पालिकाको बजेट चुनाव केन्द्रित

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीका पालिकाहरूले चुनाव केन्द्रित गरेर आगामी आर्थिक वर्षका लागि धमाधम बजेट ल्याउन थालेका छन् । आर्थिक वर्ष २०७८/७९ हालका जनप्रतिनिधिको अन्तिम कार्यकाल रहेकाले उनीहरूले चुनावलाई केन्द्रित गरेर बजेट ल्याएका हुन् ।

पालिकाको बजेट चुनाव केन्द्रित

पालिकाहरूले असार १० मा बजेट ल्याएर २५ गतेभित्र पारित गर्नुपर्ने प्रावधान छ । तर जिल्लाका कतिपय पालिकाले भने बल्ल बजेट ल्याउन थालेका हुन् । लालबन्दी नगरपालिकाले छैठौं नगरसभा बिहीबार सम्पन्न गर्दै चालु आर्थिक वर्षका लागि १ अर्ब ४ करोड ७९ लाख ५२ हजार ८ सय ८६ रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।

नगरपालिकाले स्वास्थ्य सेवामा सुधार, शैक्षिक विकास, भौतिक पूर्वाधार, कृषि तथा पशुपन्छी विकास, वातावरण संरक्षण एवं विपद् व्यवस्थापन, रोजगारी सिर्जनालगायतलाई प्राथमिकता दिएको जनाएको छ । १७ वटा वडा रहेको लालबन्दीमा सबै वडामा समान हिसाबले अति आवश्यक क्षेत्रलाई प्राथमिकता दिई बजेट विनियोजन गरिएको नगर प्रमुख मानबहादुर खड्काले जानकारी दिए । उनले गत वर्षहरूको जस्तै यस आर्थिक वर्षको बजेट ल्याइएको दाबी गरे ।

तर, अन्य दलका नेताले भने पालिकाको यसपटकको बजेट चुनाव केन्द्रित आएको आरोप लगाएका छन् । हालका जनप्रतिनिधिको अन्तिम बजेट भएकाले आफ्ना नेता तथा कार्यकर्तालाई हित हुने गरी बजेट आएको नेपाली कांग्रेस लालबन्दी नगर कमिटी अध्यक्ष प्रशान्त आचार्यले जानकारी दिए । उनले लालबन्दीका जनप्रतिनिधि निर्वाचित भएपछि एकपटक पनि सार्वजनिक सुनुवाइ नगरेको तथा अहिलेसम्म कहाँ कुन कार्यक्रममा कति रकम खर्च गरेको भनेर स्पस्ट जवाफ दिन नसकेको बताए । पटक–पटक हर हिसाब सार्वजनिक गर्न अनुरोध गरे पनि जनप्रतिनिधिले बेवास्ता गर्दैर् आएको बताउँदै आचार्यले यसपटकको बजेट उनीहरूले चुनावी रणनीतिअनुसार ल्याएको आरोप लगाए ।

‘लालबन्दी नगरले अहिलेसम्म कुनै पनि हिसाब सार्वजनिक गर्न सकेको छैन, त्यसमा पनि यस पटकको बजेट पूर्णरूपमा आफ्ना नेता कार्यकर्तालाई लक्षित गरी ल्याएका छन्,’ उनले भने । बजेट आउनुपूर्व नगरपालिकालाई ज्ञापनपत्र बुझाएर बजेट जनमुखी र समावेसी बनाउन माग गरिएकोमा त्यसो हुन नसकेको आचार्यले जानकारी दिए । उनले यसपटकको बजेट आवश्यकतामूखी हुनुपर्नेमा व्यक्तिकेन्द्रित भएको आरोप लगाए । नगर प्रमुख खड्काले यस वर्षको मात्र हैन, प्रत्येक वर्षको बजेट चुनाव केन्द्रित नै हुने गरेको बताए ।

उनले जनताका लागि विकास गर्ने भएकाले जनाताकै कामका लागि बजेट छुट्याउने गरेको दाबी गरे । तर आफ्ना कार्यकर्तालाई लक्षित गर्दै बजेट ल्याएको आरोपविरोधी पार्टीले विरोधका लागि मात्र गरेको हुन सक्ने उनको भनाइ छ । ‘हामी निर्वाचित भएसँगै चुनाव केन्द्रित अर्थात् जनताका लागि नै बजेट ल्याउने हो, यसपटक पनि आफ्ना नागरिकका लागि नै बजेट ल्याएका छौं,’ उनले भने, ‘बजेट ल्याउँदा आफ्ना नेता तथा कार्यकर्ता देखेका छैनौं ।’

हरिवन नगरपालिकाले एक साताअघि नै पाँचौँ नगर सभा सम्पन्न गर्दै १ अर्ब ३ करोडको बजेट पारित गरेको छ । हरिवनले भौतिक पूर्वाधार, विपद् व्यवस्थापन, शैक्षिक विकास, स्वास्थ्य सेवामा सुधारलगायतलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको नगरका प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुडालले जानकारी दिए । ११ वडा रहेको हरिवनमा प्राथमिकताका आधारमा प्रत्येक वडामा जनताको आवश्यकतामूखी बजेट ल्याइएको नगर प्रमुख गणेश प्रसार्इंले जानकारी दिए । उनले बर्सेनिजस्तै यसपटक पनि सामूहिक हितका लागि बजेट विनियोजन भएको बताए । ‘चुनाव एउटा पाटो हो, बजेट अर्को पाटो हो, कुनै भेदभाव नै नराखी बजेट विनियोजन गर्दै विकास निर्माण गर्दै जाने हो भने जनता फेरि पनि चुनेर जिम्मेवारी दिइहाल्छन्,’ उनले भने, ‘तर हामी जनप्रतिनिधि पनि इमानदार भएर जनताको पक्षमा काम गर्नुपर्छ, हाम्रा लागि सबै नागरिक समान छन् ।’

बरहथवा नगरपालिकाले पनि बिहीबार छैटौं नगर सभा सम्पन्न गर्दै चालु आर्थिक वर्षका लागि १ अर्ब ६ करोड ५७ लाख रुपैयाँको बजेट पारित गरेको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, विपद् व्यवस्थापनलगायतलाई प्राथमिकता दिइएको जनाएको छ ।

प्रकाशित : श्रावण २, २०७८ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?