कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

१० वर्षपछि आँखा देख्दा...

शंकर आचार्य

पर्सा — जन्मिँदै मोतीबिन्दुका कारण देब्रे आँखा नदेख्ने पीडा खेपेका पर्सागढी नगरपालिका–३ का १० वर्षीय उज्ज्वलकुमार राय र उनका अभिभावकको अहिले खुसीको सीमा छैन ।

१० वर्षपछि आँखा देख्दा...

दुई साताअघि वीरगन्जस्थित सामुदायिक आँखा केन्द्रमा शल्यक्रिया गरिएपछि उज्ज्वल अब दुवै आँखाले देख्ने भएका छन् । आइतबार वीरगन्जस्थित आँखा केन्द्रमा फलोअपका लागि आएका उनले भने, ‘अहिले दुवै आँखाले देख्न सक्ने भएको छु, अब झनै मिहिनेत गरेर पढ्छु र आँखाकै डाक्टर बन्छु ।’ उनको यो समस्याबारे अभिभावकले पनि ५ वर्षअघि मात्रै थाहा पाए ।

‘उसले जन्मजात यो समस्या लिएर आएको रहेछ । हुर्किंदै गयो तर उसले आफैं आँखाको समस्याबारे भेउ पाएको थिएन,’ बुबा रामनारायणले भने, ‘पछि ५ वर्षको भएपछि आफ्नो देब्रे आँखाले नदेख्ने गरेको बताएपछि मात्र यो समस्याबारे थाहा पायौं ।’

त्यसपछि वीरगन्जदेखि काठमाडौंसम्मका चिकित्सकलाई देखाउँदासमेत उपचार सम्भव नभएको रामनारायणले बताए । आफ्नो गाउँमै सञ्चालित आँखा शिविरमा परीक्षण गराउँदा यो समस्याबारे थाहा पाएको उनले बताए । उज्ज्वलकी आमा सरितादेवीले आफ्ना ५ सन्तानमध्ये कान्छोमा मात्र यो समस्या रहेको बताइन् । नेत्र विशेषज्ञ डा. अमृत आचार्यले असार २२ गते उज्ज्वलको आँखाको शल्यक्रिया गरेको केन्द्रका मेडिकल संयोजक महेशसिंह धामीले बताए ।

‘बालकको आँखामा जन्मजात मोतीबिन्दुको समस्या रहेछ । यो १ लाख मानिसमा १ जनालाई देखिने दुर्लभ समस्या हो,’ उनले भने, ‘उनको देब्रे आँखाको पर्दा पनि जन्मजातै च्यातिएको रहेछ ।’ बुबा–आमा र सन्तानमा समेत ठेउला, रुबेला, एचआईभी, सिप्लिस रोग र संक्रमणका कारण बालबालिकामा यो समस्या देखिने गरेको धामी बताउँछन् । तर उज्ज्वलका अभिभावकले आफू तथा छोरामा पनि यी समस्या कहिल्यै नदेखिएको बताए ।

शल्यक्रियापछि हाल बालकको देब्रे आँखाले एक सयमा ३० प्रतिशत देख्ने क्षमता विकास भएको र यो क्रमशः बढ्ने धामीले दाबी गरे । ‘भविष्यमा लेजरले सेकेर थप उपचार गर्नुपर्छ,’ धामीले भने, ‘त्यसपछि आँखाको भिजन झनै बढ्नेछ ।’ अस्पतालले उज्ज्वलको आँखाको शल्यक्रिया निःशुल्क गरिदिएको र यसमा पर्सागढी नगरपालिकाले सहयोग गरेको धामीले बताए ।

प्रकाशित : श्रावण ४, २०७८ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?