प्रयोगै नगरी ‘कबाड’ बन्यो कन्टेनर स्क्यानिङ मेसिन- प्रदेश २ - कान्तिपुर समाचार

प्रयोगै नगरी ‘कबाड’ बन्यो कन्टेनर स्क्यानिङ मेसिन

आधा घण्टामै कन्टेनरको एक्सरे गरेर त्यसभित्रका सामग्रीबारे विवरण दिने क्षमता भएको मेसिन १७ वर्षदेखि प्रयोगविहीन
शंकर आचार्य

पर्सा — उपयोग नै नगरी वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा राखिएको अत्याधुनिक कन्टेनर एक्सरे/स्क्यानर मेसिन ‘कबाड’ बनेको छ । करिब १७ वर्षदेखि बन्दरगाहमा थन्किएको यो मेसिन प्रयोगमै नल्याई थन्किएको हो ।

वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाह परिसरमा थन्किएको कन्टेनर स्क्यानिङ मेसिन । तस्बिर : शंकर/कान्तिपुर

तेस्रो मुलुकबाट विभिन्न सामग्री आयात गर्दा प्रयोग हुने कन्टेनरलाई स्क्यान गर्ने यो मेसिन त्यतिबेलै करिब २५ करोड रुपैयाँ पर्थ्यो । चिनियाँ न्युटेक कम्पनीले उत्पादन गरेको उक्त मेसिन चीन सरकारले नेपाललाई अनुदानमा दिएको थियो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत चूडामणि शर्मा कट्टेलका अनुसार २०६१ माघमा मेसिन सुक्खा बन्दरगाहमा ल्याइएको थियो । कन्टेनर स्क्यान प्रयोजनमा प्रयोग नभए पनि मेसिन हालसम्म तीन पटक बिग्रिसकेको छ । चीनबाटै प्राविधिक बोलाएर यसको मर्मत पनि गराउँदै आइएको छ । करिब १० वर्षअघि दोस्रो पटक मेसिन बिग्रिँदा मर्मत गर्न चिनियाँ प्राविधिक टोली यहाँ आएको थियो । उक्त टोलीले मेसिन मर्मत गरेर फर्किए पनि मुसाले तार काट्ने समस्या रहिरह्यो । त्यसपछि मेसिन सुरक्षित राख्न व्यवस्थित ग्यारेज निर्माण वा मुसा मार्न बिरालो पाल्नसमेत चिनियाँ प्राविधिक टोलीले सुझाव दिएको थियो ।

भन्सार प्रक्रियामा सहजीकरणका लागि अन्तर्राष्ट्रियस्तरका बन्दरगाह वा अध्यागमनमा यस्तो मेसिन उपयोगी मानिन्छ । त्यसबेला चीन सरकारले अनुदान दिएको अर्को मेसिन भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोगमा छ । ‘बढीमा आधा घण्टामा एउटा कन्टेनरको एक्सरे गरेर उक्त कन्टेनरभित्र रहेको सामग्रीबारे विवरण दिने क्षमताको यो मेसिन प्रयोगमा आएको भए आयातकर्ताहरू ठाउँठाउँमा गरिने झन्झटिलो जाँचबाट मुक्त हुने थिए,’ कट्टेलले भने ।

प्रयोग गर्दा विकिरण छोड्ने यो मेसिनको सञ्चालन मात्र नभई सुरक्षितसाथ राख्न हालसम्म बन्दरगाहमा भवनसमेत निर्माण गरिएको छैन । यसलाई वातानुकूलित भवनमा मात्र राख्नुपर्छ । हाल बन्दरगाहको गोदामको बाहिरतर्फको छानोमुनि राखिएको यो मेसिनले दैनिक घाम र हावा सहन्छ । यसका महँगा र महत्त्वपूर्ण उपकरणसमेत पुनः बिग्रिसकेका छन् । मेसिनलाई सञ्चालन गर्न कम्तीमा ३ सय ८० केभीए विद्युत् आवश्यक पर्छ ।

मेसिनलाई चुस्त राख्न सुरुवाती समयमा प्रत्येक महिना एक पटक जेनेरेटरबाट मेसिन चलाउने गरिन्थ्यो । मेसिनले एक घण्टामा कम्तीमा १२ लिटर डिजेल खपत गर्छ । सुरुदेखि नै यो उपकरण सुक्खा बन्दरगाहमा राखिए पनि यसको ग्यारेज भने करिब ८ वर्षअघि वीरगन्ज भन्सार परिसरमा निर्माण गरिएको थियो ।

भन्सार विभागले यो मेसिन विशेषगरी वीरगन्ज भन्सारलाई लक्षित गरी पठाएको थियो । मेसिनको आम्दानीसमेत उक्त भन्सारमै जोडिने भनिए पनि मेसिन भने सधैं सुक्खा बन्दरगाहमै छ । वीरगन्ज भन्सारको ग्यारेज पनि स्क्यानर मेसिन नअट्ने गरी बनाइएकाले केही वर्ष उक्त ग्यारेज भन्सार एजेन्टहरूका लागि ब्रोकर मोडल कक्षका रूपमा उपयोग गरिएको थियो । उक्त ग्यारेज करिब ३० लाख रुपैयाँ लागतमा निर्माण गरिएको थियो ।

यो मेसिन भन्सारले मात्र नभई राजस्व अनुसन्धान कार्यालय, प्रहरीले समेत राजस्व चुहावट नियन्त्रण तथा सुरक्षा जाँचका लागि समेत प्रयोग गर्न सक्छन् । मेसिन चलाउन सुक्खा बन्दरगाह भन्सारमा एक अपरेटरको दरबन्दीसमेत थियो । पछिल्ला अपरेटर सूर्य नेपाल यहाँबाट सरुवा भई करिब ८ वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएपछि अर्का अपरेटर आएकै छैनन् । सुरुमा चिनियाँ अपरेटर आएर मेसिन सञ्चालन गरेर फर्किएपछि भन्सार विभागले दुई प्राविधिक र चार जना बहिदारलाई चीनको बेइजिङमा एकमहिने तालिम लिनसमेत पठाएको थियो । तालिम लिएर आएका तत्कालीन बहिदारहरू हाल मुखिया, नायब सुब्बा र खरिदारमा बढुवा भई विभिन्न भन्सार कार्यालयमा कार्यरत छन् ।

पटक–पटक बिग्रनु र सञ्चालन गर्न सक्ने अपरेटर नहुँदा मेसिन प्रयोगविहीन भएको सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत कट्टेलको भनाइ छ । एक दशकअघि नै चिनियाँ प्राविधिक टोलीले मेसिनको निरीक्षण गरी काम नलाग्ने घोषणा गरेको उनले बताए । ‘त्यतिबेलै चिनियाँ टोलीले यो मेसिन अब उपयोगविहीन भइसकेको ठहर गरेको थियो,’ उनले भने, ‘विज्ञ टोलीले नै मर्मत सम्भार हुन नसक्ने घोषणा गरेपछि मेसिन अब कबाड नै भयो ।’

प्रकाशित : श्रावण ८, २०७८ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्

रेडपान्डा क्षेत्रमा नपस्न अपिल

असारदेखि असोजसम्म बच्चा जन्माउने–हुर्काउने भएकोले संवेदनशील
कान्तिपुर संवाददाता

ताप्लेजुङ — रेडपान्डा पाइने जंगल क्षेत्रमा असोजसम्म प्रवेश नगरिदिन संरक्षणकर्मीले अपिल गरेका छन् । दुर्लभ वन्यजन्तु रेडपान्डाले सन्तान जन्माउने र हुर्काउने समय भएकाले जंगल क्षेत्रमा प्रवेश नगरिदिन अपिल गरेका हुन् । 

तीनजुरे मिल्के जलजले क्षेत्रअन्तर्गत संखुवासभाको मिल्केभन्ज्याङ नजिक जंगलमा क्यामेरा ट्र्यापमा परेको रेडपान्डा । फाइल तस्बिर : कान्तिपुर

असारदेखि सन्तान जन्माउन सुरु गर्ने रेडपान्डाले असोजसम्ममा आफ्नो बच्चा जन्माएर हिँडडुल गर्न सक्ने बनाउँछ । यो अवधिमा जंगलमा रूख काट्ने, हाँगाबिँगा निकाल्ने, ढुंगा फुटाउनेजस्ता गतिविधि भए तर्सिने र बासस्थान सर्ने हुन्छ । बच्चा हुर्काउनका लागि बनाएको बासस्थान छोडेर हिँडे बच्चालाई असर पर्ने र हुर्कन कठिन हुने रेडपान्डा नेटवर्कको सहयोगमा सञ्चालित हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राई बताउँछन् ।

संरक्षणविद् स्वर्गीय प्रल्हाद योञ्जनले लाङटाङ राष्ट्रिय निकुञ्जमा गरेको तत्कालीन अध्ययन प्रतिवेदनअनुसार रेडपान्डाको ८६ प्रतिशत बच्चा हुर्काउन कठिन हुने गरेको छ । रेडपान्डा नेटवर्कमा रहेको उक्त प्रतिवेदनमा सबैभन्दा ठूलो असर असारदेखि असोजसम्मकै बेला हुने उल्लेख छ । रेडपान्डाले आफू गर्भवती भएपछि रूखको टोड्कामा सुरक्षित बासस्थान बनाउँछ । दूध चुसाएर बच्चा हुर्काउनुपर्ने भएकाले त्यसका लागि उपयुक्त स्थान छनोट गर्छ । तर यो अवधिमा गाडीको हर्न बज्ने, ढुंगा फुटाउने, सेउला संकलन गर्नेजस्ता गतिविधि भए उसले आफ्नो बच्चामाथि आक्रमण भएको ठानेर सुरक्षित गर्न अन्यत्र सर्छ ।

त्यसरी सर्दा बच्चालाई उपयुक्त वातावरण नमिल्ने भएकाले बढी जोखिम यही बेला हुने रेडपान्डा नेटवर्कका कार्यक्रम संयोजक सोनाम लामा बताउँछन् । उनका अनुसार धेरै रेडपान्डा सामुदायिक वनमा पाइन्छ । सामुदायिक बनेको कार्ययोजनामा यो समयमा जंगल पस्न नहुने, घाँस दाउरा नगर्ने उल्लेख छ । कोही पसे रेखदेख गर्ने पनि उल्लेख छ । तर सामुदायिक वनले यसलाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छैन । यो बेला कुकुरहरू पनि रेडपान्डाका लागि चुनौती बन्ने गरेको पाथीभरा गोठपालक बताउँछन् । उनीहरूले जंगलमा गएर तर्साउने र बिच्क्याउने खतरा हुने गरेको फेदीका देउमान विष्टले बताए ।

फागुनमा गर्भाधारण गर्ने रेडपान्डाले १ सय ३५ दिन अवधिमा बच्चा जन्माउँछ । मालिङ्गाको टुसा, टेङ्गाको दाना, भालुचिन्डेजस्ता आहारा खाएर बाँच्ने यो आहाराको खोजीमा निस्कँदा कुकुरलगायतले आक्रमण गर्ने जोखिम हुने गरेको छ । रेडपान्डा क्षेत्रमा कुकुरको आतंक नहोस् भनेर रेडपान्डा नेटवर्कले तीन वर्षसम्म बन्ध्याकरण शिविर चलाएको थियो । सुन्दर तर लजालु स्वभावको यो जनावर बच्चा हुर्काउने समयमा भने शंकालु हुने गरेको संरक्षणकर्मीको बुझाइ छ ।

नेपालमा ५ देखि ८ सयको हाराहारीमा रहेको अनुमान गरिएको रेडपान्डा ७५ प्रतिशत पूर्वी नेपालको ताप्लेजुङ, तेह्रथुम, पाँचथर र इलाममा रहेको अनुमान छ ।

प्रकाशित : श्रावण ८, २०७८ ११:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×