कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

लखन्देही खोलाले भत्काएको बाँध तत्काल मर्मत हुने

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीस्थित लखन्देही खोलाले भत्काएको बाँधको मर्मत जलस्रोत तथा सिँचाइ विभागको आर्थिक सहयोगमा जनताको तटबन्ध कार्यालयले गर्ने भएको छ । बाँध मर्मतका लागि बजेट अभाव भएका बेला विभागले आर्थिक सहयोग गर्ने भन्दै मर्मतको निर्देशन दिएको हो ।

लखन्देही खोलाले भत्काएको बाँध तत्काल मर्मत हुने

शुक्रबार लखन्देहीले कटान गरेको क्षेत्रको अवलोकनको क्रममा पुगेका विभागका महानिर्देशक मधुकरराज भण्डारी उपमहानिर्देशक कृष्ण नेपालसहितको टोलीले त्यस क्षेत्रमा जोखिम रहेको भन्दै तत्काल बाँध मर्मतका लागि जनताको तटबन्ध कार्यालयलाई निर्देशन दिएका हुन् । बाँध भत्काएर कटान गरिरहेको लखन्देहीको बहावलाई परिवर्तन गर्दै बाँध मर्मतको काम शनिबारबाटै सुरु गरिने छ ।

सर्लाहीको मध्यभाग भएर बग्ने लखन्देही खोलाले जिल्लाको तीन स्थानमा बाँध भत्काउँदै कटान सुरु गरेको थियो । खोलाको कटानले जिल्लाका आधा दर्जन बस्ती उच्च जोखिममा थियो । जोखिम क्षेत्रको बिहीबार प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा निकायले निरीक्षण गरेका थिए । खोलाको कटानले बस्ती नै जोखिममा रहेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि जलस्रोत तथा सिँचाइ विभागको ध्यान पुगेको हो । कटान क्षेत्रको अवलोकनपछि त्यस क्षेत्रमा जोखिम रहेको भन्दै आवश्यक बजेटसहित जनताको तटबन्ध कार्यालयलाई तत्कालै बाँध मर्मत गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए ।

प्रमुख जिल्ला अधिकारी महतोले विभागको निर्देशनपछि तटबन्ध कार्यालयले बाँध मर्मतका लागि आवश्यक तयारी थालेको जानकारी दिए । ‘खोलाले बाँध भत्काएपछि बस्ती जोखिममा रहेको समाचार आएपछि विभागको ध्यान आकर्षित भएर विभागका डिजी स्वंय उपस्थित भएर निरीक्षण गर्नुभयो, जोखिम रहेको भन्दै बजेट उपलब्ध गराउने बाचा गर्दै तत्काल बाँध मर्मत गर्न तटबन्ध कार्यालयलाई निर्देशन दिनुभएको छ,’ प्रजिअ महतोले भने, ‘भोलिदेखि नै काम सुरु हुन्छ, यसका लागि तटबन्ध कार्यालय व्यवस्थापनमा जुटिसकेको छ ।’ प्रजिअ महतोका अनुसार यसअघि बाँध मर्मतका लागि तटबन्ध कार्यालयमा बजेट अभाव रहेको थियो ।

लखन्देही खोलाले सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ शिवनगरमा, कौडेना गाउँपालिका–७ सक्रौलमा र मलंगवा नगरपालिका–५ भाँड्सरमा रहेको बाँध भत्काएको छ ।

प्रकाशित : श्रावण ८, २०७८ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?