जसपा नेता प्रमोद गुप्ता र सिंह जेल चलान 

लक्ष्मी साह

बारा — जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य प्रमोद गुप्तासहित दुई जना जेल चलान भएका छन् । जिल्ला अदालत बारामा बिहीबार हाजिर हुन गएपछि अदालतले प्रहरीलाई खबर गरी उनीहरुलाई वीरगन्ज कारागार चलान गरेको हो । गुप्तासँगै जसपाका स्थानीय नेता अरुण सिंह पनि जेल चलान भएका छन् । 

जसपा नेता प्रमोद गुप्ता र सिंह जेल चलान 

२०७४ माघको मधेस आन्दोलनको क्रममा प्रहरीको गोली लागी भरत चोकमा एक हिफाजत मियाँको निधन भएपछि उनको पोस्टमार्टम रिपोर्टमा चिकित्सकले गडबडी गरेको भन्दै अस्पतालमा प्रदर्शन गर्ने क्रममा आन्दोलनकारीहरुले चिकित्सकको निजी कार जलाएका थिए । सोही आरोपमा प्रहरीले सभासद गुप्ता र सिंहको नेतृत्वमा गाडी जलाएको भन्दै उनीहरुमाथि मुद्दा चलाएको थियो ।

सप्तरी राजविराज नगरपालिका ३ घर भई कलैया अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेड शैलेश झाको जाहेरीले उनीहरुमाथि मुद्दा चलाइएको थियो । त्यसपछि अदालतले एकतर्फी रुपमा दुबैलाई जनही ६/६ महिना कैद र ९ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा पीडितलाई क्षतिपूर्ति भराउने गरी जरिवाना गर्दै २०७४ माघ २५ मा कैद सजायको फैसला गरेको थियो ।

मुलुकी ऐन, आगो लगाउने महलको १ र ४ बमोजिम फैसला गरिएको अदालतले जनाएको छ । त्यही कैद सजाय भुक्तान गर्न अदालतले दुबैलाई कारागार पठाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले अदालतको आदेशमा बिहीबार राति उनीहरुलाई कारागार पठाइएको पुष्टि गरे । गुप्ताले राजनीतिक मुद्दा भन्दै खारेज गराउन पार्टीका अध्यक्ष उपेन्द्र यादवसमक्ष पटक-पटक आग्रह गरेका थिए । गुप्ता बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित थिए । उनी कलैया उपमहानगर पालिका-४ निवासी हुन् भने सिंह फेटा गाउँपालिका बडकी फुलवरिया निवासी हुन् ।


प्रकाशित : श्रावण ८, २०७८ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?