२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

रैथाने धान लगाउनै छाडे

शिव पुरी

रौतहट — दशकअघिसम्म तराई–मधेसका किसान सावित्री, रामधान, राधा–४, सावा धान, अर्दिनाथलगायतका रैथाने धान लगाउन हुरुक्क हुन्थे । उब्जनी मनग्यै हुने भएपछि यी जातका धानमा किसानको आकर्षण थियो । हाइब्रिड धान किसानको रोजाइमा परेपछि पुरानो जात लोपझैं भएको छ । 

रैथाने धान लगाउनै छाडे

किसानले अहिले नयाँ/नयाँ बीउ खोजेर रोप्न थालेका छन् । उत्पादन हेरी बर्सेनि धानको बीउ फेर्न थालेको पाइएको छ । पुरानो धानको भात खान मीठो भए पनि रोगले उत्पादन कम हुने देखिएपछि बढी उत्पादन हुने धान खोज्न थालेका हुन् । किसानले लगाउन छाडे पनि सरकारले यस्ता धानलाई संरक्षण गर्न लागेको कृषि ज्ञान केन्द्र गौरले जनाएको छ । बाँसपाते, कनकजिरा, रतुवा, सुगन्ध, पहाडी अनदी, मधेसी मसिनो, एक्लो पहेले, साँवा, रामधानलगायत ५२ जातका धानमध्ये सावित्री, रामधान, राधा–४, सावाधान, अर्दिनाथ–१, र सुक्खा २–४ जस्ता रैथाने धानमा किसानको लगाव घटेको कृषि ज्ञान केन्द्रले जनायो ।

‘किसानले रैथाने धान मन पराउनै छाडे । अब हाइब्रिड धेरै फसल हुने धान किसानको रोजाइमा परेको छ,’ कृषि ज्ञान केन्द्रका प्रमुख चन्द्रभूषण झाले भने, ‘सरकारले रैथाने धानको संरक्षण गर्नुपर्छ । अब तराई–मधेसका यस्ता धान नाम मात्रको हुन थाल्यो ।’ झाका अनुसार अब पहाडमा मात्र रैथाने धान देख्न पाइन्छ । किसानले कतर्नी, सोनामन्सुलीजस्ता धेरै उत्पादन हुने धानको बीउ भारतबाट खरिद गरी ल्याउने गर्छन् । केहीले बीउबिजन पसलबाट प्रतिकिलो ७५ रुपैयाँसम्ममा खरिद गर्छन् । भारतमा ४० रुपैयाँ (भारु) पर्छ ।

यस्ता धानको उत्पादन बढी हुने भएकाले यसप्रति किसान आकर्षित भएका हुन् । कृषि ज्ञान केन्द्रका अनुसार नेपालमा ५२ जातका धानमध्ये झन्डै ४५ जात लोप भएको छ । अहिले किसानले सबैभन्दा बढी मन्सुली, कतर्नी, सावित्रीलगायतका धान रोपिरहेका छन् । रैथाने धानमा रोग लाग्न थालेपछि लगाउनै छाडेको स्थानीय किसान रामकिशोर साहले बताए । ‘फसल पनि कम हुँदै गयो । विभिन्नखाले रोग लाग्न छाडेन,’ उनले भने, ‘रैथाने धान लगाएर तनाव मात्रै भयो । अब लगाउनै छाडे ।’साह रौतहटका पुराना किसान हुन् ।

रौतहटमा पछिल्लो समय धान खेतीको क्षेत्रफल बढे पनि उत्पादनमा कमी आएको छ । पर्याप्त सिँचाइ सुविधाको कमी, समयमा पानी नपर्नु, आकाशे पानीको भरपर्नु, बर्सेनि बाढी डुबानका कारण उत्पादनमा कमी आएको हो । कृषि ज्ञान केन्द्र गौरका अनुसार २०७२ सालयता उत्पादनमा कमी आएको छ । त्यस वर्ष झन्डै १४ हजार मेट्रिक टन उत्पादन भएको थियो । आर्थिक वर्ष २०७३/०७४ मा ३८ हजार १ सय ८५ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । जसमा विभिन्न जातको १३ हजार ५ सय ८७ मेट्रिक टन धान उत्पादन भयो । २०७४/०७५ मा ३८ हजार २ सय २५ हेक्टर क्षेत्रफलमा धान बाली लगाइएकामा १० हजार ८३ मेट्रिक टन मात्र उत्पादन भयो ।

२०७६/०७७ मा ९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष पनि उत्पादनमा कमी आउने देखिएको छ । रोपाइँ सकिएपछि हुने डुबानले धानलाई असर पुग्ने केन्द्रले जनायो । लामो समयसम्म धानको बोट डुबानमा पार्दा दाना नलाग्ने सम्भावना बढी हुने कृषि प्राविधिकहरू बताउँछन् । रौतहटमा ६५ प्रतिशतभन्दा कम सिँचाइ सुविधा उपलब्ध हुने क्षेत्र हो । पछिल्लो समय रैथाने धान लगाउन छाडेकाले पनि उत्पादनमा कमी आएको हुन सक्ने बताइएको छ ।

रौतहटमा अहिलेसम्म ९० प्रतिसत धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको कुल ३४ हजार हेक्टर धान खेतीमध्ये अब १० प्रतिशत मात्र रोपाइँ हुन बाँकी छ । नहरको पानी नलाग्ने स्थानमा किसानले बोरिङ, पम्पसेट चलाएरै भए पनि रोपाइँ गरिरहेका छन् ।

प्रकाशित : श्रावण ४, २०७८ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?