१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लागूऔषध कारोबार बढ्दो

एक वर्षमा १ सय ७८ जना पक्राउ, अघिल्लो वर्षभन्दा दोब्बर बरामद 
शंकर आचार्य

पर्सा — प्रहरीले आइतबार राति वीरगन्ज–१९ बर्वाबाट लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमध्ये दुई जना जनप्रतिनिधि नै थिए । ना१ब ३५९५ नम्बरको सरकारी मोटरसाइकलको फिल्टर बक्सबाट ७९ ग्राम खैरो हेरोइन बरामद भएको थियो ।

लागूऔषध कारोबार बढ्दो

मोटरसाइकल पकाहामैनपुर गाउँपालिका–१ का अध्यक्ष ५५ वर्षीय अमेरिका सहनीले चलाइरहेका थिए । अर्को मोटरसाइकलका चालक सोही वडाका सदस्य ४० वर्षीय बलिस्टर सहनी थिए । अमेरिकाले चलाएको मोटरसाइकलमा उनका छिमेकी ५२ वर्षीय रामआदेश सहनी बसेका थिए । प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।

यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो, पर्साका विभिन्न स्थानबाट दैनिकजसो लागूऔषधसहित सेवनकर्ता र कारोबारी पक्राउ पर्दै आएका छन् । सीमानाका सामान्य रूपमा खुला भएको अवस्थामा दैनिक वीरगन्जबाट पैदल रक्सौल पुगेर लागूऔषध सेवन गरेर फर्किने दुर्व्यसनी पनि बढी छन् । यसरी भारतमै लागूऔषध सेवन गरेर फर्कनेहरूले पनि थोरबहुत लागूऔषध बोकेर ल्याउने र आफूले सेवन गर्ने मात्र नभई बिक्रीसमेत गर्ने गरेको प्रहरीले जनाएको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा पर्सामा बरामद भएको सबैखाले लागूऔषधको परिमाण करिब दोब्बर छ ।

गत आर्थिक वर्षमा प्रहरीले पर्साका विभिन्न स्थानबाट गरी १ सय ७४ जना लागूऔषध तस्करलाई पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांशमा १८ देखि २४ वर्ष उमेर समूहका युवा छन् । तीमध्ये पनि अधिकांश पर्साभन्दा बाहिरी जिल्लाका छन् । गत आवमा प्रहरीले ७ सय ८६ किलो गाँजा, १ सय ५३ किलो चरेस, ६९ ग्राम हेरोइन, ८ किलो अफिम, ६ हजार ४ सय ४० थान फेनारगन, ७ हजार २ सय ५३ थान डाइजिल्याब, ७ हजार २ सय ३२ थान नुर्फिन, ८ हजार ८ सय ४१ थान निट्राभेट ट्याब्लेट र २ हजार ४९ बोतल कोरेक्स बरामद गरेको थियो ।

अघिल्लो आवमा तस्करबाट ६ सय २४ किलो गाँजा, २८ किलो चरेस, ४१ ग्राम हेरोइन, १ किलो अफिम, ३ हजार ५३ थान फेनारगन, ३ हजार ३ सय ६४ थान डाइजिल्याब, ३ हजार १ सय ११ थान नुर्फिन, ६ हजार १२ थान निट्राभेट ट्याब्लेट र ८ सय ३४ थान कोरेक्स बोतल बरामद भएको थियो ।

भारतबाट नेपालमा लागूऔषध तस्करीका लागि वीरगन्ज तथा यसको छेउछाउको ग्रामीण भेगका नाकाको प्रयोग बढ्दो छ । मुलुकको सर्वाधिक आयात–निर्यात हुने वीरगन्ज नाका नै अहिले लागूऔषध तस्करीका कारण बदनाम बन्न थालेको छ । भारतमा प्रतिबन्धित नभएका तर नेपालमा प्रतिबन्धित नुर्फिन, फेनारगन, डाइजेपामजस्ता लागूऔषध बोकेर आउनेहरू प्रायःजसो वीरगन्ज तथा छेउछाउका नाकाबाट पक्राउ परिरहेका छन् । सुरक्षाकर्मीको आँखा छलेर लागूऔषध ढुवानी गर्नेको संख्या पक्राउ परेकाहरूभन्दा निकै बढी हुन सक्ने प्रहरीकै अनुमान छ । लागुऔषधको तस्करीमा संलग्न भई पक्राउ परेकाहरू प्रायः केही अवधिको जेल सजाय काट्छन् । तैपनि निरुत्साहित हुँदैनन् । कारोबारीले भित्र्याएको लागूऔषध काठमाडौं तथा अन्य जिल्लासम्म पुग्छ ।

नेपालमा नियन्त्रित लागूऔषध भनिने औषधिहरू सीमावर्ती भारतीय सहर रक्सौलका औषधि पसलहरूमा खुलेआम बिक्री हुन्छन् । नेपाल र भारतीय प्रहरीले बेलाबेलामा गर्ने दुईपक्षीय बैठकमा लागूऔषध नियन्त्रणका बारेमा चर्चा पनि हुँदैन । वीरगन्ज कारागारका झन्डै आधा कैदीबन्दी लागूऔषध मुद्दामा सजाय पाएका वा पुर्पक्षमा रहेकाहरू मात्र छन् ।

लागूऔषध ढुवानी गर्नेमा पुरुष मात्र नभई महिला पनि छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले प्रहरीले आफ्नो क्षमता र जनशक्तिको अत्यधिक उपयोग गरेर लागूऔषध ढुवानीकर्ता तथा प्रयोगकर्ता पक्राउ गर्न कुनै कसर बाँकी नराखेको बताए ।

प्रकाशित : श्रावण ७, २०७८ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?