१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

अकासियो तरकारीको भाउ

शंकर आचार्य

पर्सा — वर्षासँगै उत्पादन घटेपछि वीरगन्जमा तरकारीको मूल्य अकासिएको छ । अधिकांश तरकारीको मूल्य दोब्बरदेखि चार गुणासम्म बढेको छ । मूल्य अचानक अकासिँदा उपभोक्ता मारमा परेका छन् ।

अकासियो तरकारीको भाउ

८० रुपैयाँबाट हाल काउलीको मूल्य प्रतिकिलो १ सय २० रुपैयाँ पुगेको छ । बन्दाकोभीको प्रतिकिलो २० बाट बढेर ६० रुपैयाँ पुगेको छ । मुला दोब्बरले बढेर ४० रुपैयाँ किलो पुगेको छ । यी तरकारी मकवानपुरको पालुङबाट यहाँ आउँछन् ।

स्थानीयस्तरबाट उत्पादन हुने तरकारीको मूल्य पनि चर्किएको छ । महिना दिनअघि प्रतिकिलो १० रुपैयाँ रहेको घिरौंला ८० पुगेको छ । झिम्नी प्रतिकिलो १५ रुपैयाँबाट ८० रुपैयाँ पुगेको छ । बोडी २५ रुपैयाँ प्रतिकिलोबाट १ सय रुपैयाँ पुगेको छ । झिम्नी र बोडी सर्लाहीको लालबन्दीबाट यहाँ आइपुग्छ । भिन्डी २० रुपैयाँबाट बढेर प्रतिकिलो ८० रुपैयाँ, करेला ३० रुपैयाँबाट बढेर प्रतिकिलो ८० रुपैयाँ पुगेको छ । हरियो खुर्सानीको मूल्य प्रतिकिलो ४० रुपैयाँबाट बढेर १ सय ६० पुगेको छ । यो भारत र लालबन्दीबाट आइरहेको छ ।

लौका २०/२५ रुपैयाँ गोटाबाट १ सय रुपैयाँ प्रतिकिलो पुगेको छ । काँक्रो प्रतिकिलो २०/२५ रुपैयाँबाट बढेर ८० रुपैयाँ पुगेको छ । यो पालुङबाट आइरहेको छ । परवल प्रतिकिलो ३० रुपैयाँबाट ८० रुपैयाँ पुगेको छ । यो भारतको कोलकाता र लालबन्दीबाट आइरहेको छ । गोलभेंडा प्रतिकिलो ४० रुपैयाँबाट १ सय रुपैयाँ पुगेको छ । भन्टाको मूल्य प्रतिकिलो ४० रुपैयाँबाट बढेर ८० रुपैयाँ पुगेको छ । यो भारतबाट आइरहेको छ । साग प्रतिकिलो १० देखि २० रुपैयाँबाट प्रतिकिलो ६० देखि ८० रुपैयाँ पुगेको छ । साग स्थानीयस्तरकै उत्पादन हुन्छ ।

तरकारी व्यवसायी विजय कोइरी एक महिनायता निरन्तर वर्षा भइरहेकाले त्यसले स्थानीयस्तरमा तरकारीको उत्पादन नै घटाएको बताउँछन् । ‘यस वर्ष वर्षा छिटो सुरु भयो,’ उनले भने, ‘निरन्तर पानी परिरहेकाले तरकारी बालीमा फूल र चिचिला नलाग्ने समस्या हुन्छ, कतिपय तरकारी बाली खेतमा पानी जमेर कुहिने र सुक्ने पनि गर्छन् ।’

स्थानीयस्तरमा तरकारीको उत्पादन अचानक घट्न गएपछि भारत, पालुङ र लालबन्दीको तरकारीमाथि पर्साको निर्भरता बढेको छ । यसले पनि तरकारी महँगिन्छ । यसैसाता तरकारीको मूल्य थप वृद्धि हुने सम्भावना रहेको उनले बताए ।

प्रकाशित : असार २७, २०७८ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?