२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

आन्तरिक मामिला मन्त्रालयसहित प्रदेश २ सरकारमा सहभागी हुँदै माओवादी

अजित तिवारी

जनकपुर — प्रदेश २ सरकारमा नेकपा माओवादी शनिबार सहभागी हुँदैछ । माओवादीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय दिन लागिएको हो ।

आन्तरिक मामिला मन्त्रालयसहित प्रदेश २ सरकारमा सहभागी हुँदै माओवादी

माओवादीका तर्फबाट संसदीय दलका नेता भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुम्पिएको छ । त्यही मन्त्रालयको राज्यमन्त्रीमा माओवादीका सप्तरीका सांसद रुबी कर्णलाई जिम्मेवारी दिइँदैछ । माओवादीका दुवै मन्त्री शनिबार अपराह्न ३ बजे शपथ ग्रहण गर्दैछन् ।

मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा प्रदेश प्रमुख राजेश झा अहिराजले माओवादीका मन्त्रीलाई शपथ खुवाउने तालिका तय भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवले जानकारी दिए । जनता समाजवादी पार्टी(उपेन्द्र)को भागमा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय माओवादीलाई दिइएको छ ।

जसपाबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज कुशवाहाले शुक्रबार राति राजीनामा गरेका छन् । मुख्यमन्त्री राउतको निर्देशनमा उनीहरु राजीनामा गरेका हुन् । राजीनामा गर्दै मन्त्री यादवले माओवादीलाई सरकारमा सहभागी गराउन मार्ग प्रशस्त गरिदिएको बताएका छन् ।

जसपाबाट महन्थ ठाकुर समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेपछि प्रदेश २ सरकारको सत्ता समीकरण पनि फेरिएको थियो । जसपाको यादव समूहले महन्थका मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झा, सुरेश मण्डल र अभिराम शर्मालाई पदमुक्त गरेपछि प्रदेश २ सरकारमा कांग्रेस र माओवादी सहभागी भएका छन् । कांग्रेसका तीन मन्त्री यसअघि नै सरकारमा सहभागी भइसकेका छन् । माओवादीसँग मन्त्रालयमा कुरा नमिल्दा उसको सत्तारोहण लम्बिएको थियो ।

प्रकाशित : श्रावण २, २०७८ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?