वीरगन्जबाट ५ किलो चाँदीका गहनासहित एक जना पक्राउ- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगन्जबाट ५ किलो चाँदीका गहनासहित एक जना पक्राउ

भूषण यादव

वीरगन्ज — भारतबाट अवैध रुपमा चाँदीका गरगहना लिएर वीरगन्जतर्फ आउँदै गरेका एक व्यवसायीलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी इनर्वाको टोलीले बुधबार बिहान करिब साढे ८ बजेको समयमा सीमावर्ती भारतीय बजार रक्सौलबाट वीरगन्जतर्फ आइरहेका ४३ वर्षीय अंगत साहलाई अवैध चाँदीका गहनासहित पक्राउ गरेको हो । साहले बोकेको कालो रंगको ब्याग चेक गर्दा ५ केजी ३३४ ग्राम चॉदीका तयारी गरगहनाहरु फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालका अनुसार सप्तरीको राजविराज उपमहानगरपालिका– २ मेघरा निवासी साहले हाल चितवनको खैरेनी नगरपालिका– २ मा श्रीया ज्वेलर्स सञ्चालन गरेका छन् । तयारी गरगहनाहरु भारतबाट भित्रिँदै छन् भन्ने सूचनाको आधारमा प्रहरीले विशेष निगरानी बढाएको थियो ।

राजश्व छली चोरी पैठारी मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ । आवश्यक कारवाहीका लागि साहलाई राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउने खनालले जनाए ।

प्रकाशित : श्रावण ६, २०७८ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्

सेनाका नयाँ कमान्डमा पनि सर्भे तथा सीमा शाखा

गत वर्षदेखि सेनाले गठन गरेको नयाँ संरचनालाई आफ्ना सबै कमान्डमा अनिवार्य गर्दै
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाले सीमा सुरक्षालाई विशेष ध्यानमा राखेर सैनिक मुख्यालय जंगी अड्डामा एक वर्षअघि खडा गरेको सर्भे तथा सीमा निर्देशनालयलाई नयाँ प्रशासनिक संगठनअनुसार सबै कमान्ड हेडक्वार्टरहरुमा पनि विस्तार गर्ने भएको छ ।

साउन १ देखि लागू भएको नेपालको ‘तीन जोड एक’ कमान्डमा पनि सर्भे तथा सीमा निर्देशनालयको संयन्त्र हुने भएको हो । नयाँ संरचनाअनुसार पूर्वी, मध्य र पश्चिम कमान्ड छन् भने उपत्यकामा एक रणनीतिक कमान्ड स्थापना गरिएको छ । मन्त्रिपरिषद्ले असार २४ मा नेपाली सेनाको सांगठनिक पुन:संरचना २०७७/७८ स्वीकृत गरेको थियो ।

‘यी सबै कमान्डहरुमा सीमा सुरक्षालाई मध्यनजर राखेर केन्द्रमा रहेको सर्भे तथा सीमा निर्देशनालयको सानो संयन्त्र रहने गरी नयाँ संरचना बनाइएको छ,’ सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने ।

संविधानको धारा २६७ मा मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि यस संविधानप्रति प्रतिबद्ध समावेशी नेपाली सेनाको एक संगठन रहने भन्ने उल्लेख छ । तर एक वर्ष अघिसम्म सेनामा सीमा सम्बन्धमा हेर्नका लागि संयन्त्र नै थिएन ।

संविधानप्रदत्त जिम्मेवारी भन्दै सेनाले गत वर्ष उक्त निर्देशनालय खडा गरेको हो, जसलाई नयाँ संरचनामा पनि अघि बढाएको छ । २०५२ अघिसम्म मुलुकमा सीमाको सम्बन्धमा कुनै पनि अनुगमन र नापीसम्बन्धी काम हुँदा सेनालाई पनि सामेल गरिन्थ्यो । ‘तर त्यसपछि सेनालाई सीमासम्बन्धी काममा सामेल गर्न छाडिएको रहेछ,’ प्रवक्ता पौडेलले भने, ‘त्यसलाई फेरि निरन्तरता दिइएको हो ।’

सहायक रथीको नेतृत्वमा रहने सर्भे तथा नापी निर्देशनालयले नेपालको सीमा, नक्सा र पुराना दस्ताबेजलाई संकलन, अवलोकन गर्ने र त्यसलाई आवश्यकता पर्दा पाउने गरी संरक्षण गरेर राख्ने काम गर्छ । साथै, सीमासम्बन्धी विभिन्न छलफल होस् या अन्य काममा सहभागी हुन सेनाको उक्त निर्देशनालयबाट जान थालेका छन् ।

प्रकाशित : श्रावण ६, २०७८ १२:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×