कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

३४ वर्षदेखि कुवाकै भर

बस्ती बसेदेखि नै शुद्ध खानेपानीको माग गरिरहेका लमाहावासीको बिलौना सरकारले अझैसम्म सुनेको छैन
शिव पुरी

रौतहट — उनीहरूले खानेपानीको माग गरेको झन्डै ३४ वर्ष बितिसक्यो । कुवाको घमिलो पानी पिउन बाध्य चन्द्रपुर–६ लमाहावासीले शुद्ध खानेपानीका लागि गुहार लगाएको यतिका वर्ष बिते पनि सरकारी निकायले चासो देखाएका छैनन् ।

३४ वर्षदेखि कुवाकै भर

बस्तीनजिकको लमाहा खोलाको डिलमा १४ परिवारले कुवा बनाएका छन् । उनीहरू लामो समयदेखि त्यही कुवाको पानी पिउँछन् । कुवामा संकलन हुने पानी एउटा गाग्रीमा भर्न करिब २५/३० मिनेट लाग्छ । एक परिवारले ३/४ वटासम्म गाग्रीमा पानी भरेर घर लैजान्छन् । दिनभरका लागि यही पानी प्रयोग गर्नुको उनीहरूसँग अन्य विकल्प छैन ।

कुवामा खोलाको पानी थिग्रिएपछि मात्र प्रयोग गर्न मिल्ने उनीहरू सुनाउँछन् । वर्षाको बेला कुवा बगाए छानाको पानी छानेर पिउँछन् । खानेपानीको धारा जडान गरिदिन वर्षौंदेखि हारगुहार गरे पनि सुनवाइ नभएको स्थानीय कान्छीमाया तामाङले दुःखेसो पोखिन् । ‘सरकारी निकायमा धेरैपटक धाइसक्यौं,’ उनले भनिन्, ‘अब कसलाई भन्न जाऔं ? चुनावको बेला खानेपानीको व्यवस्था हुन्छ भनेर आश्वासन दिन्छन्, पछि नेताहरू फर्किएरै आउँदैनन् ।’

३४ वर्षअघि बसेको यो बस्तीमा तमाङ समुदायको बसोबास छ । २०४४ सालमा मकवानपुरको डाङडुंगे गाउँबाट बस्ती हटाइएपछि अधिकांश यही जंगलमा झुपडी बनाएर बसेका थिए । बस्तीमा खानेपानीको समस्या त छँदै छ, विद्युत् सेवा पनि पुगेको छैन । उनीहरू अझै टुकीकै भरमा छन् । यसले बालबालिकालाई पढ्नमा समस्या हुँदै आएको छ । आफैंले भोट दिएर जिताएका जनप्रतिनिधिले आफूहरूको दुःख नदेखेकोमा यहाँका स्थानीयलाई पिरोल्छ । ‘बस्तीमा एउटा पनि धारा छैन । धमिलो पानी पिउनुपर्छ । हामीले पक्की घर मागेका होइनौं नि । शुद्ध पिउने पानी मात्र मागेका हौं,’ स्थानीय सुकमाया वाइबाले भनिन् ।

चन्द्रपुरबाट ७ किलोमिटर पश्चिम गएपछि लमाहा बस्ती पुगिन्छ । चन्द्रपुर नगरपालिकाले वनक्षेत्रको बस्ती भन्दै यहाँ विकास निर्माणको काम गर्न आँट गरेको छैन । नगर प्रमुख रामचन्द्र चौधरीले लमाहा बस्तीमा खानेपानी समस्या समाधानबारे अहिलेसम्म कुनै योजना नबनाएको बताए ।

‘जंगलमा बस्ती छ । वनले केही गर्न दिँदैन,’ उनले भने, ‘बस्तीलाई अन्यत्र स्थानान्तरण गर्नुबाहेक विकल्प छैन ।’ प्र्रदेश २ का कांग्रेस सांसद धनलाल ठोकरले लमाहामा खानेपानीको धारा (चापाकल) राख्न खोज्दा मुहान भेट्टाउन नसकेपछि पानीको समस्या सुल्झिन नसकेको दाबी गरे ।

प्रकाशित : श्रावण ८, २०७८ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?