थ्यकर्मीले बताए । जनशक्ति व्यवस्थापन गरेर भेन्टिलेटर सञ्चालनमा ल्याउने प्रक्रिया सुरु गरेको दमक अस्पतालका कोभिड फोकल पर्सन देवी दंगालले जानकारी दिइन् ।

मेची प्रादेशिक अस्पतालसँग १० वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन छन् । ती सबै मेसिनलाई उपयोग गर्न नसकिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.टंक बाराकोटीले बताए । मेची अस्पतालमा दुईवटा भेन्टिलेटर छन् । तर लामो समयदेखि एउटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहँदै आएको छ ।

कोभिडको दोस्रो लहरमा राष्ट्रिय आविष्कार केन्द्रले ५ वटा भेन्टिलेटर अस्पताललाई सहयोग गरेको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए । ती भेन्टिलेटर प्रयोगमा ल्याउन सकिएको छैन ।

प्रकाशित : श्रावण ९, २०७८ १२:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×