२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

खाडलमा डुबेर एक वर्षमा २२ बालबालिकाको मृत्यु

घरआँगनको पानी निकास तथा सडक निर्माणका क्रममा खनिएका खाडल नपुर्दा दुर्घटना बढ्दो
शिव पुरी

रौतहट — घरनजिक खेल्दै गरेको अवस्थामा खाडलमा जमेको पानीमा डुबेर साताअघि गरुडा नगरपालिका–८ जिगंडियाकी २ वर्षीया हसिना खातुनको ज्यान गयो । उक्त खाडल आँगनको पानी निकासका लागि खनिएको थियो । असार १६ मा गौर नगरपालिका–४ का बालक प्रमोद साहको पनि बाटोमा जमेको पानीमा डुबेर मृत्यु भयो ।

खाडलमा डुबेर एक वर्षमा २२ बालबालिकाको मृत्यु

गाउँघरमा विभिन्न प्रयोजनमा खनिएका खाडलमा बर्खा लागेसँगै जमेको पानीमा डुबेर मृत्यु हुने बालबालिकाको संख्या उच्च छ । रौतहट प्रहरीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्रै खाडल र सडकका नालामा डुबेर जिल्लामा २२ बालबालिकाको मृत्यु भएको छ । नदी तथा खोलाले बगाएर मृत्यु हुने तथा बेपत्ता हुनेको संख्या पनि उच्च छ । गत साउनयता लालबकैया र वाग्मती नदीले बगाएर मात्रै १७ जनाको मृत्यु भएको तथ्यांक छ ।

माधवनारायण नगरपालिका–८ पिपरा राजवडा टोलका ३ वर्षीय राजकुमार महतोको वाग्मतीको भेलले बगाउँदा मृत्यु भयो । बौधीमाई नगरपालिका–४ का ९ वर्षीय सुरज ठाकुर हजाम बाख्रा चराउन गएका बेला नजिकको लालबकैया नदीले बगाएर बेपत्ता भए । उनको खोजी जारी छ । उनीसँगै गएका साथीहरूले सुरजलाई नदीले बगाएको प्रहरीलाई खबर गरेका थिए ।

घरआँगनको पानी निकास तथा सडकलगायत विकासका काममा खनिएका खाडल त्यत्तिकै छोडिदिँदा तथा अभिभावकले आफ्ना सन्तानको ख्याल नगर्दा डुबेर र नदी, खोलाले बगाएर बालबालिकाले ज्यान गुमाउने क्रम बढेको छ । अघिल्लो वर्ष यसरी ज्यान गुमाउनेको संख्या २६ थियो । बर्सेनि यस्ता घटना भइरहे पनि यसबारे सरोकारवाला पक्ष गम्भीर देखिन्न । रौतहट प्रहरीले भने वर्षायाम लागेसँगै घर वरपर खनिएका खाडल पुर्न सर्वसाधारणलाई अनुरोध गर्दै आएको दाबी गरेको छ । विकास निर्माण प्रयोजनमा बनाइएका जोखिमयुक्त संरचनालाई खुला नछोड्न र बेलैमा व्यवस्थित गर्न पनि निर्माण कम्पनीहरूलाई सचेत गराउँदै आइएको रौतहट प्रहरी प्रवक्ता डीएसपी नारायण चिमरियाले बताए ।

‘वर्षात्का बेला नदी र खाडलमा डुबेर मृत्यु हुनेको संख्या बढ्दो छ,’ चिमरियाले भने, ‘यस्तो बेला सबै पक्ष सचेत हुनुपर्छ । आफू र आफ्ना बालबालिकालाई समेत जथाभावी बाहिर निस्कन दिनुभएन ।’ पौडी खेल्ने नाममा खाडलको गहिराइ थाहा नहुँदा धेरै बालबालिका डुब्ने गरेकाले यसमा सचेत हुन उनले आग्रह गरे । गत वर्ष असारमा बाख्रा चराउन गएकी देवाही नगरपालिकाकी ९ वर्षीया पिन्कीकुमारी साह र ८ वर्षीया निरुता कुमारी लालबकैया नदीको बाँध निर्माणको क्रममा बनाइएको खाडलमा पौडी खेल्न गएका बेला गहिराइ अनुमान गर्न नसक्दा डुबे । बाहिर निस्कन सकेनन् । अन्तमा ज्यान गयो । उक्त घटना हुनु एक साताअघि कटहरिया–२ का ५ वर्षीय सफन मोहम्मदको सडक बनाउन खनेको खाडलमा परेर मृत्यु भयो । जिल्लाभरि सडक विस्तारका नाममा खनिएका खाडल र लालबकैया, वाग्मती नदीका कारण पनि बालबालिका जोखिममा छन् ।

सडक विस्तारका नाममा जताततै खनिएका खाडलमा बर्खामा पानी जम्छ । सामान्य भनेर बालबालिकाहरू पौडी खेल्न जान्छन् । त्यसैमा डुबेर उनीहरूको ज्यान जाने गरेको हो । यस्तो समयमा अभिभावकले पनि आाफ्ना छोराछोरी कहाँ जान्छन् र के गर्दै छन् भनेर हेक्का राख्नुपर्नेमा स्थानीय प्रशासनले जोड दिएको छ । बर्खायाममा बालबालिका जोगाउनै मुस्किल भएको गुजरा नगरपालिका प्रमुख शेख दाबेदले बताए । ‘पानी जमेको स्थानमा बालबालिकाहरू खेल्न उत्साहित हुन्छन्,’ उनले भने, ‘पछि त्यहीँ डुबेर उनीहरूको मृत्यु हुन्छ ।’

प्रकाशित : श्रावण १, २०७८ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?