सार्वजनिक यातायातमा मनपरी : लामो दूरीका यात्रुसँग १ हजार रुपैयाँसम्म बढी भाडा- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सार्वजनिक यातायातमा मनपरी : लामो दूरीका यात्रुसँग १ हजार रुपैयाँसम्म बढी भाडा

भूषण यादव

वीरगन्ज — निषेधाज्ञा खुकुलिएसँगै लामो दूरीको सार्वजनिक यातायात चल्न थाले पनि यात्रुहरू तोकिएभन्दा बढी भाडा तिर्न बाध्य भएका छन् । व्यवसायीहरूले दूरीका आधारमा ४० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म अतिरिक्त उठाउने गरेको पाइएको छ । 


बाराको पथलैयास्थित २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको पछिल्लो दुई दिनको तथ्यांकले यसलाई पुष्टि गर्छ । कार्यालयले दुई दिनयता ३० वटा सवारी साधनलाई कारबाही गरेको छ । ती सवारीका ४ सय ३२ यात्रुसँग लिइएको बढी भाडा फिर्ता गराइएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार गरिएको जाँचमा ११ वटा बस र १२ वटा टाटा सुमोलाई एक हजार रुपैयाँदेखि लिएर ५ हजार रुपैयाँसम्म जरिवाना गरिएको कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जनाए । उनका अनुसार नवलपुर, निजगढ, गौर, वीरगन्ज, चपुर, बंकुल, मौलापुरलगायत सहरबाट काठमाडाँै जाने टाटा सुमोले यात्रुसँग ४० रुपैयाँदेखि १ हजार ६० रुपैयाँसम्म बढी भाडा लिएका थिए । यसै गरी काँकडभिट्टा, बहरथवा, गौर, पोखरिया, गडैता, रघुनाथपुर, गौशाला, मलंगवाबाट काठमाडौं जाने बसले यात्रुसँग ५ सय रुपैयाँसम्म बढी भाडा असुलेका थिए ।

डीएसपी जैसवारका अनुसार आइतबार पथलैयामा जाँच गर्दा बाराको कलैयाबाट पोखरा जाने ना७ख ११११ नम्बरको बसले २८ जना यात्रुसँग एक हजारको दरले बढी भाडा लिएको पाइएको थियो । त्यस्तै रौतहटको गौरबाट काठमाडौँ र पोखरा जाने बसहरूले ७ सय रुपैयाँ थप लिएका थिए । सर्लाहीको चक्रघटादेखि काठमाडौँ जाने ना७ख २७९० नम्बरको बसले प्रत्येक यात्रुसँग ८ सय रुपैयाँ बढी असुलेको थियो ।

‘आइतबार मात्र प्रहरीले १ सय ८३ जना यात्रुसँग असुलिएको १ लाख २४ हजार दुई सय रुपैयाँ फिर्ता गराएको थियो,’ जैसवारले भने, ‘बढी भाडा लिने यात्रुवाहक सवारी साधनलाई ५ हजार रुपैयाँसम्म जरिवाना गरिएको छ ।’

सार्वजनिक सवारी सञ्चालकले भने राजमार्गमा खटिएका प्रहरीले सवारी पास नभएकासँग ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म असुल्ने गरेकाले यात्रुसँग बढी भाडा लिएको बताएका छन् । ‘लामो दूरीका सवारीसाधन एकबाट अर्को जिल्ला प्रवेश गर्दा राजमार्गका प्रहरीले प्रशासनको पास माग्ने गरेका छन्,’ वीरगन्जका एक बस व्यवसायी भन्छन्, ‘पास नहुनेले प्रत्येक चौकीमा ५ सयदेखि पन्ध्र सय रुपैयाँसम्म बुझाउन पर्छ ।’ सिमराबाट काठमाडौं पुग्दा एउटा बसले कम्तीमा ९ हजार र पोखरा पुग्दा ८ हजार रुपैयाँ अतिरिक्त खर्चिनुपरेको ती व्यवसायीले खुलाए ।

प्रहरी स्रोतका अनुसार राजमार्गमा खटिएका प्रहरीले सार्वजनिक सवारीसँग रकम असुलेको गुनासो बढेपछि प्रहरी प्रधान कार्यालयबाट उपरीक्षकको टोली आइतबार निरीक्षणमा आएको थियो । त्यस क्रममा पथलैया प्रहरी चौकीका प्रहरी जवानले अवैध रकम असुलेको पाइएपछि मंगलबार सम्पूर्ण टोली नै जिल्ला प्रहरी कार्यालय बारामा तानिएको छ ।

बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाही भने आवश्यकताअनुसार पथलैया प्रहरी चौकीको टोली परिवर्तन गरिएको दाबी गर्छन् । ‘आवश्यकताअनुसार जहाँसुकैको पनि चेन्ज गर्न सकिन्छ,’ उनले भने, ‘काठमाडाँैबाट कुनै टोली अनुगमनमा आएको हामीलाई जानकारी छैन ।’ बिना पास सञ्चालनमा आएका र यात्रुसँग बढी भाडा लिएका सवारी साधनलाई आफूहरूले पनि कारबाही गरेको उनले बताए ।

प्रकाशित : श्रावण ६, २०७८ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्

वीरगन्जबाट ५ किलो चाँदीका गहनासहित एक जना पक्राउ

भूषण यादव

वीरगन्ज — भारतबाट अवैध रुपमा चाँदीका गरगहना लिएर वीरगन्जतर्फ आउँदै गरेका एक व्यवसायीलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी इनर्वाको टोलीले बुधबार बिहान करिब साढे ८ बजेको समयमा सीमावर्ती भारतीय बजार रक्सौलबाट वीरगन्जतर्फ आइरहेका ४३ वर्षीय अंगत साहलाई अवैध चाँदीका गहनासहित पक्राउ गरेको हो । साहले बोकेको कालो रंगको ब्याग चेक गर्दा ५ केजी ३३४ ग्राम चॉदीका तयारी गरगहनाहरु फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालका अनुसार सप्तरीको राजविराज उपमहानगरपालिका– २ मेघरा निवासी साहले हाल चितवनको खैरेनी नगरपालिका– २ मा श्रीया ज्वेलर्स सञ्चालन गरेका छन् । तयारी गरगहनाहरु भारतबाट भित्रिँदै छन् भन्ने सूचनाको आधारमा प्रहरीले विशेष निगरानी बढाएको थियो ।

राजश्व छली चोरी पैठारी मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ । आवश्यक कारवाहीका लागि साहलाई राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउने खनालले जनाए ।

प्रकाशित : श्रावण ६, २०७८ १२:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×