राजमार्गका पुलमा ‘खाल्टैखाल्टा’- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजमार्गका पुलमा ‘खाल्टैखाल्टा’

बर्सेनि कालोपत्र गरेर खाडल पुरे पनि वर्षाको समयमा उस्तै
शिव पुरी

रौतहट — पूर्वपश्चिम राजमार्गका पुलमाथि खाल्टैखाल्टा देखिन थालेपछि सवारी आवागमनमा समस्या भएको छ । बाराको पथलैया र रौतहटको वाग्मती खण्डका पुलमाथि खाल्टैखाल्टा परेका हुन् । सडक डिभिजनले बर्सेनि कालोपत्र गरेर खाडल पुरे पनि वर्षाको समयमा उस्तै हुने गरेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित वाग्मती पुलमा बनेको खाडल । तस्बिर : शिव/कान्तिपुर


अहिले भएका पुलहरू झन्डै ५५ वर्ष पुराना हुन् । त्यस बेला सवारी चाप कम थियो । अहिले दैनिक ४/५ सय को संख्या सवारी ओहोरदोहोर गर्छन् । पुलमा खाल्टो भएपछि आवागमनमा समस्या देखिन थालेको छ । सवारीको चाप बढे पनि पुलको अवस्था भने उस्तै छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरअन्तर्गत रौतहटको धन्सारदेखि सर्लाहीको बाँकेसम्म साना–ठूला गरेर ३३ वटा पुलहरू छन् । साना ११ वटा कल्भर्ट छन् ।

ती सबैमा खाल्टा परेका छन् । पुलको चौडाइ साढे ५ देखि ६ मिटरसम्म छन् । पुलको खाल्टो पुर्न लागिएको सडक डिभिजनका कामु प्रमुख नरेश केशरीले बताए । ‘ट्राफिक चापअनुसार पुलको आयु सकिएकै भन्न सकिन्छ,’ उनले भने, ‘पुल अहिले नै भत्किहाल्छ भन्ने छैन । तर सवारी र ट्राफिकको हिसाबले हेर्ने हो भने पुलको आयु सकिएको छ ।’

उनका अनुसार आगामी आर्थिक वर्षबाट राजमार्गको पुल र सडक मर्मतको जिम्मा विश्व बैंकले लिइसकेको छ । विश्व बैंकले ७० प्रतिशत र सडक विभागले ३० प्रतिशत खर्च गर्ने सहमति भएको छ । आगामी आर्थिक वर्षमा पथलैयादेखि कमला नदीसम्म ४ लेनको सडकको ठेक्का लाग्ने र नयाँ पुल निर्माण हुने केशरीले जनाए । सडक डिभिजनका अनुसार राजमार्गका अधिकांश पुराना पुलहरू कम्पोजिट फर्म्याटमा निर्माण गरिएका छन् । जुन पुलमा तल मेटल फ्रेम र माथि कंक्रिटको संरचना राखेर बनाइएको छ । पहिलाको सवारी चापलाई मध्यनजर गरेर बनाइएको पुलले अहिलेको सवारी चापलाई धान्न सक्ने अवस्था छैन ।

पुलको खाडलले कुनै पनि बेला साना–ठूला सवारी पल्टिने खतरा बढेको ट्राफिक प्रहरीको भनाइ छ । राजमार्गका अधिकाश पुल साँघुरो र त्यही माथि खाडल भएको कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर माझीले बताए । ‘साँघुरा पुलमा दोहोरो गाडी चल्न सक्ने अवस्था छैन । एउटा सवारी पास नभएसम्म अर्को जबर्जस्ती पुलमा हुइँक्याउँछन्,‘उनले भने, ‘कुनै बेला गाडी बीचमा पास हुन नसकेर घण्टौं जाम हुन्छ । राष्ट्रिय राजमार्ग लामो समयसम्म अवरोध हुनु हुँदैन ।’ ट्राफिकका अनुसार दैनिक ४/५ सयभन्दा बढी सवारी ओहोरदोहोर गरिरहने राजमार्ग र पुलको अवस्था नाजुक छ । एउटा लोड ट्रकको सरदर तौल ३२ टनसम्म हुन्छ । पपुल यति भार क्षमता धान्न नसक्ने अवस्थामा रहेको ट्राफिकको बुझाइ छ ।

यस्तै, वाग्मती नदीमा पुलको पिलरको जग नै देखिन थालेको छ । पुलको तेस्रो स्पानको जग देखिन थालेको हो । यो पुल झन्डै ५० वर्ष पुरानो हो । पहिला वाग्मतीको सतह निकै माथि थियो । अहिले तल गएको छ । सतह तल हुँदै गएपछि पिलरको जग देखिन थालेको हो । यसले पिलरलाई कमजोर बनाउने सडकका प्राविधिकहरू बताउँछन् । ३६३ मिटर लामो पुलमा ११ वटा स्पान छन् । ती सबैको जग देखिने अवस्थामा पुगेको छ । यो पुल मर्मत गरी सञ्चालनमा ल्याइएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैया–ढल्केबर खण्डको ६९ वटा पुलहरू नयाँ बनाइने पुल महाशाखाले जनायो । यो खण्डका अधिकांश पुलहरू केही महिनाअघि मर्मत गरिएको छ । २०२६ सालमा तत्कालीन सोभियत संघको सहयोगमा राजमार्गका पुलहरू निर्माण गरिएको थियो ।

प्रकाशित : असार २९, २०७८ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्

प्राविधिक शिक्षाले गाउँमै रोजगारी

प्रताप विष्ट

हेटौंडा — एसएलसीमा अनुत्तीर्ण हुँदा मकवानपुरगढी गाउँपालिका–५ की मनमाया थिङमा पीडा मात्रै थिएन, अब के गर्ने भन्नेमा अन्योल पनि थियो । तर उक्त पीडालाई अहिले उनले बिर्सिसकेकी छन् । कारण जेटीएको पढाइ सकाएर उनी जागिर गर्दै छिन् ।

२०६९ मा हेटौंडा उपमहानगरपालिका–१६ हटिया चिसापानीस्थित जनप्रिय माविमा एसएलसी फेल भएकाले पनि जेटीए पढ्न पाउने सूचना रेडियोमा सुनेपछि उनी भर्ना भएकी थिइन् । १८ महिने जेटीएको पढाइ सकाएर उनी हाल गाउँमै एक गैरसरकारी संस्थामा कार्यरत छिन् । उनी गाउँका किसानलाई खेती गर्ने तरिका सिकाउँछिन् । आफैं पनि व्यावसायिक तरकारी खेतीमा जुटेकी छन् । जनप्रियमै जेटीए पढेका हेटौंडा–१ का दिलबहादुर रुम्बाले पनि रोजगारीका लागि सहर/बजार चहार्नुपरेन ।

एसएलसीमा फेल भएपछि आत्महत्याको प्रयास गरेका कैलाश गाउँपालिकाको डाँडाखर्कका नवीन गुरुङलाई अहिले त्यतिबेला किन त्यस्तो कदम चालेछु भन्ने लाग्छ । ‘एसएलसीमा फेल भए पनि १८ महिने जेटीए पढेपछि जागिर पाइएको छ,’ उनले भने, ‘सीपबिनाको पढाइ काम रहेनछ, बल्ल बुझेको छु ।’ अहिले उनी थाहा नगरपालिकाको वज्रबाराहीमा जागिर गर्छन् ।

लोपोन्मुख वनकरिया समुदायकी सन्तोषी वनकरियाले पनि जनप्रियबाटै जेटीए पास गरेर गाउँमै रोजगार छिन् । यो समुदायबाट जेटीए पास गर्ने उनी पहिलो छात्रा हुन् । यसैगरी, राक्सिराङ गाउँपालिका–६ का तीन जना चेपाङ छात्रा पनि एक गैरसरकारी संस्थाको सहयोगमा जेटीए अध्ययन गरिरहेका छन् । हेटौंडा बजारबाट करिब ७ किलोमिटर दूरीमा रहेको यो विद्यालयले सीटीईभीटीको स्वीकृतिमा २०६२ देखि कृषि तथा पशु जेटीएको कक्षा सञ्चालनमा ल्याएको हो ।

यसबीचमा विद्यालयले करिब चार हजार प्राविधिक उत्पादन गरिसकेको प्रधानाध्यापक नमराज अर्यालले बताए । ‘यीमध्ये सबैजसो प्राविधिकले सरकारी तथा गैरसरकारी संस्थामा सहज ढंगले रोजगारी पाएका छन्,’ उनले भने, ‘केहीले आफैंले तरकारी खेती र पशुपालन गरिरहेका छन् ।’ भेटेरनरी पढेका केही विद्यार्थीले बोयर जातको बाख्रापालन र कुखुरापालन गरी मनग्य आम्दानी गरिरहेका उनले बताए ।

सरकारले जनप्रिय माविलाई नमुना विद्यालय घोषणा गरेको छ । योसँगै करिब १२ करोड रुपैयाँ लगानीमा कक्षाकोठा, सभाहल, प्रयोगशाला, छात्रावासलगायत संरचना निर्माण भइसकेको छ । यहाँ अहिले जेटीए, भेटेरनरी, कषि तथा इलेक्ट्रिकलको डिप्लोमा तहको पढाइ भइरहेको छ । प्राविधिकतर्फ मात्रै ४ सय विद्यार्थी रहेको अर्यालले बताए । ‘जसमध्ये आधाजसो विद्यार्थी मकवानपुरका र बाँकी २५ जिल्लाका छन्,’ उनले भने । अर्यालका अनुसार कृषि र पशुपालन अध्ययन गर्ने विद्यार्थीलाई अभ्यास गराउन गाई पालिएको छ भने तरकारीलगायत बाली पनि लगाउने गरिएको छ । विद्यालय परिसरमा अहिले करेला, बन्दा, लौका र काउली खेती गरिएको छ ।

उत्पादित तरकारी बजारमा लगेर बिक्री गरिँदै आइएको छ । प्राविधिक विषयबाहेक यो विद्यालयमा कक्षा १–१० सम्म १ हजार ६ सय ४० विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित : असार २९, २०७८ १२:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×