१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

तालमा डुबेका युवकको शव फेला

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको वाग्मती नगरपालिका–१२ स्थित नवनिर्मित तालमा बेपत्ता भएका युवकको शव २६ घण्टापछि फेला परेको छ । हिलोमा गाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शनिबार तालमा माछा मार्न गएका वाग्मती–१ का १८ वर्षीय सुशान्त थापा अपराह्न ४ बजेदेखि बेपत्ता भएका थिए । 

तालमा डुबेका युवकको शव फेला


बेपत्ता युवक पत्ता लगाउन बाहिरबाट गोताखोरको टोलीसमेत बोलाइएको थियो । टोली नआइपुग्दै कम्प्रेसर मेशिनको सहयोगले युवकको शव फेला पारिएको जिल्लाका प्रहरी उपरीक्षक संतोष सिंह राठौरले जानकारी दिए । ‘निरन्तरको प्रयासमा पनि बेपत्ता युवकको खोजी गर्न समस्या भइरहेको थियो, हिलोमा खोज्ने सुरक्षाकर्मीलाई हम्मेहम्मे नै पर्‍यो,’ उनले भने । युवकको शव पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइने प्रहरी उपरीक्षक राठौरले बताए ।

युवकका दाजु हस्तबहादुरले ताल सुरक्षित नरहेकै कारण भाइ बेपत्ता भएको आरोप लगाए । अव्यवस्थित ताल भएका कारण यसको क्षतिपूर्ति नगरले बेहोर्नुपर्ने उनको माग छ । ‘ठूलो र गहिरो ताल सुरक्षित हुन जरुरी छ, सुरक्षित नभएकै कारणले यस्तो घटना भयो । भोलिका दिनमा यस्ता घटना नदोहोरिएला भन्न सकिन्न,’ उनले भने, ‘भाइको उद्धारका लागि तत्काल प्रयास पनि हुन सकेन, प्रयास गरेको भए यो घटना हुने थिएन ।’ छोराको खबरले बुबाआमा घरमै अर्धचेत अवस्थामा छन् । वाग्मती नगरपालिका–१ मिलन चोकका गोपालसिंह थापा र टीकाका कान्छा छोरा सुशान्त एसईई दिने तयारीमा थिए ।

नगरपालिकाले पर्यटक भित्र्याउने उद्देश्यले १ सय २१ बिघामा गहिरो ताल खनेको छ । निर्माणाधीन ताल रहेकाले यसको सुरक्षाको प्रबन्ध मिलाउन नसकिएको नगरले जनाएको छ । वैशाखमै ताल खन्ने काम सकिएपछि वाग्मती नदीको पानी हालिएको थियो । झन्डै डेढ महिना पानी हाले पनि एक दिन मुहान थुन्दा रातभरिमै सुकेको थियो । दोस्रोपटक बाढीको समयमा लेदो माटोसहितको पानी पसाउने योजनाअनुरूप तालमा पानी हाले पनि फेरि अधिकांश भाग सुकेको छ ।

नवनिर्मित तालमा अहिले आन्तरिक पर्यटक घुमफिरका लागि पुगिरहेका छन् । पानी कम भएसँगै स्थानीय माछा मार्न पनि आइरहेका छन् । तर अव्यवस्थित तालका कारण यसको तल्लो बस्ती जोखिममा छ । झन्डै दुई साताअघि वर्षाले तालको पानी निस्केर सागरनाथ वनको जग्गा कटान गरेको थियो । निकास नभएर बाटो र पुल पनि बगाएको थियो । स्थानीयको विरोधपछि नगरपालिकाले बाटोको मर्मत गरेको छ ।

प्रकाशित : श्रावण ४, २०७८ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?