कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

खोला दोहनले वन कटान

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखन्देही खोलामा अवैध उत्खननका कारण आएको बाढीले वन क्षेत्र कटान गरेको छ । एक साताअघि लखन्देही खोलामा आएको बाढीले लालबन्दी–१ नवलपुरस्थित नन्देश्वर सामुदायिक वनको झन्डै २.५ हेक्टर क्षेत्र कटान गरेको हो । वनमा लगाइएको झन्डै १० हजार बिरुवा बगाएर लगेको छ । 

खोला दोहनले वन कटान

सामुदायिक वनका अध्यक्ष उदयबहादुर कार्कीले खोलामा अवैध उत्खननको मार सामुदायिक वनले खेप्नुपरेको बताए । ‘वनको पश्चिममा रहेको हराभार क्षेत्र अहिले बगरमा परिणत भएको छ,’ उनले भने, ‘अवैध उत्खननले नै वनमा कटानको समस्या देखिएको हो ।’ खोला उत्खननको समयमा पटक–पटक जनप्रतिनिधिलाई जानकारी गराउँदासमेत बेवास्ता भएकै कारण वनले क्षति व्यहोर्नुपरेको कार्कीले बताए । असारमै बाढीले वन कटान गर्दै लगेकोमा साउन र भदौको बाढी झन् बस्ती पस्ने खतरा रहेको उनको भनाइ छ ।

खोला उत्खननमा स्थानीय तहको निगरानी हुन नसक्दा ठेकेदारको मनपरी बढेको थियो । सामान्यतया ५ फिटसम्मको खोला उत्खननका लागि स्थानीय तहबाट ठेक्का पाएको ठेकेदारले १० देखि १५ फिटसम्मको गहिरो खाडल खनेर नदीजन्य पदार्थ निकालेका थिए ।

ढुंगागिट्टी निकाल्नका लागि लखन्देही खोलाको ठेक्का सम्झौतामा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार हीरापुर डाब्कालीघाटबाट ६ सय मिटर लम्बाइ, ७५ मिटर चौडाइ र डेढ मिटर गहिराइ गरेर उत्खनन गर्न सकिने भनेर उल्लेख छ । तर, ठेकेदार कम्पनीले खनेको खाडल १० देखि १५ फिट गहिरो थियो । २० लाख पाँच हजार रुपैयाँमा ठेक्का पाएको गजुरमुखी निर्माण सेवाले उत्खननको ठेक्का पाएको थियो ।

स्थानीयले विरोध गरेपछि ठेकेदारले गहिरो खाडलको केही भाग पुरेका थिए । स्थानीय कृष्ण जर्घाका अनुसार खोलाले कटान गरेको क्षेत्रभन्दा तल्लो बस्ती जोखिममा छ । ‘नदीमा ठुल्ठूला खाडल बनाएर उत्खनन गरेकै कारण वन क्षेत्रमा कटान भएको छ, अब योभन्दा तल्लो बस्ती जोखिममा छ,’ उनले भने, ‘जनप्रतिनिधि, कर्मचारी ठेकेदारसँग मिल्दा नागरिकले दुःख व्यहोर्नुपर्ने अवस्था आएको छ ।’ उनले ठेक्का परिमाणभन्दा झन्डै चारगुणा बढी नदीजन्य पदार्थ निकालिएको दाबी गरे । नदीले कटान गरेको क्षेत्रमा अहिले पालिकाले एक्स्काभेटर लगाएर बालुवाले पुरिरहेको छ । तर बालुवा मात्र पुरेर समस्या समाधान नहुने स्थानीयको तर्क छ ।

लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले कटान भएको क्षेत्रमा तटबन्धको काम सुरु भएको जानकारी दिए । मनसुन सकिएपछि दीर्घकालीन तटबन्धका लागि पहल गरिने योजना रहेको उनले सुनाए । ‘सामुदायिक वन क्षेत्रको केही भाग खोलाले कटान गरेको छ, यसको नियन्त्रणका लागि तत्कालीन तटबन्धस्वरूप बालुवाले पुर्ने काम सुरु भएको छ,’ खड्काले भने, ‘दीर्घकालीन तटबन्धको योजना छ, तर खोला उत्खननले नै कटान भएको भन्न सक्ने अवस्था छैन ।’


प्रकाशित : असार २९, २०७८ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?