२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कोभिडका जस्तै बिरामीको चाप

परिवार र आसपासका व्यक्तिमा समेत विस्तार भएको पाइएकाले सावधानी अपनाउन चिकित्सकको सुझाव 
शंकर आचार्य

पर्सा — यहाँका अस्पताल र क्लिनिकमा पछिल्लो १० दिनयता कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको चाप बढेको छ । ज्वरो आउने, सुक्खा खोकी लाग्ने, टाउको र जीउ दुख्ने समस्या भएका बिरामी दिनहुँ ठूलो संख्यामा उपचारका लागि स्वास्थ्य केन्द्रहरूमा पुग्न थालेका छन् ।

कोभिडका जस्तै बिरामीको चाप

वीरगन्जस्थित नारायणी अस्पतालका आकस्मिक विभाग प्रमुख डा. उदयनाराण सिंहका अनुसार अस्पतालको आकस्मिक कक्ष तथा बहिरंग कक्षमा दिनमै २० देखि २५ जना यस्ता बिरामी उपचारका लागि आउने गरेका छन् । क्लिनिकहरूमा यो संख्या धेरै रहेको उनको भनाइ छ । ‘एक फिजिसियनको क्लिनिकमा दिनमै १० देखि १५ जना बिरामी उपचारका लागि आउँछन्,’ उनले भने, ‘यस हिसाबले यहाँका १० फिजिसियनको क्लिनिकमा दिनमै सयदेखि १ सय ५० जनासम्म बिरामी आइरहेको अनुमान गर्न सकिन्छ ।’

अधिकांश बिरामीमा उच्च ज्वरो आउने, नाकबाट पानी बग्ने, सुक्खा खोकी लाग्ने र खोक्दा छाती दुख्ने, टाउको र जीउ दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्नेजस्ता कोभिड–१९ सँग मिल्दा लक्षण पाइएको उनले बताए । ‘अहिलेका बिरामीमा कोभिड–१९ को लक्षणसँग मिल्दाजुल्दा धेरै लक्षण देखिएको छ,’ उनले भने, ‘त्यसैले सावधानी अपनाउनु अति नै आवश्यक छ ।’ उनका अनुसार यस्ता बिरामीमा रोग सुरु भएकै दिनदेखि अधिकांशको नाकबाट पातलो सिँगान बग्ने र सुक्खा खोकी लाग्ने गरेको छ । कोभिड–१९ मा प्रायः ५ देखि ७ दिनपछि मात्रै खोकी लाग्न सुरु हुन्छ । ज्वरो आउँदा शरीरको तापक्रम तुलनात्मक हिसाबले अन्य फ्लुमा भन्दा बढी देखिएको छ । ‘यसमध्ये थोरैलाई मात्र सास फेर्न अप्ठेरो भएको छ । अक्सिजन स्याचुरेसन पनि सामान्य नै देखिएको छ,’ उनले भने ।

औषधि सेवनसँगै औसतमा ३ देखि ५ दिनपछि सबैजसोमा लक्षणहरू हटेका छन् । जबकि कोभिड–१९ मा ५ देखि ७ दिनपछि मात्रै निमोनियाका लक्षणहरू देखिन्छ । गन्ध र स्वादमा पनि कुनै असर नदेखिएको उनको भनाइ छ । बिरामीले आफूलाई निकै कमजोर महसुस गरेको अनुभव सुनाएका उनले बताए । जेठ अन्तिमदेखि सुरु भएको वर्षा केही कम भएको तथा मौसम परिवर्तन भएसँगै यस्ता बिरामी बढेको उनको बुझाइ छ । यस्ता लक्षण कतिपय परिवारका सबै सदस्यमा समेत देखिएको उनले बताए ।

कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएकाले सजिलै छुट्याउन गाह्रो भइरहेको चिकित्सकहरूले बताए । ‘बिरामीलाई ५ दिनभन्दा बढी लक्षण निरन्तर देखिएमा वा जटिलता थपिएमा अनिवार्य पीसीआर परीक्षण गराउनुपर्छ,’ डा. सिंहले भने, ‘विशेषगरी फ्लु आफैं ठीक हुने भएकाले सामान्य पारासिटामोल, एन्टिएलर्जिकको सेवनले निको हुन्छ । पारासिटामोल चिकित्सकको सल्लाहअनुसार प्रयोग गर्न सकिन्छ । एकदमै कडा ज्वरो आएमा बिरामीको शरीरलाई नरम कपडा पानीमा भिजाएर पुछिदिने वा पानीपट्टी गर्नुपर्ने हुन्छ ।’

सर्वसाधारणले सावधानीस्वरूप झोल पदार्थको प्रशस्त सेवन गर्ने, पोषिलो खानेकुरा खाने, मनतातो पानीमा कागती, मह मिसाएर पिउने, प्रशस्त मात्रामा फलफूल खानुपर्ने उनले सुझाए । तीव्र गतिमा फैलिने गरेको पाइएकाले परिवारभित्रै पनि भौतिक दूरी कायम गर्ने, मास्क लगाउन छोड्न नहुने, बिरामीले प्रयोग गरेका कपडा अरूले प्रयोग नगर्ने, समयमै चिकित्सकको सल्लाह लिने र अनावश्यक रूपमा पेन किलर र एन्टिबायोटिक औषधि सेवन गर्न नहुने पनि उनले सुझाव दिए । यस्ता बिरामी धेरै संख्यामा थपिइरहेकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा अन्य सरोकारवाला निकायले अध्ययन गर्न आवश्यक देखिएको चिकित्सकहरूको भनाइ छ ।

प्रकाशित : श्रावण १, २०७८ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?