कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

मन्त्रीको निर्वाचन क्षेत्रमै धेरै योजना

सन्तोष सिंह

धनुषा — प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादवले मन्त्रालयको अधिकांश बजेट आफ्नै निर्वाचन क्षेत्रका लागि मात्रै छुट्याएका छन् । धनुषाको निर्वाचन क्षेत्र ३ (क) बाट प्रदेशसभामा निर्वाचित यादवले आर्थिक वर्ष २०७८/७९ मा मन्त्रालयअन्तर्गतको दुई तिहाइ बजेट आफ्नै निर्वाचन क्षेत्रलाई छुट्याएका हुन् ।

मन्त्रीको निर्वाचन क्षेत्रमै धेरै योजना

मन्त्री यादवले निर्वाचन क्षेत्रको मुखियापट्टी मुसरनिया गाउँपालिका र नगराइन नगरपालिकामा मात्रै २८ वटा योजनामा १ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी विनियोजन गरेका छन्, जसको एमाले र माओवादी केन्द्रले प्रदेशसभामै विरोध जनाएका थिए । मन्त्री यादवले प्रादेशिक सडक र पुल निर्माण तथा मर्मत शीर्षकमा २२ करोडभन्दा बढी बजेट अबन्डा शीर्षकमै राखेका छन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रका २ पालिकामा सडक ग्राभेल, पीसीसी ढलान, नाला, पुल, भ्यु टावर र सामुदायिक भवन निर्माणमा १ अर्ब ५२ करोडभन्दा बढी बजेट विनियोजन गरेका छन् । यसबारे रातो किताबबाट सार्वजनिक भएपछि कांग्रेसका प्रदेश सांसदहरूले असन्तुष्टि जनाएका छन् । अहिले प्रदेश २ मा जसपा (उपेन्द्र यादव समूह) र कांग्रेसको संयुक्त सरकार छ ।

काग्रेस संसदीय दलका नेतासमेत रहेका मन्त्री यादवले मुसरनिया र नगराइनमा ३ वटा सडक ग्राभेल गर्न ९५ लाखका दरले रकम छुट्याएका छन् । यही क्षेत्रमै २ वटा पीसीसी ढलान गरिने योजना छन् । समग्रमा १० वटा सडक ग्राभेल योजना, ७ वटा सडक ढलान, ५ सामुदायिक भवन निर्माण, भ्यु टावर, ३ वटा पुल निर्माण र नाला निर्माणलगायत योजनालाई मन्त्रालयको बजेटले समेटिएको छ । जनकपुरस्थित मैथिली विकास कोषको भवन बनाउन पनि उनले रकम छुट्याएका छन् ।

बजेटमाथिको छलफलमा सहभागी एमाले सांसद मञ्जु यादवले प्रदेशसभा सञ्चालन नियमावलीविपरीत मन्त्री यादवले समेटेका टुक्रे योजना रातो किताबबाट हटाउनुपर्ने माग गरिन् । जसपा सांसद रिना यादवले मन्त्री यादवलाई इंगित गर्दै मन्त्री पद छोडर नगर प्रमुखको पद सम्हाल्ने सुझाव दिइन् ।

प्रकाशित : श्रावण १, २०७८ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?