कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

वैकल्पिक योजना नहुँदा पढाइ ठप्प

बारा — कोभिड महामारी सुरु भएयता गत शैक्षिक सत्रमा ८ महिना विद्यालय बन्द रह्यो । चालु सत्रमा तीन महिनादेखि विद्यालय बन्द छन् ।

वैकल्पिक योजना नहुँदा पढाइ ठप्प

यस अवधिमा यहाँका १६ पालिकाले तीन/तीन पटक नगर र गाउँ सभा गरिसके । सभाबाट पारित गरेर प्रत्येक पालिकाले लाखौं लगानीमा विद्यालय भवन निर्माण गरेका छन् । तर, बालबालिकालाई अध्यापन गराउन भने कुनै योजना ल्याउन सकेका छैनन् । विद्यालय सञ्चालन र अध्यापनको वैकल्पिक योजना अभावमा विद्यार्थीले पढ्न पाएका छैनन् । शिक्षक पनि घरमै बस्न बाध्य छन् ।

निजी विद्यालयले जसोतसो अनलाइन कक्षा सञ्चालन गरेर ‘कोर्स’ पूरा गराइरहे पनि सामुदायिक विद्यालय ठप्प छन् । शिक्षा विकास समन्वय इकाइ प्रमुख बृजकिशोरप्रसाद साहका अनुसार जति चासोको साथ पालिकाहरूले बर्सेनि विद्यालय भवन र पर्खाल निर्माणमा बजेट लगानी गर्दै आएका छन्, त्यसको केही अंश मात्र बालबालिकाको अध्यापनको योजनामा लगानी गरेको भए पढाइ रोकिने थिएन । ‘शिक्षामा भौतिक क्षेत्रमा लगानी बढ्दो छ, गुणस्तर घट्दो छ,’ उनले भने, ‘हुन त विद्यालयको भौतिक संरचना बनाउन पनि आवश्यक छ । अहिलेको आवश्यकता भवन निर्माण मात्र होइन, विद्यार्थीका लागि अनलाइन वा सञ्चार माध्यमबाट कक्षा सञ्चालन गर्नु हो ।’

१६ पालिकाहरूमध्ये निजगढ नगरपालिकाले एक महिनादेखि युट्युब, स्थानीय एफएम रेडियो र अनलाइनमाध्यमबाट कक्षा सञ्चालन गरेको छ । ‘कोभिड कालमा विद्यार्थीहरू घरभित्रै बस्न बाध्य भए, यस्तो बेला अध्यापनको निरन्तरताका लागि बजेट खर्चिनुपर्थ्यो,’ नागरिक समाजका अध्यक्ष उमेशलाल दासले भने, ‘त्यतातिर कसैले ध्यान पुर्‍याएनन्, कमिसन लिन र विकासको प्रतिस्पर्धा देखाउन लाखौं/करोडौं रुपैयाँ भवनमा खर्च गरेको देखिन्छ ।’

अध्यापन निरन्तर हुन नसक्दा विद्यार्थी शैक्षिक क्षमतामा ह्रास आएको कचोर्वा माविका शिक्षक विद्यानन्द यादवले बताए । ‘वैकल्पिक योजना ल्याउन नसकेका कारण बालबालिका शिक्षामा पछाडि परे,’ उनले भने, ‘बालबालिकमा मानसिक असर पनि देखिएको छ ।’

इन्टरनेटकै अभावका कारण पढाइको वैकल्पिक व्यवस्था गर्न नसकिएको जनप्रतिनिधिको भनाइ छ । ‘प्रत्येक वडा र घरमा इन्टरनेटको पहुँच र प्रत्येक बालबालिकासित मोबाइल उपलब्ध नभएकोले यतातिर हामीले ध्यान दिएनौं,’ परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साहले भने, ‘इन्टरनेट कम्पनीले आफ्नो लाइन सबै ठाउँमा विस्तार पनि गर्न सकेको छैनन् ।’ कोभिडले अब पनि विद्यालय बन्द रहने अवस्था रहिरह्यो भने अन्य माध्यमबाट कक्षा सञ्चालनमा ध्यान दिइने उनले बताए ।

प्रकाशित : श्रावण ३, २०७८ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?