कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डुबानले रोकियो रोपाइँ

तीन वर्षदेखि किसानले बाली लगाउन पाएनन्, बस्ती नै डुब्ने जोखिम
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाही मलंगवा नगरपालिका–५ भाँड्सरका अरुणकुमार यादवसँग डेढ बिघा खेतीयोग्य जग्गा छ । तर उनले तीन वर्षदेखि खेतमा धान रोपाइँ गर्न पाएका छैनन् । प्रत्येक वर्ष डुबानकै कारण उनले बाली लगाउन पाउँदैनन् । खेती किसानी पेसा भए पनि डुबान भएर आफ्नै खेतमा मिहिनेत गर्न नपाएको उनको गुनासो छ । रोपाइँ नभएर उब्जनी हुन नसकेपछि उनलाई चामल किनेर खानुपर्ने बाध्यता छ ।

डुबानले रोकियो रोपाइँ

मलंगवा नगरपालिका–५ भाड्सरमा सयौं बिघा खेतीयोग्य जग्गा यस वर्ष पनि डुबानमा परेको छ । गत वर्ष यो क्षेत्रमा लखन्देही खोलाको बाढी नै पसेको थियो । परार पनि डुबानकै कारण यस क्षेत्रमा रोपाइँ हुन सकेन । त्योभन्दा अगाडि वर्षाको समयमा सामान्य पानी पर्ने गरेकाले यादवले धान रोपाइँ गरेका थिए । ‘तीन वर्षदेखि खेत डुबानमा परेर रोपाइँ गर्न पाएका छैनौं, रोपाइँ नहुँदा आम्दानीको मुख्य स्रोत नै गुमेको छ,’ उनले भने ।

यादव जस्तै भाड्सरका सयौं किसान आयातित चामलमा भरमा छन् । सामान्य पानी पर्दा गाउँ नै डुबानमा पर्ने गरेको छ । किसानले राखेको धानको ब्याड पनि डुबानका कारण गलेर नष्ट भइसकेको छ । यहाँका किसानले वर्षाभन्दा पनि खडेरी राम्रो मान्दै आएका छन् । वर्षाका बेला डुबानका कारण रोपाइँ नहुने र खडेरीका बेला जसोतसो धान रोप्न पाइएको स्थानीय किसान समसुल हकले बताए । उनले डुबान समस्या समाधानका लागि जनप्रतिनिधिलाई आग्रह गरिए पनि काम हुन नसकेको जानकारी दिए ।

हकले लखन्देही खोलामा तटबन्ध भएपछि पानीको निकास रोकिएर डुबान भएको बताए । खोलामा तटबन्ध नहुँदा बाढीले रोपाइँ प्रभावित हुने गरेकोमा अहिले तटबन्ध भएसँगै पानीको निकास रोकिएको छ । ‘खोलामा तटबन्ध नहुँदा बस्ती जोखिममा थियो, तर ठूलो बाढी आएको वर्षबाहेक रोपाइँ प्रभावित भएको थिएन,’ उनले भने, ‘तटबन्ध भएपछि बस्ती जोगियो, तर वर्षाको पानीको निकास नभएर खेतबारीसहित बस्ती पनि डुबानमा छ ।’ मौसमविद्ले यस वर्ष ठूलै पानी पर्ने जनाएपछि उनीहरू यस वर्ष रोपाइँको कल्पनासमेत नगरेको जनाएका छन् । बर्सेर्नि डुबानकै कारण यहाँ भदौ अन्तिममा रोपाइँ हुँदै आएको हकले बताए ।

कृषी ज्ञान केन्द्रले सर्लाहीमा बर्सेर्नि ५ देखि १० प्रतिशतको हाराहारीमा रोपाइँ प्रभावित हुने गरेको जनाएको छ । भाँड्सरसहितको क्षेत्रमा डुबान तथा केही भागमा कहिलेकाहीं खडेरीका कारण रोपाइँ प्रभावित हुने गरेको कृषिको तथ्यांक छ । यस वर्ष जिल्लामा ४३ हजार हेक्टरमा धान खेती हुने अनुमान गरिएको ज्ञान केन्द्रका निमित्त प्रमुख कमलदेवप्रसाद कुशवाहाले जानकारी दिए । उनले दक्षिणी क्षेत्रका सय बिघाभन्दा बढी क्षेत्रफलमा डुबानका कारण रोपाइँ गर्न समस्या हुने बताए ।

७० प्रतिशत रोपाइँ

जनकपुर– धनुषाको कुल धान उत्पादन हुने भूमिमध्ये ७० प्रतिशतमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका बालीविद् प्रदीप यादवका अनुसार समयमा पानी परेकाले चाँडै नै धेरै क्षेत्रफलमा रोपाइँ भएको हो । धनुषामा कुल ५४ हजार हेक्टरमा धान खेती हुन्छ । त्यसमध्ये झन्डै ४० हजार हेक्टरमा रोपाइँ भइसकेको छ भने अरू रोपाइँ हुने क्रममै छ । कृषिविद् यादवका अनुसार रोपाइँका लागि असार १५ देखि साउन १५ सम्मको समय उपयुक्त हुन्छ । पानीको अभाव भएन भने यस वर्ष जिल्लाको शतप्रतिशत जग्गामा धान रोपाइँ हुने दाबी यादवको छ । समयमा पानी परेकाले धान उत्पादनमा पनि वृद्धि हुने अनुमान गरिएको छ ।

प्रकाशित : श्रावण ३, २०७८ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?