सप्तरीमा 'अज्ञात रोग'ले एकको मृत्यु, २५ जनाभन्दा बढी बिरामी- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीमा 'अज्ञात रोग'ले एकको मृत्यु, २५ जनाभन्दा बढी बिरामी

अवधेशकुमार झा

राजविराज — सप्तरीमा 'अज्ञात रोग'ले एक जनाको मृत्यु भएको छ भने २५ जना भन्दा बढी बिरामी परेका छन् । जसमध्ये ६ जनाको अवस्था गम्भीर छ । टाउको दुख्ने, ज्वरो आउने र पखालाको लक्षण देखिएका महदेवा गाउँपालिका–२ चकलाकी ४० वर्षीया सीतादेवी रजकको मृत्यु भएको हो ।

बिहीबार साँझ साढे ७ बजे टाउको दुख्ने, ज्वरो आउने र पखाला लाग्ने समस्या भएपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएकी उनको राति साढे ९ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जितकुमार झाले जानकारी दिए । फुड प्वाइजनिङ भइ पखाला लागेको हुनसक्ने अनुमान गरिए पनि ज्वरोसमेत आएकाले के कारणले मृत्यु भएको हो भन्ने विषयमा परीक्षण भइरहेको डा. झाले बताए ।

सोही लक्षणबाट मृत्यु भएकी रजककै परिवारका तीन जनालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि धरान रिफर गरिएको छ ।

यस्तै, महदेवा गाउँपालिका–२ चकलाटोलसँगै जोडिएको तिलाठी कोईलाडी गाउँपालिका–८ तोपाको उत्तर टोलमा पनि यस्तै लक्षणका २१ जना बिरामी छन् । तिलाठी कोईलाडी –८ का विभिन्न परिवारका सदस्यहरुलाई टाउको दुख्ने, वान्ता हुने, ज्वरो आउने र पखाला लाग्ने समस्या बिहीबार साँझदेखि देखिएको स्थानीय सत्यनारायण यादवले बताए । तीमध्ये उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका ८ वर्षीय कृष्णकुमार मण्डल, ३० वर्षीया प्रयागीदेवी खंग र ६ वर्षीय पारसकुमार मण्डललाई थप उपचारका लागि धरान रिफर गरिएको अस्पतालले जनाएको छ ।

स्थानीय सत्यनारायण यादवका अनुसार अस्पताल नगएका बिरामीहरुको स्थानीय मेडिकल र घरमै स्लाइन पानी लगाइ उपचार भइरहेको छ ।


महदेवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ललित यादवका अनुसार शुक्रबार स्वास्थ्यकर्मीको टोली प्रभावित गाउँमा पुगेको छ । आफन्तको घरबाट आएको कोसेली खाएपछि बिरामी भए पनि मुख्य कारण यकिन हुन नसकेको यादवले बताए । तिलाठी कोइलाडीका स्वास्थ्य शाखा प्रमुख शैलेशकुमार मिश्रका अनुसार प्रारम्भिक जानकारी अनुसार छिमेकीको रोपाइँमा गएकामध्ये भुजा र केराउ खाएका केही बिरामी परेको खुलेको छ । स्वास्थ्यकर्मीको टोली पुगेर बिरामी थपिँदै जानुको कारण पत्ता लगाउन परीक्षण गरिरहेको मिश्रले जनाए ।

प्रकाशित : असार २५, २०७८ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्

डीपीआरबिनै शिलान्यास

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान ५ वर्षमा निर्माण गर्ने लक्ष्य
अवधेशकुमार झा

राजविराज — रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार राजविराजमा निर्माण हुने भएको छ । पूर्वाधार निर्माणका लागि डीपीआर नै नभएको योजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारबाट भर्चुअल विधिमार्फत शिलान्यास गरेका छन् । 

२०७५ पुस १६ को मन्त्रिपरिषद् बैठकले राजविराजमा रामराजाप्रसाद सिंहको स्मृतिमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । निर्णयको केही समयपछि प्रधानमन्त्री ओलीले प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रतिष्ठान निर्माणको प्रतिबद्धता दोहोर्‍याएका थिए । पूर्वाधार निर्माण सुरु नै नहुँदा प्रतिष्ठान बन्ने/नबन्ने अन्योल थियो ।

सरकारी निर्णयको केही दिनमै राजविराज नगरपालिकाले १० नम्बर वडाको विरौलमा प्रतिष्ठान निर्माणका लागि ६२ बिघा जग्गा दिने निर्णय गरेको थियो । आवश्यक निर्णयका लागि भूमिसुधार मन्त्रालयमा कागजात पठाए पनि लामो समयससम्म जग्गासम्बन्धी फाइल भूमिसुधार मन्त्रालयबाट मन्त्रिपरिषद् बैठकमा पुग्न सकेको थिएन । गत जेठ ३१ को मन्त्रिपरिषद् बैठकले नगरपालिकाको जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि लिजमा दिने निर्णय गरेसँगै निर्माणको शिलान्यास गरिएको हो । ११ अर्ब ९८ करोड रुपैयाँको लागतमा हुने निर्माणको काम ५ वर्षभित्र पूरा हुने प्रतिष्ठान पूर्वाधार विकास तयारी समितिका निर्देशक डा. रञ्जितकुमार झाले बताए ।

खाँडो नदीको किनारमा प्रतिष्ठान निर्माणस्थल रहेकाले नदीको व्यवस्थापनसँगै आवश्यक पूर्वाधार तयार पारेर मात्रै शिलान्यास हुनुपर्नेमा हतारमै शिलान्यास गरिएको छ । शिलान्यास गर्दैर् प्रधानमन्त्री ओलीले जग्गा प्राप्तिसँगै डिजाइन बनेको र बजेटको पनि व्यवस्था भएको दाबी गरे । तर आगामी आर्थिक वर्ष प्रतिष्ठानका लागि सरकारले साढे १० करोड बजेट मात्र छुट्याएको छ । प्रतिष्ठानको डीपीआरका लागि मात्र १५ करोड खर्च हुने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा प्रतिष्ठानको पूर्वाधार निर्माणका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको थियो । जग्गासम्बन्धी विषय नटुंगिँदा उक्त रकम खर्च हुन नसकी फ्रिज भएको थियो । फेरि चालु आर्थिक वर्षमा सरकारले प्रतिष्ठानका लागि ११ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

दोस्रो चौमासिकसम्म रकम माग गर्न नसकेपछि अर्थ मन्त्रालयले प्रतिष्ठानका लागि विनियोजित ११ करोड रुपैयाँबाट साढे ६ करोड रकमान्तरण गरी अन्य योजनामा लगायो । बाँकी रकम प्रतिष्ठानको सहयोगी अस्पतालका रूपमा रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको पूर्वाधार निर्माणमा खर्चिनेछ ।

‘स्थानीयस्तरबाट हुने सहयोगमा कुनै कसर बाँकी राख्ने छैनौं,’ राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले भने, ‘संघीय सरकारले पनि इमान्दारीपूर्वक बजेट विनियोजन गरेर तोकिएको समयमै प्रतिष्ठान निर्माणको काम सम्पन्न गराउनुपर्छ ।’ प्रधानमन्त्री ओलीले प्रतिष्ठानको काम तोकिएको समयमै गुणस्तरीय रूपमा हुने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : असार २३, २०७८ १२:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×