सामाजिक सुरक्षा कोषविरुद्ध बैंकर आन्दोलित- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामाजिक सुरक्षा कोषविरुद्ध बैंकर आन्दोलित

कान्तिपुर संवाददाता

पर्सा — सरकारले सामाजिक सुरक्षा कोषमा आफूहरूलाई जबर्जस्ती आबद्ध गराएर खाइपाई आएको सेवासुविधासमेत कटौती गर्न लागेको भन्दै वीरगन्जका बैंकर आन्दोलित भएका छन् । उनीहरूले सोमबार वीरगन्जको आदर्शनगरस्थित पुरानो बसपार्कमा नाराबाजी गर्दै विरोध प्रदर्शन गरे ।

विरोध कार्यक्रममा वीरगन्ज बैंकर ग्रुपका अध्यक्ष नितेश खड्कीले सामाजिक सुरक्षा कोष ऐन नियमावली तथा कार्यविधिमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीका कर्मचारी युनियनहरूले संयुक्त रूपमा पेस गरेका सुझावलाई सम्बोधन नगरिएकाले आफूहरू विरोधमा उत्रिएको बताए । उनले कोषमा आबद्ध हुन नसकिने ५ वटा कारण रहेको समेत बताए । योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको र हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धिहरूसमेत गुम्ने खतरा रहेकाले उक्त योजनामा आफूहरू कुनै पनि हालतमा संलग्न नहुने उनको भनाइ थियो ।

खड्कीले कोषमा आबद्ध भएपछि आफूहरूले आईएलएफ सन्धिमा भएको व्यवस्थाअनुसार सामूहिक सौदाबाजी गर्न नपाउने तथा यसअघि आफूहरूले खाइपाई आएको तलबसमेत कम हुने दाबी गरे । कोषमा आबद्ध भएपछि सरकारी र निजी क्षेत्रका बैंकबीच विभेद सिर्जना हुने भएकाले यसमा सरकारी स्वामित्वका तीन बैंकसमेत आबद्ध हुनुपर्ने उनले माग गरे ।

प्रकाशित : असार २२, २०७८ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्

सडकसँगै विकासको आशा

१ करोड १५ लाख रूपैयाँ लागतमा ट्य्राक निर्माण
शमशेरविक्रम जीसी

प्यूठान — भारतीय सेनाबाट अवकाशप्राप्त नौबहिनी गाउँपालिका–१ स्याउलीबाङका टंकबहादुर शेरचन घर बिदामा आउँदा उनकी श्रीमती बहानेसम्म लिन पुग्थिन् । ‘भारतबाट कृष्णनगर हुँदै बहानेसम्म गाडी चल्थ्यो,’ उनले भने, ‘घर जाँदाको खुसी बेग्लै थियो तर बहानेबाट हिंड्नुपर्थ्यो ।’

प्युठानको बहानेबाट खाद्यान्न बोकेर घरतर्फ जाँदै स्याउलीबांगका बासिन्दा । तस्बिर : शम्सेर जीसी । कान्तिपुर

गाउँमा कहिल्यै गाडी आउला भन्ने नलागेको उनले सुनाए । लामो समयको प्रयासपछि अहिले गाउँसम्म सडक पुगेपछि उनी खुसी देखिन्छन् । ‘भारतमा बस्दा नेपालको विकास सम्झन्थेँ,’ उनले भने, ‘गाउँसम्म सडक छैनन्, विकास पनि उस्तै ।’ अहिले त बहानेबाट उनको घरसम्मै गाडी गुड्ने सडक निर्माण भएको छ । गाउँमा आउने सडकले विकास पनि सँगसँगै ल्याउने आशा उनमा छ ।

स्याउलीबाङकै दलसरा सुनार पनि गाउँमा सडक पुगेपछि खुसी देखिन्छिन् । खाद्यान्न किनेर घर फर्किंदा ओडारमा बास बसेको सम्झँदै दलसराले अहिले अवस्था फेरिएको सुनाइन् । ‘पहिले खाद्यान्न लिन बाग्दुला जानुपर्थ्यो,’ उनले भनिन्, ‘बीच बाटोमै ओडारमा बास बसेर दुई तीन दिनमा घर फर्किन्थ्यो ।’ तर, अहिले घरसम्मै गाडी आउँदा मन फरुंग भएको उनले बताइन् । ‘बजारसम्म हिंडेर जानुपर्ने अवस्था अब अन्त्य भयो,’ उनले भनिन्, ‘अब त गाउँबाट फोन गरे गाडीले सामान घरसम्मै ल्याइदिन्छ रे ।’

जिल्लाकै सुन्दर गाउँ भनेर स्याउलीबाङलाई चिनिन्छ । सडक सञ्जालले जोडिएपछि स्याउलीबाङ घुम्न आउने पर्यटकको संख्या पनि अब बढ्ने आशा गरिएको छ । ‘सडकले छोएपछि अब यहाँ पर्यटकको नयाँ गन्तव्य बन्ने निश्चित छ,’ उनले भनिन्, ‘यहाँका घुम्ने धेरै ठाउँ ओझेलमा परेका छन् ।’ यहाँ रहेको प्यूठानकै सबैभन्दा अग्लो भाग कोठीभीर, बर्खे आलु पाइने खलेसाबाङ, तीनपोरेलगायतको प्रचारप्रसार हुनेछ । ‘बाटो खुलेपछि पर्यटक पनि बढ्नेछन्,’ उनले भनिन्, ‘हाम्रा लागि सडक कोसेढुंगाजस्तै हो ।’

नौबहिनी गाउँपालिका र संघीय सरकारको १ करोड १५ लाख रुपैयाँ लागतमा सडकको ट्र्याक खुलेको हो । लिघाको फाउने पोखरी, चौतारा हुँदै स्याउलीबाङको ठूलोगाउँसम्म गाडी गुड्न मिल्ने गरी सडक खुलेको नौबहिनी गाउँपालिका–१ का वडाध्यक्ष शेरबहादुर सेनले बताए । भौगोलिक विकटताका कारण सानो खर्चले गाउँको विकास सम्भव छैन । कडा चट्टानका कारण खर्च धेरै लाग्छ । ‘स्थानीयको पहिलो माग सडक नै थियो,’ उनले भने, ‘ठूलो खर्च लगाएर भए पनि ट्र्याक खोल्यौं ।’ बर्खा सकिएपछि गाउँमा नियमित गाडी चल्ने उनले बताए । गाउँपालिका केन्द्रदेखि २० किलोमिटरको दूरीमा भए पनि विकासमा पछाडि परेको उनले स्वीकारे । ‘सडकले गाउँको विकासमा नयाँ इँटा थपेको छ,’ उनले भने, ‘अब गाउँमा उत्पादित कृषि उपज सहजै बजारसम्म पुग्नेछन् ।’


पैदल हिँड्दा माथिबाट खस्छ कि तलबाट पहिरोले तान्छ भन्ने डर रहेको ठाउँसम्म सडक पुग्नु निकै उपलब्धिमूलक रहेको नौबहिनी गाउँपालिकाका अध्यक्ष शिवराज रिजालले बताए । ‘भूगोलले ठगेको ठाउँ पर्‍यो,’ उनले भने, ‘सानो बजेटले भेट्दैन्थ्यो ।’ स्याउलीबाङबाट गाउँपालिका केन्द्र बहानेसम्म आउँदा बासै बस्नुपर्ने समस्याको अब अन्त्य भएको उनले बताए । सडक पनि नपुगेको गाउँ भनेर यहाँबाट धेरैले बसाइँ सारेको स्थानीय लालबहादुर शेरचनले बताए । ‘विकास भनेकै सडक रहेछ,’ उनले भने, ‘सडक नभएपछि विकास खोज्दै सबै सहर पसे ।’ पहिले निकै बाक्लो गाउँ अहिले पातलिँदै गएको छ । गाउँबाट बसाइँ सर्नेहरू बहाने, बाग्दुला र केही जिल्लाबाहिरै पुगेका छन् । ‘सबै सामान तलबाटै भरिया लगाएर बोकाउनुपर्छ,’ शेरचनले भने, ‘भरिया लगाउँदा सामानको मूल्य दोब्बरले बढ्छ ।’ भरियाको ज्याला खर्चलगायत जोड्दा उपभोग्य सामानको मूल्य गाउँसम्म पुग्दा महँगो हुने गरेको उनले बताए । यस सडकलाई मध्यपहाडी लोकमार्गसम्म पुर्‍याउने योजना गाउँपालिकाले राखेको छ ।

मुख्य राजमार्गसँग जोड्ने गरी सडकको विस्तारमा लागेको र चाँडै बाग्लुङको ढोरपाटनसम्म सडक सञ्जाल विस्तार हुने गाउँपालिका अध्यक्ष रिजालले बताए । स्याउलीबाङबाट ढोरपाटन सडक जोडिए प्यूठान र बाग्लुङ जोड्न यो सडक सबैभन्दा छोटो हुनेछ । ‘प्यूठानतर्फको भूगोल जटिल भएकाले समस्या भएको हो,’ उनले भने, ‘केही वर्षमा बाटो मध्यपहाडी लोकमार्गसम्म पुर्‍याउँछौं ।’ प्यूठान र बाग्लुङ जोड्ने गरी निर्माण थालिएको यो सडकले कोठीभीरको पर्यटन विकासमा नयाँ इँटा थप्नेछ । प्यूठान–बाग्लुङ सडक जोडिए कोठीभीरसम्म प्यूठानका साथै रोल्पा, बाग्लुङलगाएतका पर्यटकलाई ल्याउन सहज हुने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष रिजालले बताए ।

प्रकाशित : असार २२, २०७८ ०९:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×